बचाउने ठाउँमा बिगार्ने धन्दा, रेडक्रसमा व्यापक फण्डा

बचाउने ठाउँमा बिगार्ने धन्दा, रेडक्रसमा व्यापक फण्डा
सुन्नुहोस्

विशुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको नेपाल रेडक्रस सोसाइटी चरम राजनीतिक हस्तक्षेपका कारण धराशायी बन्ने अवस्थामा पुगेको छ । १२ लाख सदस्य भएको मुलुककै ठूलो संस्थालाई केही व्यक्तिले तहसनहस बनाएका छन् । स्विट्जरल्याण्डको जेनेभामा रहेको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले संस्थालाई प्रतिबन्ध लगाउने चेतावनीसहितको डरलाग्दो र कडा पत्र पठाएको खुलेको छ ।

नातावाद, कृपावादको चंगुलमा फसेको र राजनीतिक पार्टीहरुको भर्ती केन्द्र बनेको रेडक्रसका पदाधिकारीको मनोमानीका कारण समितिले बाध्य भएर सो पत्र पठाएको स्रोत बताउँछ । स्रोतका अनुसार रेडक्रसले विधानसमेत कुल्चेको छ । ‘नेपाल रेडक्रस सोसाइटीको विधान, २०२० (सत्रौं संशोधन, २०७५)’ को विधानविपरीत संस्थाको केन्द्रीय कार्यसमिति गठन गरिएको छ ।

केन्द्रीय कार्यसमितिमा ३३ जना निर्वाचित पदाधिकारी रहने व्यवस्था छ । त्यस्तै, समाज कल्याण परिषद्बाट एक जना र निवर्तमान अध्यक्ष एक जना गरी कूल ३५ जना हुन्छन् । तर, ६६ जनाको कार्यसमिति बनाइएको छ । दुई कार्यसमितिले सहमति गरेर ६६ जनाको केन्द्रीय कार्यसमिति बनाएका हुन् । पटकपटकको निर्देशनपछि गठन गरेको केन्द्रीय कार्यसमिति पनि रेडक्रसको सिद्धान्तबमोजिम नभएपछि समितिले बाध्य भएर पत्र लेखेको हो ।

समितिले स्पष्ट रुपमा सो कार्यसमितिलाई अमान्य घोषित गरिसकेको छ । रेडक्रसमा प्रा.सुदर्शनप्रसाद नेपाल र डा.नेत्रप्रसाद तिम्सेनाको छुट्टाछुट्टै कार्यसमिति थियो । यी दुई समूहले अलग–अलग रेडक्रस बनाएका थिए । नेपाली काँग्रेसतिर आस्था राख्ने सुदर्शनले रेडक्रसमा अलिक बढी नै राजनीति गर्दै आएका छन् । निष्पक्ष र स्वतन्त्र रहनुपर्ने संस्थामा पार्टीगत रुपमा निर्वाचन हुने गरेको छ ।

नेत्रको समूहले २०८० असार २५ गते निर्वाचन गर्यो । यता, सुदर्शनको पक्षले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्देशनबमोजिम भन्दै त्यसको एक महिनापछि निर्वाचन सम्पन्न गर्यो । निर्वाचन गर्दा पार्टीगत रुपमा पद छुट्याइएको प्रमाण फेला परेको छ । काँग्रेसलाई अध्यक्ष, उपाध्यक्ष, उपमहामन्त्रीसहित १५ पद, नेकपा एसलाई महामन्त्री, उपकोषाध्यक्षसहित ६ पद, नेकपा माओवादीलाई महिला उपाध्यक्ष र आठ जना कोषाध्यक्षसहित आठ पद र बाँकी चार पद समानुपातिक रुपमा बाँडफाँड गर्ने सहमति भएको थियो ।

बारम्बार ध्यान केन्द्रित गराउँदा पनि चासो नदेखाएपछि सरकारलाई नै पत्र पठाइएको छ । जेनेभास्थित नेपाली राजदूतावासबाट परराष्ट्र मन्त्रालय पत्राचार गरिएको छ । पत्र प्राप्त भएपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक तर्सिएको स्रोत बताउँछ । सो विषयमाथि छलफल गर्न परराष्ट्रमन्त्री डा. देउवा जेनेभा गएको स्रोतको भनाइ छ ।

यता, नेत्र समूह भने सुदर्शन समूहविरुद्ध अदालत गएको थियो । नेत्र मलेसियाका लागि नेपाली राजदूत नियुक्त भएपछि अदालतबाट पाँच वटै मुद्दा झिकियो । गत कात्तिक २ गते दुवै पक्षबीच बृहत वार्ता भयो । उनीहरुले विधानमा भएको ‘बाधाअड्काउ फुकाऊ’ व्यवस्थाको प्रयोग गरेर ५६ जनाको कार्यसमिति बनाए । विधान तोडमोड गरेर बनाइएको कार्यसमितिलाई ‘द इन्टरनेशनल फेडेरेशन अफ रेडक्रस (आईएफआरसी)’ ले वैधानिकता दिएन ।

