गर्भवती श्रीमतीको हत्यापछि शव पुर्न जेसिबीको प्रयोग

गर्भवती श्रीमतीको हत्यापछि शव पुर्न जेसिबीको प्रयोग

गर्भवती श्रीमतीको हत्यापछि जेसिबीले शव पुरेका श्रीमानलाई सार्वजनिक गरिएको छ । फाकफोकथु–३, सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय, इलामले आज सार्वजनिक गरेको छ । दोस्रो विवाह गर्ने उद्देश्यले अर्कै युवतीसँग सम्बन्ध राखेका गिरीले श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुुलेको बताइन्छ । 

अर्कैको मायाजालमा परेपछि प्रसूतिअघि श्रीमतीको हत्या गरिनु गम्भीर अपराध भएको प्रहरीले बताएको छ । गिरीले १९ वर्षीया गर्भवती श्रीमती विमला कट्टेलको फागुन २९ गते हत्या गरेका थिए । हत्यापछि फाकफोकथु–२, धार्ने खोपको दाहाल गोलाइमा आफैंले चलाउँदै आएको जेसीबीले खाल्डो खनेर पुरेका थिए । 

तर श्रीमती फागुन २९ गतेदेखि हराएको भन्दै चैत १ गते गिरी आफैंले र माइती पक्षबाट खोजीका लागि निवेदन दिएपछि शंका गर्दै प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट उनैले श्रीमतीको हत्या गरेको खुलेको प्रहरी उपरीक्षक एकनारायण कोइरालाले बताए । 

कट्टेलको शव धरानस्थित विपी मेमेरियल अस्पतालमा पोष्ट मार्टमका लागि पठाइएको छ । वैदेशिक रोजगारीका लागि प्रक्रिया मिलाउन काठमाडौं बस्छु भन्दै आएका उमेश इलाममै बस्दै आएको पनि खुलेको छ । विमलालाई डाक्टरले भोलि बच्चाको जन्म हुने समय दिएका थिए । 

विमलाकी सासु कुमारी गिरीले फागुन २३ गते बिर्तामोडको बज्रङ्ग मेडिकलमा जचाएर ल्याएकी थिइन् । त्यसबेला डाक्टरले चैत १८ गतेको डेलिभरीको मिति  दिएको परिवारले बताएका छन् । यता उमेश भने काठमाडौंमा रहेको बताउँदै श्रीमतीको सम्पर्कमा नआई सोही पालिकामा जेसिबी चलाइरहेका थिए । 

फागुन २९ गते राति घरबाट श्रीमतीलाई ल्याएर कञ्चटमा हिर्काएपछि भुइँमा लडेर छटपटाउन थालेपछि घाँटी थिचेर उनको हत्या गरेको गिरीले प्रहरीसँग साबिती बयान दिएका थिए ।

टिप्पणीहरू