सबै सुरक्षा मुख्यालयमा ग्रहशान्ति

सबै सुरक्षा मुख्यालयमा ग्रहशान्ति

नेपालको सुरक्षा निकायका मुख्यालयमा अचेल एउटा लहर नै चलेको छ, त्यो हो ग्रहदशा शान्त पार्न गरिने होम यज्ञ । केहीअघि जंगी अड्डामा गरिएको ग्रह शान्ति यज्ञ गत शनिबार सशस्त्र प्रहरी बलको हेर्डक्वार्टर हल्चोकमा पनि सम्पन्न भएको छ । प्रहरी तथा सेनाका उच्च अधिकारीहरूको कार्यालय र घरमै पनि गएर ग्रहशान्ति गर्ने व्यक्ति हुन्, अर्जुन भुसाल । पानी मात्रै खाएर जीवनयापन गरिरहेको दाबी गर्ने उनी यसरी यज्ञ गरिएको ठाउँमा विभिन्न प्रकारका बिरुवासमेत लगेर रोप्ने गर्छन् । 

समाचार स्रोतका अनुसार, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले समेत उनको हातबाट सर्वोच्च अदालत र आफ्नो क्वार्टरमा पूजा लगाउने तयारी गरिरहेकी छन् । पूजाका सबै सामग्री र बिरुवासमेत आफैँ लिएर आउने हुँदा भुसालबाट यज्ञ गराउन उच्चपदस्थहरूलाई थप सजिलो परेको बताइन्छ । कसको खर्चमा पूजाआजा गरियो भन्ने जनआस्थाको प्रश्नमा एक उच्च सैनिक अधिकारीले भने, ‘सबै सामग्री उनै गुरुले ल्याउँदा रहेछन् ।’

यस प्रकारको पूजा गराउँदा सकारात्मक ऊर्जा सञ्चार हुने, शान्ति र सद्भाव विकास हुने, आर्थिक शान्तिका साथै अन्य प्रकारका सम्बन्ध विस्तार हुने ती गुरुको दाबी रहेको बताइन्छ । तिनै गुरुले उच्चपदस्थ व्यक्तित्व र न्यायाधीशहरूलाई पूजाको प्रस्ताव राख्दै हिँड्ने गरेका छन् । कतिपय भने यसप्रकारको पूजा निःशुल्क गरिदिएर ती गुरु आफ्नो बजारीकरणमा लागेको बताउँछन् । आफूले नौ ग्रह २७ नक्षत्र सबैको पूजा गरेर अनिष्ट हुनबाट जोगाउने र तिनीहरूको फलबाट सकारात्मक परिणाम मात्र आउने उनले बताएको बुझिएको छ । 

यसैबीच, सशस्त्र प्रहरी बलको मुख्यालयमा पाँचतले सुविधासम्पन्न भवन बन्न लागिरहेको छ । सो भवनमा प्रहरी प्रमुखदेखि एआइजीहरूसमेतको कार्यालय रहनेछ । हाल सशस्त्र हेर्डक्वार्टर वरपर आवासीय क्षेत्र रहेको र अन्य अग्ला भवन सुरक्षाका दृष्टिले असुरक्षित रहेको मानिँदै आएको छ । यदि, त्यहाँ अग्लो भवन बन्ने हो भने बाह्य आक्रमणको खतराबाट मुक्त हुनेसमेत उच्च पदस्थहरूको दावी छ । भदौमा शिलान्यास गरिएको यो भवनका लागि ५० करोड रकम विनियोजन गरिएको छ ।

अहिले यो बहुवर्षीय परियोजनाको ठेक्का भने निर्माण कम्पनीले १३ करोड कम अर्थात् ३७ करोड रूपैयाँमा सकारेको छ । त्यसैगरी गृह मन्त्रालयले शेरबहादुर देउवाका पिए भानुका बहिनीज्वाइँलाई तलैदेखि टप्दै माथि लग्ने उद्देश्यसहित डिआइजी पदका लागि छोटो अवधिको तीन दिने सूचना सार्वजनिक गरेको छ । पहिलेदेखि नै राजनीतिक नेतृत्वले उकास्ने प्रयास गरिरहेका दिपेन्द्र कुँवरलाई डिआइजी पदमा बढुवा गरेरै छाड्ने योजनाअन्तर्गत यस्तो सूचना जारी भएको हो । तर, जसो गरे पनि उनी फौजको प्रमुख भने बन्न गाह्रो छ । अघिल्लो पटककै प्रयासमा उकाल्न सकिएको भए चाहिँ निर्विवाद उम्मेदवार बन्ने सम्भावना रहन्थ्यो । 
 

टिप्पणीहरू