आईएफआरसीले सो कार्यसमिति रेडक्रसको मान्यताविपरीत भएको भन्दै आपत्ति जनायो । अनुपालन तथा मध्यस्थता समिति ‘कम्ल्पिएन्स एण्ड मेडिटेशन कमिटी (सिएमसी)’ ले सन् २०१९ देखि रेडक्रसको गतिविधिमाथि निगरानी राख्दै आएको छ । सिएमसीले पनि सो कार्यसमिति मान्न इन्कार गर्यो । निष्पक्ष रुपमा कार्यसमिति गठन गर्न सिएमसीले निर्देशन दियो ।

तर, रेडक्रसले भने सुनेको नसुन्यै गरिरहेको थियो । स्थापनाकालदेखि नै राजनीतिक आधारमा पदको भागबण्डा लगाउँदै आएको रेडकर्सका पदाधिकारीले भनेको नमानेपछि सिएमसी रुष्ट बन्यो । सन् २०२५ जनवरीमा जेनेभामा बसेको अन्तर्राष्ट्रिय रेडक्रसकर्मीहरुको भेलामा सिएमसीले निर्वाचन र अधिवेशन नगर्न निर्देश गरेको थियो । तर, सुदर्शन पक्षले अटेर गरेको हो ।

यता, गृहमन्त्री लेखकले सबै समितिलाई एकजुट हुन दबाब दिएका छन् । जसरी भए पनि मिल्न निर्देशन दिएपछि गत फागुन १२ गते बैठक बोलाइयो । तर, सो बैठकमा परिवर्तन नेपालका वसन्तकुमार श्रेष्ठलगायत उपस्थित भएनन् । सुदर्शन, डा. विशाल भण्डारी, चन्द्रकला कार्की, सुरेन्द्रसिंह ऐर, भूपतीलाल श्रेष्ठ, दिपेन्द्रराज ढकाल, मनोजकुमार थापा, विनोदकुमार बस्नेत, श्यामकाजी डोटेल, राजेन्द्रमान ताल्चा मडेल, नारायणप्रसाद तिमिल्सनालगायत बैठकमा आएका थिए ।

बैठकले तीन वटा प्रस्ताव गरेको थियो । पहिलोः सुदर्शन र विशालको कार्यसमिति समायोजन गरेर ६६ सदस्यीय कार्यसमिति बनाउने, दोस्रोः समायोजन गरिएका कार्यसमितिका पदाधिकारीमध्ये १५ जना सदस्य रहनेगरी कार्य सम्पादन समिति गठन गर्ने, तेस्रोः फागुन १३ गते पुनः बैठक बस्ने । बैठकमा भएका निर्णयहरु सिएमसीलाई जानकारी गराइएको थियो ।

तर, सिएमसीले बैठकको प्रस्तावमाथि नै शंका गरेको हो । सिएमसीको प्यानल रिपोर्टर र महाधिवेशन नभएसम्मका लागि प्रमुख क्रिस्टिना कुम्पुलाले नेपाल रेडक्रस सोसाइटीमाथि प्रतिबन्ध सिफारिस गर्ने निर्णय भएको भन्दै पत्र पठाएकी छिन् । पत्रमा स्पष्ट रुपमा लेखिएको छ,‘प्यानल अत्यन्तै दुःखका साथ सूचित गर्न चाहन्छ कि नेपाल रेडक्रस सोसाइटीमाथि प्रतिबन्ध सिफारिस गर्ने निर्णय गरेको छ ।’

रेडक्रसलाई संस्थाको रुपमा र राजनीतिमा लागेका रेडक्रसकर्मीलाई व्यक्तिगत रुपमा प्रतिबन्ध गरिएको पत्रपछि रेडक्रमका केन्द्रीय पदाधिकारीहरुमा खैलाबैला मच्चिएको छ । उनीहरुले फागुन १९ गते आईएफआरसीका प्रतिनिधिसहितको गोलमेच बैठक बोलाएका छन् । नेपालको रेडक्रसमा प्रतिबन्ध लागेमा बाहिरबाट आउने सहयोगहरु रोकिन्छ ।

