उतिबेलै यति भयंकर प्रेमको उन्माद

उतिबेलै यति भयंकर प्रेमको उन्माद

कादम्बरी देवी बंगाली संगीतका महारथी जगमोहन गंगोपाध्यायकी नातिनी हुन् । सन् १८६८ मा ज्योतिन्द्रनाथसित बिहे हुँदा मात्र ९ वर्षकी थिइन् भने ज्योतिन्द्र १९ वर्षका लक्का जवान थिए । नाटक लेख्थे, संगीत भर्थे, चित्र कोर्थे र पत्रिका सम्पादन गर्थे । काममा निकै व्यस्त हुन्थे, पत्नी कादम्बरी बच्ची नै थिइन् । ज्योतिन्द्रका भाइ अर्थात् कादम्बरीका देवर रवीन्द्रनाथ ७ वर्षका थिए । उमेरमा समानता भएकैले कादम्बरी र रवीन्द्र सँगसँगै खेल्थे । उमेर सानो भए पनि रवीन्द्र भाउजू कादम्बरीप्रति शुरुदेखि नै आशक्त थिए । एक रवीन्द्रको जन्म कोलकाताको बेश्याबजारमा भएको र अर्को कादम्बरीप्रतिको आशक्तिले ८ वर्षकै उमेरमा कविता कोर्न र साहित्य सिर्जना गर्न थाले । त्यसैले शुरुका कवितामा ‘प्रेम’ स्पष्ट झल्केको थियो । कोरेका कविता पहिला उनैलाई सुनाउँथे । शुरुमा कादम्बरीमा काव्यको चेत थिएन तर बाजेबाट संगीत भने सिकेकी थिइन् । त्यसैको आधारमा रवीन्द्रको कवितामाथि प्रतिक्रिया दिन्थिन् । रवीन्द्र पनि कादम्बरीको प्रतिक्रिया सुनेर कवितालाई परिमार्जन गर्थे । उनीहरू सँगै खेल्थे, नदी किनारमा घुम्न जान्थे, एउटै घोडा चढेर डुल्थे ।

कादम्बरी बिहे गरेर ठाकुर परिवारमा प्रवेश गरेको बेला अनपढ थिइन् । ज्योतिन्द्रले पढाए । लेखपढ गर्न जान्ने भएपछि कविता र नाटक पढ्ने सोख बस्यो किनभने ज्योतिन्द्र नाटक लेख्थे भने रवीन्द्र कविता । सँगसँगै खेल्दै जाने क्रममा कादम्बरी पनि रवीन्द्रसँग नजिकिन र उनका कवितामा स्वतः रमाउन थालिन् । रवीन्द्रको कविता बडो ध्यान दिएर सुन्थिन् अनि लेख्दै जान प्रेरित गर्थिन् । एकदिन रवीन्द्र कादम्बरीलाई बंकिमचन्द्रको साहित्यिक उपन्यास ‘विषवृक्ष’ को एक अंश सुनाउँदै थिए । अत्यन्त गर्मी थियो । रवीन्द्र पसिना काढ्दै पढ्दै थिए, कादम्बरीले रवीन्द्रको पसिना बगाइ हेर्नै सकिनन् र नजिक गएर हातेपंखा चलाउँदै साहित्य सुन्न थालिन् । एकपटक ज्योतिन्द्र कादम्बरीलाई लिएर कोलकाता बाहिर हिँडे । कादम्बरीको अनुपस्थिति रवीन्द्रलाई निकै खल्लो लाग्यो । उनी हरेक दिन साँझपख छतमा ओहोरदोहोर गर्थे । एकसाँझ ब्याकुल मनले लेखे ‘...गयो, सबै गयो । हृदयलाई चोट पु¥याएर, कुल्चेर गयो । अब कुरो गर्न, गीत गाउन कोही रहेन । म त्रसित आँखाले उसलाई हेरिरहेँ । उसले मलाई आफूसँगै लगेन, पुरानो च्यातिएको र मैलो लुगासरह मलाई फ्याँकेर गयो ।’

