गृहमन्त्रीकाे सामुन्ने प्रहरी हिरासतबारे छलफल

गृहमन्त्रीकाे सामुन्ने प्रहरी हिरासतबारे छलफल
सुन्नुहोस्

सिंहदरबारस्थित संसद सचिवालयमा बसेको एउटा बैठकमा मुलुकभरका प्रहरी हिरासत कक्षबारे छलफल गरिएको छ । बिहान पौने १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी हिरासत कक्षको समग्र पक्षबारे सांसदहरुले चासो राखेको बताइन्छ । 

कानुन, न्याय तथा मानवअधिकार समितिको सभाकक्षमा समितिका सभापति विमला सुवेदीको  सभापतित्वमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियालगायतको उपस्थिति थियो । त्यसैगरी समिति सदस्यहरु सन्तोष परियार, सुशिला थिङ, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा पनि बैठकमा उपस्थित थिए ।

सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूले पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गरिएको थियो । 

मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमनपछि उपसमितिले प्रतिवेदन तयार गरेको हो । त्यसैगरी लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रूपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लाका हिरासत कक्षको स्थलगत अनुगमन गरेर प्रतिवेदन बनाइएको थियो । ती प्रतिवेदनमाथि सामान्य छलफल भएको सहभागीहरुले बताएका छन् ।
 

टिप्पणीहरू