भारत यात्राबारे सोद्धा सोविता मान्यज्यू भागमभाग

न पार्टीको, न सरकार र संसद्को, न त एनजिओकै– कहीँ कतै प्रयोजन नखुल्ने काममा देशकी प्रखर विधायक कसरी संलग्न भइन् होला ! अनि एक वर्षको अवधिमा कतार, जर्मनी, फ्रान्स र अमेरिका जाँदा प्रयोग गरिएको १०५११६५१ नम्बरको साधारण राहदानी घरै छाडेर नागरिकता मात्रै देखाए पुग्ने जम्मा २ दिने भारत यात्राका निम्ति डिए ००००८९१ नम्बरको कूटनीतिक पासपोर्ट किन बोक्नुपरेको होला ? सभामुख, मन्त्री र प्रधानमन्त्री अनि न्यायाधीश, आइजिपी र जनतासँग विविध सवालमा तात्तातै जवाफ माग्नेले माघ ३ देखि ५ गतेसम्मको आकस्मिक र अपारदर्शी दिल्ली दौडाहाबारे जनआस्थाले पटक–पटक राखेको जिज्ञाशाको जवाफ दिन नमिल्ने कस्तो बाधा आइपरेको होला ?
पासपोर्ट कूटनीतिक, काम गोप्य ! अचेल यस्तो पासपोर्टको खुबै दुरूपयोग भइरहेको छ । रातो राहदानी बोकेर खुसुखुसु विदेश उड्ने खेतीपाती मज्जैसँग मौलाएको छ । कानुन निर्माणकर्ताहरूले नै कानुनविपरीत प्रयोग गरिरहेको प्रमाण भेटिएको छ । राहदानी नियमावली, २०७७ ले भिआइपीहरूलाई कूटनीतिक पासपोर्ट दिने व्यवस्था गरेको छ । यसलाई सरकारी प्रयोजनका विदेश भ्रमणमा मात्र प्रयोग गर्न पाइन्छ । तर, माननीयहरूले व्यक्तिगत र अदृश्य मिसनमा विदेश जाँदासमेत कूटनीतिक पासपोर्ट नै प्रयोग गरिरहेको र पुराना पार्टी थितिमा नबसेको भन्दै जन्मिएको जान्नेलाई छान्ने नयाँ पार्टीकी नेत्रीले गरेको राहदानी अपचलनको दृष्टान्त हो यो ।
पार्टीको संसदीय फाँटका जिम्मेवार र पदाधिकारी (मिल्ने साथी एवं पिए)लाई समेत जानकारी नगराईकन नयाँदिल्ली पुगेकी सांसद सोविता गौतमले भ्रमण सकेर स्वदेश फर्कनुअघि नेपाली दूतावासका पदाधिकारीदेखि अरु धेरैलाई भेटेकी छन् । माघ ३ गते बिहानै भारत प्रस्थान गरेकी गौतम ५ गते दिउँसो फर्किएकी थिइन् । गज्जबको कुरा त के भने, उनको उक्त यात्राबारे पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई समेत खबर छैन । यता, सभामुख देवराज घिमिरेलाई पनि उनले भारत जान लागेकोबारे जानकारी नगराएको बुझिएको छ । स्रोत भन्छ, ‘उपचारका लागि गएको भए साधारण पासपोर्ट प्रयोग गर्थिन् । महाकुम्भ मेलामा पनि गएकी हैनन् ।’
कूटनीतिक राहदानी निजी काममा प्रयोग गर्नुलाई दुरूपयोग मानिन्छ । सांसदहरूले आफूखुशी यस्तो राहदानी प्रयोग गर्न पाउँदैनन् । अर्कोतर्फ, सांसदहरू विदेश भ्रमणमा जाँदा अनिवार्य संसद सचिवालयलाई जानकारी गराउनुपर्छ । विदेश जानुको कारण खुलाउनुपर्ने हुन्छ । यता, पार्टीलाई पनि खबर हुनुुपर्छ । तर, सांसदहरू पदको ख्यालै नगरी खुरुखुरु कूटनीतिक राहदानी प्रयोग गरेर विदेश पुगिरहेकै छन् । जसकारण नेपाली कूटनीतिक राहदानीको स्तर खस्किँदै गएको छ ।
कूटनीतिक राहदानी बोक्नेले देशको प्रतिनिधित्व गरेको हुन्छ । सो राहदानी प्रयोग गर्दा पदीय मर्यादाको ख्याल गर्नुपर्छ । तर, कानुन विषयमै विज्ञता हासिल गरेकी ती माननीयबाट भएको यस हर्कतलाई सरोकारवालाले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ । यसअघि प्रधानमन्त्री हुँदा ‘र’का प्रमुखलाई बालुवाटारमै बोलाएर भेटेका प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को विरोध भएको थियो । उनीमाथि कूटनीतिक मर्यादाको उल्लंघन गरेकोसँगै राष्ट्रिय सार्वभौमसत्ता र हितलाई कमजोर पारेको आरोप लागेको थियो । गौतमले पनि कूटनीतिक राहदानी दुरूपयोग गरेको र ३–४ दिनसम्म मिडियाले अनेकौँ माध्यमबाट जानकारी माग्दा तर्किएर हिँडेको अवस्था छ ।
नबिराउनु, नडराउनु भन्छन् । यस मामिलामा सांसद सोविता नाजवाफ हुनुले राम्रो संकेत गरेको छैन । सुशासन, थितिनीति, कानुनको विषयमा प्रवचन दिइरहने पार्टीकै सांसदबाट भएको यस्तो हर्कतलाई रास्वपाले कसरी प्रष्ट्याउँछ ? हेर्न बाँकी छ ।
भारतीय दूतावासमा देखापरिरहने एक पात्रसँगै बाराखम्बा रोडमा देखापरेकी गौतमले फेसबुकमार्फत राजदूत शंकरप्रसाद शर्मासँग खिचिएको तस्बिर सेयर गर्दै नेपाल र भारतबीचको सम्बन्ध, कूटनीतिक साझेदारी, भारतको उदाउँदो अर्थतन्त्रबाट लिन सकिने लाभबारे छलफल भएको बताएकी छन् । त्यसयता मिडियाको सम्पर्कमा छैनन् । उनीसँग अचानक भारत जानुको कारणबारे सोध्न पटक–पटक फोन गर्दा पनि सम्पर्क हुन सकेन । उनको नम्बरमा म्यासेज पठाइए पनि त्यसको जवाफ आएको छैन ।
यता, प्रमुख सचेतक परियारले भने उनी भारत गएकोबारे जानकारी नभएको बताए । शुरुमा गौतम भारत नै नगएको दाबी गरेका परियारलाई ट्राभल हिस्ट्रीबारे बताएपछि उनी अकमक्क परेका थिए । ‘सचिवालयलाई जानकारी गराएको भए मलाई थाहा भइहाल्थ्यो । निशा डाँगीजीलाई पनि थाहा भएजस्तो लाग्दैन । तैपनि, म एकपटक सोधेर तपाईंलाई आधी घण्टामा जानकारी गराउँछु’, उनले भने । त्यसपछि पनि पटक–पटक फोन गर्दा न गौतमले रिसिभ गरिन् न परियारले नै ४८ घण्टासम्म जानकारी गराए । सोविताकी परमप्रिय साथी सांसद विनिता कठायतले ‘म कुम्भ मेला गए पनि उहाँ भारत जानुभएको छैन भनिन् भने स्वकीय सचिव प्रकृति न्यौपानेले गएको भए मलाई थाहा हुनुपर्ने भनेर तर्किइन् ।
टिप्पणीहरू