नेविसंघमा हस्ताक्षर चोरेर किर्ते काण्ड

नेविसंघमा हस्ताक्षर चोरेर किर्ते काण्ड
सुन्नुहोस्

नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्ववियु निर्वाचनलाई लक्षित गरी क्याम्पस इकाई र केन्द्रीय सदस्यमा कसैलाई मनोनयन नगरेको प्रष्ट पारेको छ ।

यसअघि संघको आधिकारिक लेटरहेड्मा स्ववियु चुनावको दौरान विभिन्न क्याम्पसमा ईकाइ अध्यक्ष मनोनयन गरेको व्यहोराको सूचना सार्वजनिक भएको थियो । आज विज्ञप्ति जारी गर्दै मुख्य सचिव विजय खड्काले संघको लेटरप्याड, छाप र अध्यक्षको दस्तखत दुरुपयोग गरी मनोनयनसम्बन्धी सूचना निकालेको भन्दै आपत्ति जनाएका छन् । 

उनले लेटरहेड दुरुपयोग गर्नेलाई त्यसै नछाड्ने चेतावनीसमेत दिएका छन् ।  ‘संघलाई बदनाम गर्ने मनसायले विभिन्न प्रविधिको प्रयोग गरी संघको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याइनेसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

साथै, मनोनयनसम्बन्धी आधिकारिक सूचना संघको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत मात्र सार्वजनिक गरिने भएकाले त्यस्ता भ्रामक सूचनामा नपर्न सचेत गराइएको छ । 

नेविसंघमा अघिल्लो स्ववियु निर्वाचनताका पनि यस्तै किर्ते काण्डले किचलो चर्किएको थियो । स्ववियुलाई लक्षित गरी विभिन्न समिति तथा संयोजक तोक्दा असन्तुष्ट खेमाले छुट्टै सर्कुलर गरेपछि केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर खण्डन गरेको थियो । त्यतिबेला पनि लेटरप्याड किर्ते गरेको भन्दै कारबाहीको चेतावनी दिइएको थियो ।

त्यसपछि पनि एक-दुई पटक लेटरप्याड र हस्ताक्षर किर्ते विवाद सतहमा आएको थियो ।अध्यक्षको दस्तखत चोरेर केही सदस्यले आफूखुसी पत्र बनाएको भन्दै केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर खण्डनसहित कारवाहीको चेतावनी दिएको थियो ।

टिप्पणीहरू