पत्रकारमा पनि चुनाव नगराउने महासचिवको मन

पत्रकारमा पनि चुनाव नगराउने महासचिवको मन फाइल फाेटाे
सुन्नुहोस्

जनसंगठनहरुको नेतृत्व चयनमा 'इलेक्सन' भन्दा 'सेलेक्सन' मा जोड दिँदै आएका एमाले महासचिव शंकर पोखरेलले पार्टी सम्वद्ध पत्रकारहरुलाई पनि चुनाव नगर्न निर्देशन दिएका छन् । 

विराटनगरमा आजदेखि शुरु भएको प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्धघाटन गर्दै उनले सहमतिबाटै नेतृत्व छान्न निर्देश गरेका हुन् । कांग्रेस र एमालेजस्ता पार्टीसमेत मिल्नुपरेको अहिलेको अवस्थामा प्रतिष्पर्धा होइन सहमति चाहिएको शंकरले जनाए । 

'जुन परिस्थितिमा महाधिवेशन हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ, प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ', उनले भने, 'अहिले कांग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’ 

यसअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्धघाटन गर्ने तालिका थियो । तर, नेतृत्व चयनमा विवाद हुने भएपछि आफू नगएर महासचिव शंकरलाई खटाएका हुन् ।

जनवर्गीय संगठनहरुको नेतृत्व चयन प्रक्रियामा जनवाद भन्दा केन्द्रीयता हावी हुने गरेको भन्दै एमालेमा पछिल्लो समय असन्तुष्टि बढिरहेको छ । कर्मचारी संगठनमा पार्टीले हस्तक्षेप गरेको भन्दै गत महिना सम्पन्न महाधिवेशन विवादमा परेको थियो ।  अध्यक्षका आकांक्षीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफूले अघि सारेको उम्मेदवारको नाममा सर्वसम्मत गर्न निर्देशन दिएको भन्दै कतिपयले गुनासो गरेका थिए ।

टिप्पणीहरू