एमाले अध्यक्षलाई तीन शब्द काफी
(ब्लग)

चलचित्रको पर्दामा देखाइएको एउटा शासक जो आफूलाई साम्राज्यको सबैभन्दा बलियो र लोकप्रिय ठान्छ । आफूविरुद्ध आवाज उठाउनेलाई पटक्कै मन पराउँदैन । कसैले त्यस्तो आँट गर्यो भने गोली हान्ने धम्की दिन्छ । खोरमा थुनेर जिन्दगी सडाइदिने चेतावनी दिन्छ ।
चौबिसै घण्टा सुरक्षाकर्मीको घेरामा बसेर गफ दिन्छ, ‘प्रजा सुरक्षित छन्’ । तर उसको शाषण प्रजालाई मन परेको छैन । प्रजालाई त्यो शासकको हर्कत राम्ररी थाहा छ । आफ्नै छायाँसँग डराउने र आफ्नै सैनिकमाथि विश्वास नगर्ने शासकको बानीले युद्धहरु क्रमशः हार्नुपरेको छ । बेला–बेला आफ्नो आँखा, कान, हात, खुट्टा, मुटु, मृगौला, छाती छामेर लामो श्वास फेर्छ, र भन्छ– ‘अझै बेला छ’ । उता शाषकसँग आजित भइसकेका प्रजाले नयाँ युद्धको ऐलान गर्छन् । शाषक अत्तालिन्छ, र दरबारको कौशीबाट बाहिर हेर्दै सोच्छ, ‘कसरी सेफ ल्याण्डिङ गर्ने ?’
यत्तिकैमा झ्याप्प पर्दाको बिजुली जान्छ । शासकको बर्हिगमन हेर्न व्यग्र प्रतिक्षारत दर्शक खिस्रिक हुन्छन् । र, कानेखुशीमा यदाकदा सुनिन्छ– हाम्रो प्रधानमन्त्रीको नाम ।
पर्दामा देखाइएका शासक पक्कै कोही भेट्रान कलाकार होलान्, तर उसको प्रवृत्तिहरु किन ठ्याकै हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेको ? भन्ने प्रश्न तपाईंहरुको मनमा पनि उठिरहेको छ भने तपार्इं गलत हुनुहुन्न ।
उमेरले ७४ वर्ष पुग्न लाग्नुभएका ओलीलाई यो पंक्तिकार केवल तीन शब्दको प्रतिबिम्ब ठान्छ । नर्सिसिज्म (आफैंलाई मात्र सर्वश्व ठान्ने तथा आत्मरतीमा मुग्ध हुने), एगोसेन्ट्रिजम (अरुको दृष्टिकोणलाई स्वीकार्न नसक्ने तथा आफूलाई मात्र सही ठान्ने) र साइकोप्याथ (अरुलाई होच्याएर÷चिढ्याएर खुशी हुने तथा शक्ति प्रदर्शन गरेर इन्जोय गर्ने) ।
चौथो पटक सत्ताको बागडोर सम्हालिरहेका ओलीको नाम वा बदनाम जे–भए पनि गुमनाम हुन नचाहने मानसिकतालाई राजनीतिक रुपमा खराब मान्न सकिँदैन । तर सात महिनायताको कार्यकालसम्म आइपुग्दा विगतमा ‘आई लभ यु, केपी’बा’ भन्नेहरु एकाएक दुर्लभ बनेको दृश्यले उनको भविष्यलाई राम्रो संकेत नगरेको स्पष्ट बुझ्न सकिन्छ ।
गत असार १७ गते बिहान तत्कालीन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग ‘सँगै स्वर्ग÷नर्क जाने’ वाचा गरेका ओलीले सोही मध्यराति तत्कालीन प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सात बुँदे सहमति गरेर नर्सिसिज्मको पहिलो लक्षण देखाएका थिए । सत्ता गठबन्धनको मुख्य एजेण्डाबाट विचलित भएर पछिल्लो समय फेरि ‘०८७ सम्म संविधान संशोधन हुँदैन’ भन्ने अभिव्यक्ति दिनु सोही प्रवृतिको नयाँ छायाँ हो ।
छैटौँ पटक प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने भोकसहित बूढानीलकण्ठमा पर्खिरहेका सभापति देउवालाई बारम्बार ‘यति महिनापछि हस्तान्तरण गर्छु’ भनेर विश्वास दिलाइरहनुपर्ने परिस्थितिले ओलीको नियतमाथि नै अनेकौँ शंका पैदा गरेको कतिपयको विश्लेषण छ ।
