प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्दैन : प्रचण्ड

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म बैठक चल्दैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले षड्यन्त्रको खेलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसैले जित्न नसक्ने टिप्पणी गर्नुभएको छ । आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अस्ति साँझको घटनापछि पुरानै ‘स्वर्ग र नर्क’ सन्दर्भ याद आएको बताउनुभयो । 

संक्रमणकालीन न्याय (टिआरसी) बारे छलफल भएकै दिन नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गर्नुले प्रधानमन्त्री ओलीको नियत प्रष्ट भएको प्रचण्डको भनाई छ ।

‘वास्तवमा नढाँटी भन्ने हो भने प्रधानमन्त्रीज्यूले टिआरसीबारे छलफल गर्नुपर्यो भन्दै पटक–पटक खबर गर्नुभएको थियो, मैले पनि ठिकै छ नि त, त्यसको बाँकी काम सकेकै राम्रो भनेर भेट्न गएँ’, उहाँले भन्नुभयो, ‘तर म उठेर हिँडेलगत्तै कुलमानलाई हटाउने निर्णय गर्नैपर्ने कुनै बाध्यता त थिएन होला, यसले मलाई फेरि उहाँको स्वर्ग र नर्क सँगै जाने कुराको याद आयो क्या !’

प्रधानमन्त्री ओलीले सुनियोजित रुपमै संयोग जुराएर आफूविरुद्ध गलत प्रचार होस् भन्ने उद्देश्य राखेको प्रचण्डको बुझाई छ । ‘म निस्किएलगत्तै त्यो निर्णय गरिनुले उहाँ (प्रधानमन्त्री)को नियत प्रष्ट भयो, फेरि एकपटक जालझेल र छलको गन्ध आएको महशुस भइरहेको छ’, उहाँले भन्नुभयो । 

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले ‘टिआरसीसँग कुलमान साटेको’ भन्ने आरोपको ठाडै प्रतिवाद गर्नुभएको छ । खण्डन गर्दै अघि भन्नुभयो, ‘त्योभन्दा बेइमानी र अपराधिक प्रचार अर्को के हुन सक्छ ?’

कुलमानको विषयमा प्रधानमन्त्री ओलीले संसदमा उपस्थित भएर स्पष्टीकरण नदिएसम्म बैठक नचल्ने उहाँको अडान छ । ‘प्रधानमन्त्री रोष्ट्रममा उपस्थित भएर जवाफ नदिएसम्म हाउस चल्दैन । प्रधानमन्त्रीले आएर स्पष्टीकरण दिनुपर्छ । त्यो स्पष्टीकरण चित्तबुझ्दो भए तुरुन्त बैठक सूचारु हुन्छ, नत्र उही जालझेलकै शैलीमा स्पष्टीकरण आयो भने चाहिँ आन्दोलन अघि बढ्छ’, उहाँले थप्नुभयो ।
 

टिप्पणीहरू