शाम्बाला, पञ्चेबाजा र त्यो ग्राउण्ड फ्लोर

शाम्बाला, पञ्चेबाजा र त्यो ग्राउण्ड फ्लोर

सुन्धारास्थित सिभिल मलको ग्राउण्ड फ्लोरमा पञ्चेबाजाको मौलिक धुन गुञ्जिरहेको थियो । नृत्यको न्यूनतम लयमा शरीर ढल्काउँदै छेवैमा उभिरहेका थिए, पाँच/सात जना चिनियाँ । वरपर जम्मा भएका अन्य विदेशी मूलका अनुहारहरु पनि उस्तै प्रफुल्लित देखिन्थे । मानौँ दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाईले उनीहरुलाई काँधको झोला र हातको क्यामेरा भुइँमै फ्याँकेर आफ्नो लयमा नाच्न आग्रह गरिरहेको छ । चैत सात गते बिहीबार नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा यस्तो दृश्य देखियो । 

‘आर यु डिरेक्टर अर आर्टिस्ट ? (तपाई कलाकार हो कि निर्देशक ?)’, सातौँ फ्लोरमा रहेको क्युएफएक्स सिनेमाजको थियटरमा जान लिफ्ट पर्खिरहेको पंक्तिकारलाई सोही चिनियाँ समूहका एक व्यक्तिले प्रश्न तेर्साइहाले । उनी वृतचित्र तथा चलचित्र निर्देशक रहेछन्, सोउ सी याङ । निफको आठौँ संस्करणमा सहभागी हुन अघिल्लो दिनमात्र काठमाडौँ आइपुगेका । मैले स्वागतका केही शब्द खर्चिदै जवाफ फर्काएँ, ‘पत्रकार हुँ ।’

निफको उद्धघाटन सत्रमा कसले के भने ? त्यो प्रकाश पार्नु पंक्तिकारको उद्धेश्य होइन । तर, फेस्टिभलमा ‘ओपनिङ फिल्म’को रुपमा देखाइएको ‘शाम्बाला’ कस्तो छ ? र, चलचित्र हेरेपछि विदेशी चलचित्रकर्मीले कस्तो अनुभूत गरे ? यो भने पक्कै रोचक हुनसक्छ !

त्यसो त, जर्मनीको बर्लिन फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भइ दर्जनौँ अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी हुँदै भदौ २८ गते ‘होम कमिङ’ गरेको चलचित्र हो, शाम्बाला । दुर्लभ कथावस्तु, उत्कृष्ट दृश्य एंव छायांकन र कलाकारको अब्बल अभिनयले अन्तराष्ट्रिय चर्चा पाएको र ओस्कारसम्म पुगेको भनेपछि विदेशी कलाकार पनि चलचित्र हेर्न आतुर देखिन्थे ।

हिमालका दुःख र आध्यात्मिक प्रेम

वास्तवमा ‘शाम्बाला’ हिमाली भूगोलको कथा हो । त्यहाँका संस्कृति, समुदाय र दु:खलाई निर्देशक मीन भामले आध्यात्मिक प्रेममार्फत् प्रस्तुत गरेका छन् । पेमा, तीन दाजुभाई (टासी, कर्म, दावा), नाम्खा (घोडा) र राम सर चलचित्रको केन्द्रीय पात्र हुन् । 

उमेर पुगेकी पेमा र तीन दाजुभाइबीच बिहेको दृश्यबाट कथा शुभारम्भ भएको छ । प्रेम त पेमा र टासीको हो, तर सामाजिक परम्पराले कर्म र दावा पनि उनको श्रीमान बन्न पुग्छन् । 

बिहेको केही समयपछि ल्हासाबाट व्यापारको निम्तो आउछ, टासीलाई । तिब्बत र ल्हासाले सीमावारीका नेपालीसँग के अपेक्षा राख्छ ? चलचत्रिमा मज्जाले देखाइएको छ । 

माइलो भाइ अर्थात् कर्म भिक्षु हो । गुम्बामा रिम्पोचेको सेवा गर्नु नै उसको पहिलो र अन्तिम उद्धेश्य छ । तर, घटनाक्रम यसरी विकसित हुन्छ कि उसलाई गुम्बा छोडेर तिब्बतका सेताम्मे हिमालहरु पार गर्नुपर्ने बाध्यता आइपर्छ । कान्छो भाई अर्थात् दावा त बालक भइहाल्यो, भर्खर स्कुल पढ्दै गरेको !

