पन्ध्र गतेको घटना छानविन गर्न माग गर्दै प्रदर्शन

पन्ध्र गतेको घटना छानविन गर्न माग गर्दै प्रदर्शन

दुइजना निहत्था नागरिकको ज्यान जानेगरी भएको तीनकुने घटनाको सत्यतथ्य छानविन गर्न माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सडकमा उत्रिएको छ । 

चैत्र १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा राजा फर्काउन आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट मच्याएको उक्त प्रकरणमा राज्य पक्षलाई जिम्मेवार ठहर्याउँदै आएको राप्रपाले आज काठमाडौँमा दबाबमूलक प्रदर्शन गरेको हो । सुन्धाराबाट भर्खरै निस्किएको जुलुसमा पार्टीका शीर्ष नेता सहभागी छन् । 

राप्रपाले तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने, तोडफोड गर्न उक्साएको आरोपमा समातिएका नेता रविन्द्र मिश्र र डा.धवल शमसेर राणालगायत सबैलाई तत्काल छोडनुपर्ने, मृतकहरुलाई शहीद घोषणा गर्नुपर्नेजस्ता माग राखेको छ । आज प्रदर्शनका क्रममा पनि सो पार्टीका कार्यकर्ताले त्यस्तै नारा लगाए । 

'मृतकलाई शहीद घोषणा गर' प्लेकार्ड बोकेका उनीहरुले 'नागरिक स्वतन्त्रता कायम गर' लेखिएको कालो ब्यानर प्रदर्शन गरेका छन् । 'श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव जय नेपाल', 'सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा गर', 'गल्ती लुकाउने गृहमन्त्री राजीनामा दे' लेखिएका प्लेकार्ड र ब्यानर पनि देखाइएको छ ।

सुन्धाराबाट शुरु भएको र्याली न्युरोड, रत्नपार्कस्थित शान्तिवाटिका पुगि कोण सभा गर्ने बुझिएको छ । प्रदर्शनमा राप्रपाका पूर्वअध्यक्ष तथा संसद पशुपति शमशेर जबरा, प्रवक्ता मोहनकुमार श्रेष्ठ, वाग्मती प्रदेश इञ्चार्ज विक्रम थापा, नेता ध्रुवबहादुर प्रधान, काठमाडौँ अध्यक्ष नवराज सिम्खडा, पूर्वमन्त्री जगत गौचन, शाही युवाशक्तिका सदस्य अमित थापालगायतको सहभागिता रहेको छ ।
 

टिप्पणीहरू