अरु छाडौँ, निर्माण सम्पन्न भइनसकेको धरहराको बारम्बार उद्घाटन गरेर उपलब्धी देखाउन खोज्नु, ४० प्रतिशत मात्र काम सकिएको नयाँ सुरुङमार्गको हतारमा ‘ब्रेक थ्रु’ गरेर प्रगति देखाउने प्रयास गर्नु र ‘ब्रेक थ्रु’ भइसकेको पुरानो सुरुङमार्गलाई सञ्चालनमा ल्याउन रत्तिभर चासो नदिनु, अघिल्लो सरकारमा सम्झौता भएका चिनियाँ परियोजनाको जस आफैमाथि थुपार्नुले प्रधानमन्त्री ओलीको नर्सिसिज्म चरित्रलाई थप उदांगो बनाएको छ । त्यसैमाथि पछिल्लो समय युवापुस्तामा देखिएको नैराश्यता र आक्रोशको प्रतिवादमा ओलीप्रवृति बढी ‘एक्सपोज’ भइरहेको देखिन्छ ।
पुस अन्तिम साता बसेको पार्टीको सचिवालय बैठकपछि भएको एउटा अनौपचारिक कुराकानीले प्रधानमन्त्री ओलीको प्राथमिकता के मा छ ? त्यो स्पष्ट हुन्छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बेला–बेला काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले फेसबुकमा प्राप्त गर्ने लाइक, कमेन्ट तथा शेयरको चर्चा गर्दै आएका छन् ।
त्यहि श्रृंखलालाई निरन्तरता दिँदै उनले त्यसदिनको बैठकपछि पनि पार्टीका केहि नेताहरुसँग ‘हाम्रो पार्टी सदस्यहरु १२÷१३ लाख जति छन् जस्तो लाग्या थियो, उनीहरुले फेसबुक चलाउँदैनन् क्या हो ? मेरोमा लाइक र कमेन्ट नै आउँदैन त !’ भन्दै विरह पोखेका थिए । छेवैमा उभिएका अर्का नेताले ‘मेरो झन् हजार लाइक कट्न नि धौ धौँ छ !’ भनेपछि एकछिन हाँसो गुञ्जिएको स्रोत बताउँछ । यो प्रसंगले प्रधानमन्त्री ओलीको ‘आफै धाप मार्ने’ मनोविज्ञान छर्लङ्ग हुन्छ । यी सबै ओलीको नर्सिसिज्म विशेषता नभएर अरु के हुन् त ?
कम्युनिष्ट पार्टीको सौन्दर्य भनेको फरक विचार, नयाँ विर्मश र वैज्ञानिक तर्कलाई स्थान दिनु पनि हो । फरक अभिमतको सम्मिश्रणबाटै कम्युनिष्ट पार्टीको दिशा तय हुने वाम विश्लेषकहरु बताउँछन् । तर भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङसँग पार्टी कार्यालयको लागि झण्डै डेढ अर्ब बराबरको सम्पत्ति दान लिने निर्णयविरुद्ध फरक मत राखेकै भरमा पार्टीलाई पाँच दशकदेखि योगदान दिएका भीम रावलहरुलाई निस्कासित गर्नु प्रधानमन्त्री ओलीको एगोसेन्ट्रिजम चरित्र शिवाय अरु केही होइन । आलोचना सुन्नुपर्छ भनेर संसद नै ‘बङ्क’ गरी कथित सेलिब्रेटीहरुलाई बालुवाटार बोलाएर कफी गफमा व्यस्त हुनुले उनको धैर्यता र सहनशीलताको न्यून सतह मज्जाले पुष्टी भएको छ । त्यति मात्रै होइन, ‘प्रतिनिधिसभाको कार्यसूचीबारे जानकारी नभएको’ भन्ने निम्नमाध्यामिक तहको तर्कले उनको बौद्धिक दरिद्रतालाई प्रस्तुत गरेको छ ।
गृह जिल्ला (झापा)मा आफै भारत भ्रमणको ढोङ फुकेर अहिले सोही प्रश्नबाट अत्तालिने अवस्था आइपुग्नुले प्रधानमन्त्री ओलीको राजनीतिक राजमार्गमा पहिरो जान लागेको होइन ? सन्देह पैदा भएको छ । आइतबारको प्रतिनिधिसभामा आम आद्मी पार्टीका अध्यक्ष प्रभु साहले सोधेका सामान्य प्रश्नबाट तर्किएर उनले सह्य क्षमताको लज्जास्पद प्रस्फुटन गरे । यी सबै एगोसेन्ट्रिजम संकेत नभएर के हुन् त ?