टासी व्यापारको लागि ल्हासा गएपछि दावाको हेरचाह गर्ने जिम्मेवारी पेमाको काँधमा आउँछ । नाताले कान्छो श्रीमान भए पनि आमासरह माया दिर्ने प्रयास गर्छिन्, दावालाई । दावाको पढाइ र विद्यालयको गतिविधि भने सन्तोषजनक हुँदैन । उसले ख्याल ठट्टामा ‘पाइलट बन्छु’ त भन्छ, तर पढाइतिर ध्यान दिदैँन । दिनप्रतिदिन बिग्रदै गएको दावालाई सुधार्न पेमाले राम सरको सहारा लिन्छिन् । राम सर, जो पेमासँग फ्लर्ट गरिरहन्छन् ।

टासी ल्हासामा, कर्म गुम्बामा । अनि घरमा चाहिँ पेमा र दावामात्रै । जब पेमाले राम सरलाई घरमै आएर दावालाई पढाइदिन आग्रह गर्छिन्, त्यसपछि कथाले पहिलो मोड लिन्छ । 

राम सरले घरमै पुगेर दावालाई पढाउन र सिकाउन थाल्छन् । यसक्रममा पेमाले पनि उनको लागि राम्रै खानपिनको व्यवस्था गरिदिन्छन् । तर, जब केही महिनापछि पेमाको पेटमा बच्चा भएको थाहा हुन्छ, तब समाजले प्रश्न गर्न थाल्छ– यसको बाबु को हो ? टासी कि राम सर ? 

त्यही सेरोफेरोमा व्यापारको लागि ल्हासा गएका सबै गाउँलेहरु घर फर्किन्छन् । तर, टासी फर्किदैन । अन्नपातका सामान बोकेर उसको घोडामात्रै आइपुग्छ । र, कसैले खबर सुनाइदिन्छ, ‘पेमाको पेटमा राम सरको बच्चा छ भन्ने थाहा पाएछ, गाउँ फर्किएर कसरी अनुहार देखाउनु भनेर टासी तिब्बतको सीमाबाट उतै फर्कियो ।’

यो सुनेपछि पेमा मर्माहत हुन्छिन् । एकातिर टासीले गरेको प्रेम र उसले खाएका वाचा कसमप्रति शंका गर्छिन्, अर्कोतिर टासीलाई खोज्न जाने सोच बनाउँछिन् । पेमा आफ्नै मनलाई प्रश्न गर्छिन्, ‘टासीले किन मलाई नै नसोधी समाजको कुरा पत्याएको होला ?’

स्कुल पढिरहेको बालक दावाले समेत एक साँझ मदिराको तालमा मात्तिएर पेमामाथि अनेर्कौ प्रश्न उठाएपछि अन्ततः उनी टासीको खोजी यात्रामा निस्कने तय गर्छिन् । र, गुम्बामा रिम्पोचेको सेवामा व्यस्त रहेको कर्मलाई भेटेर सबै कुरा भन्छिन् । त्यसपछि सुरु हुन्छ- गर्भवती पेमा, उनको घोडा नाम्खा र कर्मको यात्रा । 

हिँउकाे कष्टपूर्ण यात्रा नै चलचित्रको थप आकर्षण हो । तर, एउटा हिमाली संस्कृतिलाई भने निकै विरोधाभास तरिकाले प्रस्तुत गरिएको छ । जस्तो एउटा दृश्य छ– एक महिलाले आफूमाथिको दोष गलत सावित गर्न धनुषकाे वाण चलाउँछिन्, तर निशाना लगाउन सक्दिनन् । त्यसपछि समाजले महिलालाई दोषी नै ठहर्याउँछ । र, केही समयपछि उनले आत्महत्या गर्छिन् । 

अन्ततः पेमाको हकमा पनि उस्तै हुन्छ । टासी घर फर्किएर त आउँछ । तर, उसले बच्चा स्वीकार गर्न मान्दैन । भन्छ, ‘त्यो बच्चा फालिदेउ, राम सर वा मेरो, जसको भए पनि !’

यो सुनेपछि पेमाले टासीका लागि संगालेको प्रेमलाई हृदयबाट बगाइदिन्छिन् । वा भनौ, बच्चा फाल्ने टासीको आग्रहले उसको प्राथमिकतालाई पेमा राम्ररी बुझ्छिन् । पेटको बच्चाको हत्या गर्नु संसारकै सबैभन्दा ठूलो पाप हो भन्ने बुझाइसहित उनी धनुष हान्न तयार हुन्छिन् । परिस्थिति यस्तो हुन्छ कि उनले निशाना लगाएमा पेटको बच्चा टासीकै ठहरिनेछ । तर, निशाना चुकेमा राम सरकै बच्चा भएको प्रमाणित हुने समाजको कथित परम्परा छ ।

समाजको भीड तमासा हेर्न आतुर हुन्छ । पेमाको हातमा उही धनुष र वाण थम्याइन्छ । उनले निशाना ताक्छिन् । तर वाण....

अन्त्यमा, पेमालाई सेताम्मे हिमालहरुको फेदमा रहेको एक गुम्बातिर देखाइन्छ । जहाँ हिँउ पग्लिएर बगिरहेकाे पवित्र पानीको धुन सुन्दै उनी आफ्नो बच्चासँग खेलिरहेकी हुन्छिन् । अर्थात्, पेमाले समाजको अगाडि धनुषले निशाना लगाउन सकेकी थिइनन्, बरु गाउँ नै छाडेकी थिइन् । 

समाजले आफ्नो परम्पराअनुसार पेटको बच्चा राम सरकै ठहर्याएपछि गाउँ छाड्नु नै पेमाको लागि उपयुक्त विकल्प रहेकाे देखाइन्छ । समाजको कथित परम्परा र अन्धविश्वासको शिकार बनेपछि उनी भिक्षु बनेर अलग्गै बस्छिन्, समाजभन्दा पर । आफ्नो बच्चासँग खेल्छिन्, रमाउँछिन् । 

यदाकदा लाग्छ– आध्यात्मले मानिसलाई सधैँ सत्यको मार्गमा हिँडाउछ । मानिसले बनाएका विभिन्न परम्परा, मान्यता एंव अन्धविश्वासले सत्यको कत्लेआम गरिरहेका छन् । जसलाई आध्यात्मले नजरअन्दाज गर्दै सत्यको मार्गमा हिँड्न प्रेरित गरिरहन्छ । जस्तो, पेमाको पेटमा भएको बच्चाको बाबु टासी नै हुन्छ । तर, राम सरसँगको निकटता देखेर समाज आफै हल्ला फैलाउँछ र आफैँ फैसला सुनाउँछ । जुन प्रक्रियामा पेमा निरिह हुन्छिन् । यद्यपि, उनले हृदयको सत्यलाई जीवन बाँच्ने नयाँ आधार बनाउछिन् । 

पेमा हिँडेको बाटो हिँड्ने याङको रहर

चलचित्र हेरेपछि मैले शुरुमा भेट भएका उनै चिनियाँ निर्देशक याङलाई सोधेको थिएँ, ‘कस्तो लाग्यो ?’, उनले अंग्रेजीमा फर्काएको जवाफको भावानुवाद छ, ‘मौलिक र निकै सिर्जनात्मक ! फिल्मले यहाँ सांस्कृतिक विविधता र भौगोलिक सौन्दर्यलाई निकै राम्रो ढंगले देखाएको छ । काश्, म पनि पेमा हिँडेका ती ठाउँहरुमा जान पाउँथे (हाँस्दै) !’ 

चलचित्रमा पेमाको घोडा (नाम्खा) मर्दा चाहिँ याङलाई निकै दु:ख लागेछ । उक्त दृश्यले हिँउको दु:खबारे अवगत गराएको उनले सुनाए । गफिंदै भने, ‘मलाई हिँउ असाध्यै मनपर्छ । मैले हिँउ खेल्नैकै लागि निकै लामो यात्रासमेत गरेको छु । तर, जीवन नै हिँउमा कटाउनेहरुको लागि निकै कष्टपूर्ण हुन्छ भन्ने गम्भीर विषय देखाइएको छ । क्षणभरको लागि हिँउ प्यारो हुनसक्छ, तर जीवनभरको लागि यो निकै असह्य हुन्छ । विशेषगरी, हिँउमा मरेको नाम्खा (घोडा) हिँउमै पुरिएको देखेपछि, अनि पेमाले हिँउ कोट्याउँदै जाँदा हात कठ्याङ्ग्रिएको दृश्यहरुमा त्यो अनुभूत हुन्छ ।’

त्यस्तै, भारतीय चलचित्र समीक्षक, प्राध्यापक तथा निर्देशक डा. रिता दत्तले अहिलेसम्म भारतमा समेत यस प्रकारको चलचित्र नबेको उल्लेख गर्दै ‘शाम्बाला’को प्रशंसा गरिन् । ‘प्राय: फिल्महरु कथा छनोट, लेखन, भूगोल, अभिनयमा कहिकतै चिप्लिएका नै हुन्छन्, तर शाम्बाला सबै दृष्टिकोणबाट प्रफेक्ट छ’, उनले भनिन् । 

अर्का चिनियाँ लेखक, निर्देशक तथा प्राध्यापक लिउ जियानले पनि ‘शाम्बाला’लाई कलाले भरिएको चलचित्र भने । नेपालमा पाइने कथा अन्य कुनै देशमा नपाइने उनको अनुभव छ । ‘मैले विभिन्न भाषामा तयार पारिएको फिल्महरु हेरेको छु’, उनले भने, ‘तर अरु भाषाका फिल्म भन्दा नेपाली फिल्मको कथा पृथक र दुर्लभ हुन्छन्, म फर्किदा केही कथाहरु चोरेर लानेछु (हाँस्दै) !’

टिप्पणीहरू