प्रधानमन्त्रीको बोली कटाएर ‘राजागंज’ लाई प्रदर्शन अनुमति

प्रधानमन्त्री केपी शर्मा ओलीको दृश्य हटाउने सहमतिसँगै चलचित्र ‘राजागंज’ले प्रदर्शनको अनुमति पाएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा समावेश ओलीको पुरानो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बोर्डले हिजो इजाजत दिन मानेको थिएन । तर, निर्माण टिम प्रधानमन्त्री ओलीको बोली र दृश्यलाई म्युट गर्न सहमत भएपछि प्रदर्शनको अनुमति पाएको हो । यो फिल्म शुक्रबार रिलिज हुँदैछ ।
चलचित्रमा प्रधानमन्त्री ओलीले ०७२ भदौमा दिएको एउटा पुरानो भिडियो समावेश छ । जहाँ ओलीले भनेका थिए, ‘रुखमा लटरम्म आँप फल्या छ, कुहिएका दुई तीन वटा आँप झर्यो भन्दैमा पुरै आँप नै खत्तम भयो भन्ने हुँदैन । संविधानसभा छोडेर जानेहरु पनि त्यस्तै हुन् । एमाले छ, कांग्रेस छ, एमाओवादी छ, राप्रपा छ, राजमो छ, धेरै छन् नि संविधान बनाएर अघि बढ्नुपर्छ भन्नेहरु ।’
सेन्सर बोर्डले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएपछि 'राजागंज’ टिमले वैकल्पिक उपाय खोज्दै म्युट गर्न तयार भएको हो । यद्यपि, चलचित्रको रनटाइम भने घटाइने छैन । एक घण्टा ४८ मिनेट रनटाइम भएको चलचित्रमा अब ओलीको दृश्यलाई सम्पादन गरेर खाली राख्ने र बोलीमा 'विप' गरिने बताइएको छ ।
दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पशुपति राई, निकिता चन्दक, आरती मण्डललगायतको अभिनय रहेको राजागंजले ‘होम कमिङ’ गर्न लागेको हो । यसै वर्षको भेनिस फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर गरेको चलचित्रले १५ मिनेट स्ट्यान्डिङ ओभेशनसमेत पाएको थियो ।
टिप्पणीहरू