सम्झना छ, माओवादीले सिंहदरबार घेरेको ?

नागरिक सर्वोच्चता कायम गर्ने भन्दै ०६६ सालमा माओवादीले सरकारविरुद्ध एक लाख मान्छे काठमाडौँमा उतारेको थियो । जनयुद्धको रापताप र युद्धको धङधङी बोकेर सिंहदरबार घेर्न गाउँ–गाउँबाट आएका माओवादी कार्यकर्ताले तीन दिनसम्म सडकमा पलेँटी कसे, काठमाडौँ ठप्प भयो । तर, आन्दोलन सफल भएन । ‘सत्ता कब्जा’ नगरेसम्म आन्दोलनबाट पछि नहट्ने प्रचण्डको उद्घोषअनुसार झोलामा सातु–सामल हालेर काठमाडौँ छिरेका कार्यकर्ता निराश हुँदै गाउँ फर्किए ।
त्यसबेला प्रधानमन्त्री थिए माधवकुमार नेपाल । ०६४ को निर्वाचनमा दुई ठाउँबाट चुनाव हारेका उनी माओवादीकै समर्थनसहित संविधानसभामा पुगेका थिए । तर, उनी यस्तो जब्बर भइदिए कि प्रचण्डहरूको दाल गलेन । राजीनामा दिएर पनि सात महिनासम्म प्रधानमन्त्री भइरहने रेकर्ड माधवकै नाममा छ, जुन त्यतिबेलै बनेको हो । राज्य–सत्तामाथि नै चुनौती दिने हिसाबले शक्ति प्रदर्शन नभए पनि डेढ दशकको यो अवधिमा काठमाडौँमा धेरै आन्दोलन भइसकेको छ । सहकारी पीडित, मीटरव्याज पीडित, गुठी पीडित, शिक्षक महासंघ अहिले पनि सडकमै छन् । तर, चर्चामा छ– पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत–जुलुस । फागुन २५ गते पोखराबाट काठमाडौँ फर्किएका शाहलाई राजावादीले भव्य स्वागत गरेका थिए । एयरपोर्टदेखि जयजयकार गर्दै निर्मल निवाससम्म निकालिएको र्यालीमा हजारौंको उपस्थिति थियो । सम्भवतः ज्ञानेन्द्रले नारायणहिटी छोडेपछिको सबैभन्दा ठूलो भीड यही थियो ।
फागुन २५ को भीडले हौसिएका राजावादी थप आन्दोलनको तयारीमा छन् । पूर्वराजा शाहको रुचिअनुसार पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको आन्दोलन परिचालन समिति गठन गरिएको छ । ८६ वर्षे सुवेदीले राजसंस्था फर्काउने आन्दोलनको मोर्चा सम्हाल्ने जिम्मेवारी पाउँदा राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर बिष्टहरू भने रिसाएको अवस्था छ । जे होस्, ज्ञानेन्द्रलाई श्रीपेच पहिर्याएर गद्दीमा फर्काउने रणनीतिक उद्देश्यमा भने सबै कटिबद्ध देखिन्छन् ।
तथापि, कतिपय भन्दै छन्, ‘०६६ को माओवादी आन्दोलनजस्तै राजावादी आन्दोलन पनि फासफुस हुनेवाला छ । तर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दाँजेर हेर्दा त्यो घटना र आजको स्थिति उस्तै होइन । कुनै पनि घटनालाई शून्यमा होइन कि परिस्थितिको सापेक्षतामा हेर्नुपर्ने हुन्छ । अहिले बाह्य शक्तिको समर्थन नभईकन पूर्वराजा हौसिएका पक्कै होइनन् । जबकि माओवादीलाई त्यसबेला बाहिरको साथ थिएन । शान्ति प्रक्रियामा ल्याउन र सत्तामा पुर्याउनसम्म बोकेको भारत प्रचण्डलाई कमजोर बनाउने खेलमा लागिसकेको थियो । उग्रवादी कम्युनिष्ट उसलाई बोकिदिने अर्को शक्ति हुने कुरै थिएन । त्यसकारण आन्दोलन टाइँटाइँ फिस्स हुनु स्वाभाविक थियो । पूर्वराजा ज्ञानेन्द्रले ‘अब बेला आयो, मलाई साथ दिनुस्,’ भनेका छन् । श्रीपेच फुकालेको यत्तिका वर्ष बेला नआउने तर अहिले एकाएक बेला आयो भन्नुको कारण के होला ? कमल थापा र राजेन्द्र लिङदेनहरूकै बलमा राजसंस्था फर्किने विश्वास उनमा थियो भने १९ वर्षसम्म किन चुपचाप बसे ? अस्तिको जुलुसमा जसको फोटो देखाइयो त्यतैको धापबिना ज्ञानेन्द्रले शक्तिमा फर्किने रहर गरेको विश्वास स्वयं राजावादीले गरेका छैनन् ।
टिप्पणीहरू