सिएमसीले अन्य गैरसरकारी दातृहरुलाई पनि नेपालमा सहयोग नगर्न पत्राचार गर्छ । त्यसपछि रेडक्रस नाम मात्रैको संस्था बन्ने स्रोतको जिकिर छ । रेडक्रमका एक कर्मचारी भन्छन्,‘रेडक्रससँग आर्थिक स्रोतको अभाव छ । माघदेखि कर्मचारीलाई तलब खुवाउन सकिएको छैन । यस्तोमा अन्तर्राष्टिय स्तरबाट आउने सहयोग रोकियो भने के हुन्छ ? गर्न पनि अति नै गरे । संस्थाको कसैलाई ख्याल नै छैन, भ्रष्टाचार गरेका छन् । विधान मिचेका छन् ।’

हरेक मुलुकले सिएमसीको गाइडलाइन पालना गर्नुपर्छ । त्यसमा स्पष्ट रुपमा रेडक्रस निष्पक्ष, तटस्थ र स्वाधीन हुनेपर्ने भनिएको छ । तर, नेपालले तीनैवटा सिद्धान्तको बर्खिलाप गरेको छ । सँगै जेनेभा महासन्धिको धज्जी उडाइएको अवस्था छ ।

आर्थिक अनियमितताको दलदलमा रेडक्रस

विपतमा परेकालाई सहयोग र उद्धार गर्नका लागि खडा गरिएको संस्थाको आर्थिक घोटालाको किस्सा धेरै छन् । भक्तपुरमा जग्गा खरिदमा घोटाला भएको भनि सरकारले गठन गरेको समितिहरुले नै पुष्टि गरिसकेको छ । समाज कल्याण परिषद्को प्रतिवेदनमा रेडक्रस आर्थिक अनियमितताको दलदलमा फसेको उल्लेख छ । अन्य थुप्रै शीर्षकमा भ्रष्टाचार भएको छ ।

केही समयअघि रेडक्रसको अध्यक्षसहितको पदाधिकारी जेनेभा गएका थिए । उनीहरुको सबै खर्च उताको पक्षले व्यहोरेको थियो । तैपनि, उनीहरुले रेडक्रसबाट प्रतिव्यक्ति चार लाख रुपैयाँ लिएको खुलेको छ । रकम लिएपनि अहिलेसम्म फछ्यौट गरेका छैनन् । गाडीको दुरुपयोग स्वाभाविकझैं भइसकेको छ ।

ढुकुटी रित्तो, पद थपेको थप्यै

रेडक्रसको ढुकुटी रित्तो भइसकेको छ । कर्मचारीलाई तलब खुवाउन नसकिरहेको बेला सुदर्शन भने पद थप्नमै ध्याउन्न छन् । कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशकको दुई–दुई वटा पद कायम गरिएको छ । उनले कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई निलम्बन गरेका छन् । सबैभन्दा जुनियर धर्मभक्त बिडारीलाई निमित्तको जिम्मेवारी दिइएको छ । यता, उपकार्यकारी पनि दुई जना छन् । त्यहाँका कर्मचारीहरु ‘कहीँ नभएको जात्रा’ रेडक्रसमा भएको बताउँछन् । उता, ब्लड बैंकका कर्मचारीहरुले पनि महिनौंदेखिको तलब नपाएको बुझिएको छ ।

रेडक्रसलाई सुधार गरी त्यसको अस्तित्व जोगाउन कर्मचारीहरुले बारम्बार हारगुहार गरेका छन् । रेडक्रसकर्मी र कर्मचारीहरु तत्काल एक भएर अघि नबढेमा संस्था संकटमा पर्ने भन्दै कर्मचारीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

रेडक्रर्सलाई निकासा दिन कार्यसमिति बनाएको दाबी

नेत्र राजदूत बनेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी चन्द्रकला कार्कीले रेडक्रर्सलाई निकास दिनका लागि ६६ सदस्यीय कार्यसमिति बनाएको दाबी गरिन् । कार्यसमितिको प्रमुख उद्देश्य विधान अधिवेशन र अधिवेशन गर्नु भएको उनको भनाइ छ । मे महिनाभित्रमा अधिवेशन सम्पन्न गर्ने टाइमलाइन भएको उनले जानकारी दिइन् ।

‘संस्थालाई बन्धक बनाएर राख्नुहुँदैन भन्ने हाम्रो मान्यता हो । विवाद सुल्झाउन, विधान अधिवेशन र अधिवेशन गर्न मात्र कार्यसमिति गठन गरेका हौं । अहिलेपनि केही साथीहरु संस्थालाई भद्रगोल बनाउनेतर्फ लाग्नुभएको छ । त्यसैले जतिसक्दो छिटो संस्थालाई निकास दिने हाम्रो योजना छ’,उनले भनिन् । यता, यसविषयमा बुझ्न खोज्दा अध्यक्ष नेपालसँग सम्पर्क हुन सकेन । 

टिप्पणीहरू