गणतन्त्रवादी र राजावादीहरुबीच प्रतिष्ठाको लडाइँ

गणतन्त्रवादी र राजावादीहरुबीच प्रतिष्ठाको लडाइँ
सुन्नुहोस्

आगामी चैत १५ गते गणतन्त्र र राजतन्त्र पक्षधरहरुबीच राजधानीमा प्रतिष्ठाको लडाइँ हुने अवस्था देखिँदै छ । चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा बृहत जनसभाको तयारी गरिरहँदा राजावादी समूहले पनि सोही दिन राजधानीकेन्द्रित जनप्रदर्शन गर्न लागेको छ। 

पूर्वराजा ज्ञानेन्द्र शाहबाट ‘बक्सिस’ पाएको भनिएका पूर्व राष्ट्रिय पञ्चायत उपाध्यक्ष नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले उक्त दिन प्रदर्शनमा सहभागी हुन समर्थकहरुलाई आग्रह गरेको छ । संयोजक सुवेदीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘चैत १५ गते हुन लागेको विशाल जनप्रदर्शनमा देशभरका राजसंस्थावादी, हिन्दु अधिराज्यवादी तथा संघीयताविरोधी सर्वसाधारण, राजनीतिक पार्टी र समूहलाई साथ दिन हार्दिक अपील गर्दछु ।’

उता मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाई समूहले पनि सोही दिन राजसंस्था पुनस्थापनाको लागि तिनकुनेमा छुट्टै प्रदर्शन तथा सभा गर्ने तयारी गरेको छ । 

यता नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चाले यसअघि नै बृहत जनसभाको घोषणा गरेको थियो । प्रदर्शनीमार्गमा हुने प्रदर्शनमा चार दलका करिब एक लाख कार्यकर्ता राजधानी आउने मोर्चाको विश्वास छ । 

आगामी शुक्रबार राजधानीमा हुने विरो प्रदर्शनको आकलन गर्दै सुरक्षा निकायले पनि आन्तरिक तयारी थालेको छ ।

टिप्पणीहरू