एउटा ज्ञानेन्द्रलाई अयोग्य भन्दा अर्को ज्ञानेन्द्रको आक्रोश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एंव सांसद ज्ञानेन्द्र शाहीले बिपीको सिद्धान्तलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेचेर खाएको टिप्पणी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई 'असक्षम' घोषणा गरेका देउवाले राप्रपाको अध्यक्ष बन्न सुझाव दिएपछि शाही आक्रोशित भएका हुन् । उनले राजतन्त्रबारे निर्णय लिन कांग्रेसभित्र चुनाव गराउन चुनौतीसमेत दिए ।
कांग्रेसको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वराजालाई लक्षित गर्दै देउवाले भनेका थिए, ‘यिनको बानी र स्वभावले कुनै पनि हालतमा संवैधानिक राजा बन्नेवाला छैनन्, बरु राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ ।’
नवराजावादीका रुपमा पछिल्लो समय उग्र हुँदै आएका शाहीले देउवालाई ‘त्यसो भए तीन पटक प्रधानमन्त्रीचाहिँ राप्रपा सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ?’ भनेर प्रतिप्रश्न गरे । उनले चुनौती दिँदै भनेका छन्, ‘याद गर्नुहोस् सभापतिज्यू जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ। राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ ?’
उता राप्रपा, नेपालका अध्यक्ष कमल थापाले पनि देउवाले पूर्वराजाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् । पछिल्लोसमय देउवासहित प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजसंस्थाको बारेमा दिएका अभिव्यक्तिलाई उनले ‘हतास मनस्थितिको उपज र असफलताको प्रमाण’ समेत भनेका छन् ।
‘प्रचण्ड,ओली, देउवा र बाबुरामले राजा र राजसंस्थावारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन्’, कमलले लेखेका छन्, ‘लोकतन्त्रको आवरणमा गरिएको ब्रम्हलुट र बिदेशमा लुकाएको सम्पति कसरी जोगाउने भन्ने छटपटी हो।’
टिप्पणीहरू