असईमा बढुवा भएपछि मुद्दा दायर

नेपाल प्रहरीका एक प्राविधिक सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको सञ्चार शाखामा कार्यरत असई श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको हो ।
उनले सेवा प्रवेश गर्दा पेश गरेको एसएलसीको प्रमाणपत्र नक्कली रहेको अख्तियारको आरोप छ । अख्तियारका अनुसार गिरी २०५७ फागुन ११ गते प्रहरी सेवाको जवान पदमा भर्ना भएका थिए । हाल बढुवा भएर प्राविधिक असईमा कार्यरत रहेका उनले जवान पदमा भर्नाको क्रममा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा पाइएको हो ।
नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा नियुक्त भएर लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय हुन मागदाबीसहित गिरीउपर आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू