प्रधानमन्त्रीज्यू, 'महाविर पुन' हरु देखेर लाज लाग्दैन ?

मंगोलियन अनुहार । चिम्सा आँखा । निर्दोष लवज । औसत उचाई । खुट्टामा थोत्रो चप्पल । शरीरमा एक सर्को लुगा, त्यो पनि वर्षौ पुरानो । झ्वाट्ट हेर्दा– परिवारको दुई छाक भोक टार्न दिनभर मजदुरी गरेर घर फर्किएको कुनै श्रमिकजस्तै । तर, यथार्थमा भने एक गब्बर र दुरदर्शी । आधुनिक भाषामा भन्दा ‘वैज्ञानिक’ । वा, उनकै भाषामा भन्दा ‘एक फकिर’ ।
यस्तै बिम्बमा बाँचिरहेका पात्र हुन्, महावीर पुन, जो यतिबेला आफ्नै संघर्षको पुस्तक बेच्नको लागि पूर्वी जिल्लाहरुको संघर्षरत यात्रामा छन् । गत आइतबार महावीर पुस्तक बेच्दै धरान बजारभन्दा अलिक बाहिर पर्ने एउटा गाउँमा पुगेका थिए । अचानक एक महिला दौडिएर आइन् । उनको हातमा दुई वटा सुनको बाला थियो, त्यो महावीरको हातमा थम्याइदिइन् । एकछिन अवाक्क बनेका महावीरले सुनको बाला स्वीकार गर्न मानेनन् । तर, जब महिलाले ‘वीरगञ्जको कृषि औजार कारखानालाई हो दाजु’ भनिन् अनि एकाएक भावुक बने ।
एकछिनपछि महावीर ती महिलाको घरसम्मै पुगे । घर सानो थियो । इट्टाको गारो लगाएर टिनको पाताले छाएको । त्यो देखेपछि उनी थप सोचमग्न बने । र, मात्र एक वाक्य बोले, ‘बहिनी तिमी महान रहेछौँ ।’
त्यसको केहि दिनअघिको अर्को घटनाले पनि महावीर पुलकित बनेका थिए । इटहरी बजारमा पुस्तक बेचिरहेको बेला एक अटोरिक्सा चालकले उनलाई पहिचान गरिहाले । र, उनी उभिएको छेवैमा अटोरिक्सा रोकेर एउटा पुस्तक किने ।
करिव दश महिनायता वैज्ञानिक महावीर पुनको दैनिकी यस्तै रोचक घटनाको साक्षी बनेर व्यतित भइरहेको छ । तर, ती किस्सा उत्खनन् गर्नु मात्र पंक्तिकारको उद्धेश्य होइन । वीरगञ्जको कृषि औजार कारखाना पुनःसञ्चालनमा ल्याउन महावीरको वीरतापूर्ण कसरत र त्यसले प्रमाणित गरिरहेको सरकारको लाचारीपन यो टिप्पणीको मुख्य विषय हो ।
०७९ भदौ अन्तिम साता तत्कालीन क्याविनेटले ३० वर्षदेखि बन्द अवस्थामा रहेको वीरगञ्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन महावीर नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने निर्णय गर्यो । त्यसको दुई हप्तापछि अर्थ मन्त्रालयको तर्फबाट तत्कालीन सहसचिव रमेश केसी र आविष्कार केन्द्रको तर्फबाट महावीरले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्रमा उलेखित विभिन्न बुँदामध्ये एउटा थियो– कारखाना पुनःसञ्चालनको लागि पहिलो वर्ष आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयले उपलब्ध गराउने । तर, उक्त सम्झौता अहिलेसम्म कागजमा मात्रै सीमित भएको छ ।
खण्डहरमा परिणत भएको उक्त कारखानाको धुलो सरसफाई गर्न राष्ट्रिय आविष्कार केन्द्रले ६ महिनासम्म आफ्नै पैसा खर्चिएर काम गर्यो भने नेपाल कमर्सियल आर्टिस्ट एसोसियसनले नि:शुल्क रंगरोगन गरिदियो । वास्तवमा ती कलाकार धन्यवादका पात्र हुन्, जसले पारिश्रमिक नलिइ कारखानालाई नयाँ रंग दिन सहयोग गरे ।
कारखाना पुनः सञ्चालनको जिम्मेवारी पाउँदा महावीरले मन्त्रालयमै भनेका थिए, ‘आशा नगरेको चिजको जिम्मेवारी आएकोले यसलाई चिठ्ठा नै परेका ठान्छु’ । उतिबेला उनको आशा थियो– सरकारले सुनिश्चित गरिदिएको बजेटबाट कारखानाको पुनःसञ्चालन हुनेछ । तर, समय बित्दै जाँदा सरकारको असिमित आश्वासनबाहेक अरु केही पाएनन् ।
आविष्कार केन्द्रको बैंक खातामा भएको अलिअलि पैसा पनि कारखानाको सरसफाईमा सकियो । अब उपकरण निर्माणका लागि आवश्यक पर्ने बजेट कहाँबाट ल्याउने ? चिन्ता थपियो । काँधमा आएको जिम्मेवारी छोड्नु पनि कसरी ? वास्तवमा यी नै चिन्तनले महावीरलाई पुस्तक बेच्दै हिँड्न बाध्य बनाएको हो ।
महावीरले चाहेको भए धुर्मुस–सुन्तलीले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको परियोजनाबाट हात झिकेझैँ कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने योजनाबाट पछि हट्न पनि सक्थे । पुस्तक बेचेरै कारखाना सञ्चालनमा ल्याउने योजनालाई कतिपयले ‘पागलपन’ नभनेको पनि होइनन् । तर, उनले हार मानेनन् । यत्तिको ‘पागलपन’ बिना त महावीर पनि कसरी महावीर बन्थे र !
शुरुमा पुस्तक बेच्न भन्दै नेपालको पश्चिम जिल्लाको यात्रामा निस्किएका उनलाई धेरै साहित्यकार र लेखकले समेत खिसिट्युरी गरेका थिए । तर, अहिले उनीहरुलाई जानकारी दिनैपर्ने हुन्छ– महावीरले एक लाख ७० हजारभन्दा बढी पुस्तक बेचिसकेका छन् । एउटा पुस्तकको मूल्य रु ७५० छ । यस हिसाबले पनि हालसम्म १२ करोड ७५ लाखभन्दा बढी रकम संकलन भैसकेको छ । यसबाहेक नागरिकले स्वतःस्फूर्त गरेको बाँकी सहयोग त छदैँछ ।
यहाँ के बुझ्नुपर्छ भने नेपालमा कुनै पुस्तक यति धेरै संख्यामा बिक्री भएको यो नै पहिलो हो । कारखाना पुनःसञ्चालनमा ल्याउने महावीरको अभियानमा नागरिक तहबाट जुन साथ, सहयोग, सहभागिता र सक्रियता देखियो, त्यो चानचुने होइन । अत: कारखाना सञ्चालनको लागि बजेट उपलब्ध गराउने सरकारको आश्वासन र लाचारीपनलाई महावीरको एक्लो प्रयासले ‘धुलो’ बनाइदिएको छ । सरकारलाई लाज लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
रिचार्ड मेरेबरीले त्यतिकै भनेका होइनन्, ‘सत्तामा पुग्नेसँग दिमाग हुँदैन र दिमाग हुनेहरु कहिल्यै सत्तामा पुग्दैनन्’ । सायद, महावीरको हकमा यो कथन चरितार्थ भएको छ ।
कारखाना पुनः सञ्चालनमा ल्याउने योजनाहरु के के छन् ? भनेर कसैले सोध्यो भने महावीरसँग दर्जनौँ उपाय र विकल्प छन् । उनी अझै पनि चाहन्छन् कि सरकारले बोलाएर यही प्रश्न सोधोस् । तर, 'भ्रष्टाचारीको संरक्षण'मा व्यस्त सरकारलाई यो सबको लागि कहाँ फुर्सद छ र !
महावीरले केही महिनाअघि अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गर्न नखोजेका पनि होइनन् । तर, मन्त्रीहरुले नै भेट्न समय नदिएको उनको सचिवालय बताउँछ । ‘उहाँले पहुँच प्रयोग गरेर मन्त्रीहरुसँग भेटेर कुरा गर्न खोज्नुभएको हो, तर कसैले वास्ता नगरेपछि हार मान्दै किताब बोकेर हिँड्नुभयो’, सचिवालय निकट स्रोतले भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सभा-समारोहमा दोहोर्याइरहने एउटा वाक्य हो, ‘सरकार भ्रष्टाचार अन्य गर्न र समृद्धिको लागि प्रतिबद्ध छ’ । तर, व्यवहारत: ‘नमूना सेलिब्रेटी’लाई बालुवाटार बोलाएर नीजि कन्सर्टमा रमाउनेबाहेक देखिनेगरी काम गरेको अनुभूत जनताले गर्न पाएका छैनन् । सरकारले चाह्यो भने बजेट सुनिश्चितता गरेर कारखाना पुनःसञ्चालनको लागि तत्काल कदम चाल्न सक्छ । तर, आफूविरुद्ध बोल्नेप्रति बद्ला भाव राखेर प्रतिशोध साँध्ने संकुचित सोचले यस्तो फराकिलो दृष्टिकोण राख्छ कि राख्दैन ? प्रश्न यहाँ छ ।
बेला–बेला पंक्तिकार लाग्छ कि प्रधानमन्त्रीको सल्लाहकारलाई समेत सल्लाहकारको आवश्यकता छ । ताकि समाजका महावीरहारको प्रयासबारे मुलुकको कार्यकारी प्रमुखले बोध गराओस् । त्यसो त, अझै पनि बिग्रेको कुरा सपार्न सकिन्छ । ,महावीरले पुस्तक बेचेर संकलन गरेको पैसाबाट कारखानालाई पुनःसञ्चालनमा ल्याउने ढोका खोलिसकिएको छ । आविष्कार केन्द्रले कारखानामा जागिर गर्न चाहनेहरुको लागि आवेदन खुलाएको अवस्था छ । त्यसमा सरकारले थप चासो दिएमा कारखाना व्यवस्थित ढंगले सञ्चालनमा आउन सक्छ ।
त्यसो हुँदा हजारौँ रोजगारी सिर्जना हुन सक्छ । लाखौ कृषकलाई फाइदा पुग्न सक्छ । तर, प्रधानमन्त्रीज्यू, के तपाईको आखाँ र कान सद्धे छन् ? छन् भने पट्पटी फुटेका महावीर पुनहरुको पैतालातिर ध्यान दिन यति ढिला पनि नगर्नुस् ताकि पछि पश्चातापको मौकासमेत गुमोस् ।
टिप्पणीहरू