धर्मको नाममा करोडौं कारोबार : न कर, न कानुन

पछिल्लो समय नाफामूलक संस्थामा धार्मिक–आध्यात्मिक संस्थाहरुलाई लिन सकिन्छ । विभिन्न भ्रम छरेर सोझालाई मात्र होइन, मै हुँ भन्नेहरुलाई समेत ठग्ने गरिएको छ । उद्योग वा कम्पनी नभई एउटा च्यारिटेबल ट्रष्ट खोलेर धर्म र अध्यात्मको नाममा करोडौं अर्बौं कमाउन सकिने धेरै तथ्यहरु बाहिर आइसकेका छन् ।
धार्मिकभन्दा पनि आध्यात्मिक गतिविधिबाट ज्यादाभन्दा ज्यादा मानिसहरु ठगिन पुगेका छन् । भारतमा ज्यानमारा, बलात्कारी, गुण्डा नाइके भनेर चिनिएका कथित बाबा, सन्त वा गुरुहरु उतैका जेलहरुमा हावा खाइरहेको थाहा पाउँदापाउँदै पनि यता नेपालमा उनीहरुको जयजयकार हुँदै आएको पाइन्छ ।
शिष्यहरुलाई ईश्वरसँग जोड्ने, साक्षात्कार गराउने र निश्चिन्त जीवन बिताउन पाइने भन्दै भक्तहरुबाट विभिन्न बहानामा धन कुम्ल्याउनेहरु भारतमा त छँदै थिए, त्यो रोग नेपालमा सरेको धेरै वर्ष भइसकेको छ । भारतमा कुनै एक गुरुलाई अपराधी ठहर गर्दै पक्राउ गर्ने क्रममा ती कथित गुरुका गुण्डा र सेनासमेत रहेको पाइएको थियो । ‘हाम्रा बाबा चमात्कारी हुनुहुन्छ, उहाँले छुनेबित्तिकै जुनसुकै रोग पनि निको हुन्छ’ भन्दै एजेण्टहरुमार्फत भ्रम छर्न लगाउने र सर्वसाधारणलाई फसाउने अनि विस्तारै उनीहरुको तन–मन–धन तानेको धेरै उदाहरण छन् ।
‘हाम्रा गुरुको चरण सारा देवीदेवताको बासस्थान हो’ भनेर कुप्रचार हुँदा अन्धभक्तहरु त्यतातिर मोडिएका छन् । परापूर्वकालदेखि मानिँदै आएका देवीदेवताहरुलाई छायाँमा पार्ने त्यस्ता पाखण्डीहरुको नेपालमा समेत राम्रैसँग व्यवसाय चल्दै आएको पाइन्छ । ‘काठलाई, फलामलाई, तामालाई सुनमा परिणत गर्ने क्षमता थियो हाम्रा गुरुमा’ भनेर मृतक कथित गुरुका बारेमा अनेक भ्रम फैलाउने क्रम जारी छ ।
अन्धभक्तहरुलाई त्यस्ता ठग गुरुको साँझ–बिहान घण्टौं भक्ति गर्न लगाउने र विभिन्न जन्तर–मन्तर बिक्री गर्न लगाउने गरेको यो लेखकको अध्ययनले देखाएको छ । एक कथित ठगी अखडाले स्त्रीलाई पुरुष र पुरुषलाई स्त्रीमा परिणत गर्ने मन्त्र एक हजार तीन सयमा बिक्री गरिरहेको छ ।
विश्वका विभिन्न मुलुकहरुमा समेत सञ्जाल फैलाएर ठगी खाने कथित आध्यात्मिक गुरुको कमी छैन यहाँ । केही वर्षअघि छ करोड अनुयायी भएका एक कथित गुरु जो बलात्कारी र हत्यारासमेत भनिएको थियो, उनलाई पक्राउ गर्न भारत प्रहरीलाई हम्मेहम्मे पर्यो । त्यस्तै भारतमा महिनामै करोडौं डलर कमाउने गुरु वा बाबाहरु पनि नभएका होइनन् । कोही स्त्रीलम्पट त कोही हत्यारा अनि कोही धोकेबाज बाबाहरुको फन्दामा परेर भारतीय र नेपालीहरुले आफ्नो सर्वस्व सिध्याएका छन् ।