उनले दुःखी र निरास भई अर्को कविता लेखे ‘असहनीय प्रेम ।’ उक्त कविताको भाव यस्तो थियो – ‘जब शरीरको ढोकामा तिम्रो रूपसित मन जुध्न पुग्छ, तब तिमी मुन्टो बटारिदिन्छौ । यति ठूलो ज्यादती (अनुचित व्यवहार) सायद तिमीलाई मन पर्दैन होला, तिमीलाई मेरो त्यो प्रेम मन पर्दैन होला, जुन सम्पूर्ण रूपमा आफूमा हराएर तिमीमा विलीन हुन चाहन्छ । जुन अनन्त र अतृप्त प्यासले मरुभूमिमा डुलिरहेको छ, जहाँ आँखाबाट अनन्त जलधारा बगिरहेको हुन्छ र दुःखले भरिएको ‘आह’ (व्यथा) खैलाबैला मच्चिरहेको हुन्छ ।’ निकै दिनपछि कादम्बरी घर फर्किन् । रवीन्द्रले उक्त कविता पढ्न दिए । कविता पढेर कादम्बरी धुरुधुरु रोइन् । रवीन्द्र आफैँ भन्थे– ‘१३ र १८ वर्षको उमेरमा लेखेको ‘सानो छँदाको गीत’ कादम्बरीको छेउमै बसेर लेखेको हुँ । त्यसमा उनले देखाउने गरेको मप्रतिको स्नेहलाई पद्यमा उतारेको हुँ ।’

घरमा रवीन्द्र र कादम्बरीको सम्बन्धबारे सबैले थाहा पाइसकेका थिए । कूलको इज्जत जाने डर ठाकुर देवेन्द्रनाथलाई भयो । र, उनले यसबाट छुट्कारा पाउने एक मात्र विकल्प छोरा रवीन्द्रको बिहे देखे र सन् १८८३ मा मृणालिनी देवीसित जुराइदिए । त्यसबखत रवीन्द्रको उमेर २२ थियो भने मृणालिनी मात्र ११ की । मृणालिनी निरक्षर र राम्री पनि थिइनन् । बिहेपछि देवेन्द्रनाथले उनीहरूलाई अन्तै बस्ने व्यवस्था मिलाइदिए । कादम्बरीका निम्ति रवीन्द्रको बिहे अप्रत्याशित थियो । उनले बिहे हुनै नदिने कोसिस पनि नगरेकी होइनन् । उनलाई लाग्यो बिहेपछि रवीन्द्रसित सम्बन्ध टाढिँदै जानेछ । रवीन्द्र र कादम्बरी बस्ने घर एउटै कम्पाउण्डमा थियो तर बिहेपछि रवीन्द्र कोठाबाटै ननिस्कने भए । यसपछि कादम्बरीले आफ्नो व्यथा सुन्ने असल साथी गुमाएको महसुस गर्न थालिन् । जीवन एक्लोपनमा बित्न थाल्यो । दुःखी र अप्रसन्न देखिइन् । नभन्दै रवीन्द्रले बिहे गरेको चौथो महिना सन् १८८४ को अप्रिलमा टन्न अफिम सेवन गरी आत्महत्या गरिन् । त्यतिबेला २४ वर्षकी र निसन्तान थिइन् । 

कादम्बरीले रवीन्द्रको नाउँमा लामो सुसाइड नोट छाडेर गएकी थिइन् ।  ‘प्राणभन्दा प्रिय मेरो रवि’ भनेर सम्बोधन गरिएको पत्रमा कसरी मित्रता शुरु भयो, कसरी प्रेम प्रस्फुटन भयो र मृणालिनी देवीसित बिहे गरेपछि कसरी एक्लो बनियो, सविस्तार वर्णन थियो । ‘पहिला मैले पकाएको खाना मात्र मन पराउने, मसँग घुम्न रुचाउने तिमी अब टाढिँदै गयौ’ भनेर असन्तुष्टि पोखेकी उनलाई घरका सबै सदस्यले रवीन्द्रको बिहेपछि विक्षिप्त बन्न पुगेको त देखेका थिए तर आत्महत्याको ठोस कारण भने थाहा पाउन सकेका थिएनन् । कारण रवीन्द्रलाई थाहा थियो तर उनी चुप थिए । कादम्बरीको अप्रत्याशित मृत्युले रवीन्द्रको मन छियाछिया भयो । दुःखी र एकान्तप्रिय बने । धेरै समय उनको साहित्य सिर्जना ठप्पै भयो । पछि उनैलाई सम्झी पुष्पाञ्जली लेखे । कादम्बरीको सम्झना गर्दै मित्र सिएफ एन्ड्रयुजलाई पनि पत्र लेखे, ‘मेरी प्रिय कहाँ छिन् जो मेरो बाल्यकालको एक मात्र साथी थिइन्, जोसँग मैले युवावस्थामा सँगै सपना देख्ने गरेको थिएँ । उनी, मेरी रानी, मरिसकेकी छन् । मेरो संसारको ढोका बन्द भइसकेको छ, त्यो संसार जसले मलाई आन्तरिक सुन्दरता र स्वतन्त्रताको वास्तविक स्वाद पस्कने गरेको थियो ।’

