पालिका अध्यक्षले क्रान्तिकारीलाई आधिकारिकता दिएपछि बबाल

धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसमा पालिका अध्यक्षले स्ववियु अध्यक्ष तोकेपछि विवाद चर्किएको छ । गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले अखिल क्रान्तिकारीका गणेश पाण्डेलाई एकलौटी रुपमा क्याम्पस स्ववियु अध्यक्ष घोषणा गरेका हुन् ।
क्याम्पसका नेविसंघ अध्यक्ष सुदिप गौली र अनेरास्ववियु अध्यक्ष श्याम लामाले जारी गरेको विज्ञप्तिमा निर्वाचन कार्यतालिका सार्वजनिक नगरी एक्लौटी ढंगले गरिएको स्ववियु घोषणाको विरोध गरेका छन् । उनीहरुले उक्त निर्णयको विरोधमा आज बिहान ७ बजेदेखि स्ववियु कार्यालयमा तालाबन्दी गरिदिएका छन् । भोलि बिहान ७ बजेदेखि क्याम्पस प्रमुखको कार्यकक्ष घेराउ र प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।
उनीहरुले क्याम्पस प्रशासनलाई गैरकानुनी स्ववियु घोषणा विषयको छानबिनमा असहज वातावरण बनाएमा कुनैपनि मूल्य चुकाउन तयार रहेको चेतावनीसमेत दिएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘गजुरी गाउँपालिकाको अध्यक्ष गणेशलाल श्रेष्ठ र अखिल क्रान्तिकारीले तत्कालीन नेपालको १० वर्षे सशस्त्र द्वन्द्वको अराजक शैलीमा क्याम्पस नै कब्जा गर्ने गैरकानुनी स्ववियु घोषणाको घोर विरोध गर्दै क्याम्पसमा भर्ना भएको विद्यार्थीहरुको भर्ना छानबिन गरी वास्तविक विद्यार्थीको नामावली सार्वजनिक गरी यथाशिघ्र स्ववियु निर्वाचन प्रक्रिया अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’
टिप्पणीहरू