पूर्वराजामाथि शीर्ष नेताको आक्रमक टिप्पणी र पक्राउको चर्चा

आरोप-प्रत्यारोपमा व्यस्त रहँदै आएका सत्तापक्ष र विपक्षी दलका नेताहरु एक महिनायता केही शान्त देखिएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको सन्देश र २५ गते उनको स्वागतको लागि एयरपोर्टमा जम्मा भएको भीडले 'गणतन्त्रको रक्षा' का लागि सत्ता र प्रतिपक्षलाई एकै ठाउँमा उभिन बाध्य पारेको हो ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, सत्ता साझेदार नेपाली कांग्रेससँगै प्रमुख प्रतिपक्ष माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत गणतन्त्र पक्षधर दलका शीर्ष नेताले पूर्वराजाको सक्रियतालाई ‘प्रतिक्रियावादी शक्तिको बलमा प्रतिगामी हर्कत र गतिविधि बढेको’ ब्याख्या गरिरहेका छन् । र, प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त पूर्वराजालाई ‘भाइमारा’को संज्ञासमेत दिएका छन् ।
चैत १ गते सिन्धुपाल्चोकको मेलम्चीबाट प्रचण्डले ज्ञानेन्द्रलाई ‘भाइमारा र मूर्तिचोर’ भन्दै लार्कारेको केही दिनपछि प्रधानमन्त्री ओलीले कवितामार्फत् कटाक्ष गरेका थिए । बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनालहरुले पनि विरोध गरिरहेका छन् । कम्युनिष्ट नेताहरुले खुलेर बिरोध गरिरहँदा मौन रहँदै आएक कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अन्तत: मुख खोलेका छन् । हिजो सार्वजनिक कार्यक्रममा उनले ज्ञानेन्द्रसँग संवैधानिक राजा बन्ने योग्यता नै नरहेको भन्दै कटाक्षपूर्ण टिप्पणी गरेका हुन् ।
पटक-पटक देशको प्रधानमन्त्री भैसकेका शीर्ष नेताले पूर्वराजालाई ‘भाइमारा’ करार गरिरहँदा प्रश्न उठ्छ- आफू सत्तामा पुगेको बेला ज्ञानेन्द्रलाई किन जेल नहालेको ? जवाफमा प्रचण्ड भन्छन्, ‘अहिलेको अराजक गतिविधि गराइरहने हो भने उनलाई गिरफ्तार गर्नुपर्नेसम्मको अवस्था आउछ ।’
त्यसो त, प्रधानमन्त्री ओलीले हरतरहबाट पूर्वराजालाई निगरानीमा राख्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको चर्चा छ । कतिसम्म भने, प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पूर्वराजा गणतन्त्रविरुद्ध सडकमा उत्रिएको अवस्थामा उनलाई पक्राउ गर्नेसम्मकाे छलफल भएको स्रोत बताउँछ । यहीबेला माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजामाथि तिखो टिप्पणी गर्दै उनलाई छाडा छोड्न नहुने कडा प्रतिक्रिया दिएका छन् ।
गएराती एक राष्ट्रिय टेलिभिजनमा लामो अन्तवार्ता दिदैँ उनले पूर्वराजा अहिलेकै ढंगबाट अघि बढ्न खोजेमा गिरफ्तार गर्नुपर्ने बताए । ‘त्यतिबेला राजनीतिक सम्झौताअनुसार उनलाई निर्मल निवास पठाइएको हो’, प्रचण्डले भनेका छन्, ‘तर अहिले जुन ढंगले अराजक गतिविधि अघि बढाइरहेका छन्, त्यो हेर्ने हो भने धेरै नपर्खी पक्राउ गर्नुपर्छ भन्ने मेरो विचार हो ।’
यद्यपि, पूर्वराजा ज्ञानेन्द्रसँग आफ्नो व्यक्तिगत रिसराग नभएको स्पष्ट पार्दै उनले अगाडि भने, ‘सरकारलाई मेरो आग्रह छ, यसरी छाडा छाड्नु चाहिँ हुँदैन ।' प्रचण्डले जनयुद्धको बेलामै ज्ञानेन्द्रलाई ‘भाइमारा’ भनेको स्मरण पनि गरेका छन् । अहिले पुनः दोहोर्याउँदा नयाँ पुस्ता सचेत बनेको उनको भनाई छ ।
‘ज्ञानेन्द्र पहिलोपल्ट राजा हुँदै गर्दा नै हामीले आर्टिकल लेखेका थियौँ, उनी नक्कली राजा हुन्, सक्कली राजा बन्ने कलाविहीन नाटक गरिरहेका छन् र उनीसँग राजा बन्ने कुनै विशेषता नै छैन भनेर’, प्रचण्डको भनाई छ, ‘दरबार हत्याकाण्ड कोतपर्वको नयाँ संस्करण हो, त्यहाँ ज्ञानेन्द्र नै रेगिसाइडल (राजमारा) र फेट्रीसाइडल (भाइमारा) हुन् भनेर त्यतिबेलै प्रयोग गरेका हौँ ।’
आफ्नो प्रधानमन्त्रीकालमा दरबार हत्याकाण्डको गम्भीर अनुसन्धान र छानविन गर्न आयोग गठन गर्ने तयारी गरेको पनि प्रचण्डले खुलाए । विस्तृतमा भने, ‘मैले सरकारबाट बाहिरिनुअघि कयौँ पटक नारायणहिटी पुगेर अवलोकन गरेर, त्यो घटनालाई नजिकबाट नियालेका व्यक्तिहरुसँग भेटेर गम्भीर र स्वतन्त्र अनुसन्धान तथा छानविनको लागि आयोग बनाउने तयारी चलिरहेको थियो । तर, राजनीति पनि त्यस्तै हुन्छ क्या फेरि, मलाई हटाइहालेँ । अर्को दलसँग मिलेर सरकार बनाउँदा काम नै गर्न गाह्रो हुने । त्यसैले अहिले म भनिरहेको छु, अब एकपटक हामीलाई ०६४ को मत दिनुस्, हामी हरेक काम स्वतन्त्र र निष्पक्ष ढंगले गछौँ ।’
‘ल मानौँ, ०८४ मा तपाईहरुले ०६४ जस्तै मत ल्याउनुभयो र तपाई प्रधानमन्त्री बन्नुभयो, के त्यसपछि चाहिँ तपाईले भाइमारा करार गर्नुभएको ज्ञानेन्द्रलाई जेल हाल्नुहुन्छ ?’, भन्ने प्रश्नमा प्रचण्डले पुनः दोहोर्याए, ‘यदि उनी (ज्ञानेन्द्र) अहिलेकै ढंगबाट अघि बढिरहने हो भने त्यतिबेला (०८४ सम्म) पनि पर्खिनु हुँदैन भन्ने मेरो मान्यता हो ।’
स्मरण रहोस्, लामो समयपछि आज प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच भेटवार्ता हुँदैछ । प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ताको प्रमुख एजेण्डा टिआरसीलाई बनाइए पनि पूर्वराजाको विषयमा महत्वपूर्ण छलफल हुने बुझिएको छ । राष्ट्रिय सहमतिको सरकारको समेत चर्चा चलिरहेको बेला तीन नेताबीचको भेटवार्तालाई चासोका साथ हरिएको छ ।
टिप्पणीहरू