यथार्थमा कादम्बरी शुरुदेखि नै ठाकुर परिवारमा खुशी थिइनन् । घरमा कुनै इज्जत थिएन किनभने उनी सोही परिवारको चौकिदारकी पुत्री थिइन् । लोग्ने ज्योतिन्द्र रंगमञ्चमै मात्र रमाउने, पत्नी र परिवारप्रति लगाव नै नराख्ने खालका थिए । त्यसमाथि उनको भाउजू (सत्येन्द्रनाथकी पत्नी) जनकनन्दिनीसित ‘सम्बन्ध’ थियो । एउटै उमेरका उनीहरू पढ्ने नाउँमा कोठाको ढोका थुनेर बस्थे, सँगै बाहिर घुम्न जान्थे । त्यसबाहेक ज्योतिन्द्रको नाट्यशालाकी एक कलाकारसित पनि ‘सम्बन्ध’ थियो । त्यसमाथि बिहेपछि रवीन्द्रको पत्नी मृणालिनीसितको घनिष्टतालाई कादम्बरीले पचाउनै सकेकी थिइनन् । रवीन्द्रको परिवार सामन्त थियो । बौद्धिक परिवार भएकाले बालविवाहको विरोध गर्ने सबै दाजुभाइले बालविवाह नै गरे । बुहारी कादम्बरीले आत्महत्या गरेको कुरा बाहिरकाले थाहा नपाउन् भनेर देवेन्द्रनाथले पत्रकारलाई पैसा ख्वाए, नोकरलाई चुप बस्न धम्की दिए भने दाहसंस्कारसमेत आफ्नै बगैँचामा गर्न लगाए । सुसाइड नोट पनि आगोमा जलाउन खोजेका थिए तर रवीन्द्रले यसो गर्न दिएनन् । धेरै वर्षपछि सार्वजनिक भएको उक्त नोटको छेउछाउ आगोले छोएको देखिन्छ । कादम्बरीको आत्महत्या र उनको सुसाइड नोटले मृणालिनीदेवीलाई पनि आघात पा¥यो । उनले कादम्बरीमाथि आफ्नो जीवन खराब पारेको आरोप लगाइन् । स्मरणीय छ, मृणालिनीले रवीन्द्रलाई ५ सन्तानको पिता बनाइदिएकी थिइन् ।

जे होस् रवीन्द्र उर्फ नोबल साहित्य पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरले कादम्बरीलाई जिन्दगीभरि बिर्सनै सकेनन् । उनको सम्झनामा धेरै काव्य सिर्जना गरे, उपन्यास लेखे । उनको जीवनमा कादम्बरीको महत्व २३ वर्षपछि मित्र अभिया चक्रवर्तीलाई लेखेको यो पत्रले पनि देखाउँछ, ‘...त्यो बेला म तिम्रै उमेरको थिएँ । बज्रपात सहनुपर्‍यो । म निकै दुःखी भएँ । एकदम नजिकको नातेदारले आत्महत्या गर्‍यो । बाल्यकालदेखि नै ऊ मेरो जीवनको आधार बन्दै आइरहेको थियो । उसको अप्रत्याशित मृत्युले म उभिएको जमिन धसियो, आकाश पूर्णतः अँध्यारो भयो । मेरो ब्रह्माण्ड पूर्णरूपमा रित्तियो, जीवनै खल्लो बन्यो ।’ 

विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक रवीन्द्रनाथ टैगोरको निधन सन् १९६१ मा ८० वर्षको उमेरमा भयो । उनको काव्य संग्रह ‘गीताञ्जली’ ले सन् १९१३ मा साहित्यको नोबल पुरस्कार जितेको थियो । उनी एशियाका प्रथम नोबेल पुरस्कार बिजेता हुन् ।

 

टिप्पणीहरू