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि अनेकौ कमजोरी र त्रुटी छन् । तर हार र आलोचनालाई स्वीकार गर्ने तथा विगतलाई सम्मान गर्ने उनको विशेषताले जनयुद्धको सौन्दर्य बढाएको कतिपय बुझाई छ । त्यसैले होला उनी दोहोर्याइरहन्छन्, ‘बालेन, हर्कहरु संघीय लोकतान्त्रिक गणतन्त्रको बगैँचामा फूलेका सुन्दर फूल हुन्’ । तर प्रधानमन्त्री ओली यो मामला पनि असफल सावित भएका छन् ।
बालेनको अनुहार अंकित टिर्सट लगाएकै भरमा युवाहरुलाई नियन्त्रणमा लिने, टुँडिखेल र दरबारमार्गमा आफूविरुद्ध नाराबाजी गर्नेहरुलाई पक्राउ गर्ने, बक्यौता रकम नतिर्ने उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा बालुवाटार बोलाएर पक्षपोषण गर्ने, आफ्नै सहयोद्धा वामदेव गौतमहरुलाई ‘घर न घाट’को बनाउने र ‘सुखी नेपाली, समृद्ध नेपाल’को रेडिमेड उच्चारण गर्ने प्रयासले ओलीको साइकोप्याथ मानसिकतालाई दर्शाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा मुलुकका पाँच धाम घुमाएर आनन्द लिएका प्रधानमन्त्री ओलीको कतिपय गतिविधिले ‘राजनीतिक प्रतिशोध साँधेको’ आरोपलाई बल पुर्याएको देखिन्छ । यहाँ पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध मुद्दा लगाउनु हुँदैन भन्ने आशय पक्कै होइन, उनलाई समिति भूगोलमा राखेर सम्बन्धित जिल्लाहरुमा अभियोजन दर्ता गरेर अनुसन्धान गर्न सकिन्थ्यो । तर कुनै बेला आफैं लामिछानेको विस्तृत परिचय नजानेरै नेपाल टेलिभिजनमा जागिर लगाइदिएका र दुई पटक गृहमन्त्री बनाउन उल्लेख्य भूमिका खेलेका ओलीले अहिले किन साइकोप्याथ रवैया देखाइरहेका होलान् ? यो मनासिब प्रश्न हो । यसो भनिरहँदा रास्वपा कार्यकर्ताले मच्चाएका कतिपय अराजकतालाई सामान्यीकरण गर्न भने सकिँदैन ।
२००७ सालको जनआन्दोलन, २०४६ सालको आन्दोलन, २०५२ को जनयुद्ध, ०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको जगमा हाज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको राज्य व्यवस्थामा आइपुगेका छौँ । तर शुरुमै उल्लेख गरिएजस्तो ‘सेफ ल्याण्डिङ खोजिरहेको शासक’को सत्तारोहणलाई हामीले कुन व्यवस्थासम्म स्वीकार गर्न अभिशप्त हुनुपर्ला ? उसको बर्हिगमन साँच्चै कस्तो होला ? यी दृश्य पर्दामा मात्रै होइन, वास्तविकतामा पनि हेर्न रोचक र ऐतिहासिक हुनेछ ।
टिप्पणीहरू