गेरुवस्त्रधारी होस् वा अन्य वस्त्रधारी, आश्रम वा धाम खोलेर ठगीधन्दा शुरु गरेका छन् । एक एजेण्टले कुनै एक जनालाई ‘हाम्रो आश्रममा आउनुस्, फलिफापै फलिफाप प्राप्त गर्नुस् !’ भनेपछि यो कुरा सुन्नेले अरुलाई पनि बताउँदै जान्छन् । एकपछि दुई, दुईपछि चार हुँदै हजारौँ अन्धभक्तहरु त्यहाँ पुग्छन् ।
केही महिनाअघि भारतमा ‘म भगवानहरुको पनि भगवान हुँ’ भनेर प्रवचन दिएपछि भागदौड मच्चिदाँ ६० जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, अहिले नेपालमा पनि आफूलाई भगवान भन्न रुचाउने र त्यसका लागि विभिन्न दलालहरु नियुक्त गरेर प्रचारप्रसार गर्नेको संख्या थुप्रै छ । कवच, औँठी, माला र अन्य गरगहना भिडेर आश्रम वा धामहरुको मनग्यै आम्दानी हुने कुरा विभिन्न अध्ययनले प्रष्ट पार्दछ ।
गुरुको फोटो वा आश्रमको लोगो छापिएका झोला, ज्याकेट, टोपी, भेस्टहरुको व्यापार पनि मज्जाले चलेको छ । कथित गुरुका नाममा चल्ने एउटा समूहको आम्दानी बढ्न थालेपछि त्यो समूह फुटेर धेरै टुक्रामा विभाजन हुने गरेको पनि पाइएको छ । भनिन्छ नि,‘धन भनेपछि महादेवको पनि त्रिनेत्र खुल्छ ।’
यस्ता कथित वा पाखण्डीका संस्थाहरुले करोडौं अर्बौं आर्थिक कारोबार गरेपनि सरकारले यसतर्फ ध्यान दिने गरेको छैन । उल्टै नेताहरु यस्ता बाबा वा गुरुको शरणमा गएर चरणमा परेर रुद्राक्ष माला पहिरिएर बाबासँग संयुक्त फोटो खिचाएका केही समाचारहरु विगतमा प्रकाशन भइसकेका छन् ।
गौतम बुद्धभन्दा म ठूलो भन्ने एकजना दश करोड धरौटीमा छाडिएका छन् भने अर्का बलात्कारी गुरुलाई पनि झिनो धरौटीमा छाडेर आफ्नो धन्दा चलाउन दिइएको छ । यस्तै कोटीहोम र महायज्ञको नाममा सञ्चालन गरिने कार्यक्रमहरुमा अपराधी ठहर भइसकेका पण्डितलाई पनि वाचक बनाइएको हुन्छ । कोटीहोम वा महायज्ञमा उठेको अधिकांश रकम ती वाचक वा पण्डितले लगेपछि आयोजकहरु ‘घाटा लाग्यो’ भन्दै मिडिया गुहार्छन् । विद्यालय, कलेज स्थापना गर्न र अन्य सामाजिक कार्यका लागि गरिने त्यस्ता कोटीहोम र महायज्ञ कार्यक्रमबाट उद्देश्य प्राप्त नभएपछि आयोजकहरु जिल्लराम पर्छन् ।
कर नलाग्ने
जतिसुकै कारोबार गरेपनि र जतिसुकै नाफाखोर भएपनि यस्ता धार्मिक वा आध्यात्मिक संस्थाहरुलाई करको दायरामा ल्याउने गरेको पाइँदैन् । यो सरासर सरकारको कमजोरी हो ।
फितलो कानुन
उजुरीका आधारमा यस्ता बाबा वा गुरुलाई कानूनी कठघरामा उभ्याउने प्रयास गरिन्छ । तर, आर्थिक चलखेलपछि बाबा वा गुरुलाई झिनो धरौटीमा छोड्ने गरिन्छ र पुनः सर्वसाधारणबाट धन कुम्ल्याउन दिइन्छ । एक हिसाबले भन्नुपर्दा यो धर्मको आडमा गरिने ठगी हो । यसको न्यूनिकरणका लागि कडा कानुनको खाँचो छ ।
नाम चलेका र ठूला भनाउँदा नेताहरु धार्मिक वा आध्यात्मिक गुरुको आश्रम धाउने गर्छन् । किनकि ती आश्रम भोट बैंकको रुपमा रहेका हुन्छन् । गुरु वा तिन मुख्य हर्ताकर्ताले शिष्यहरुलाई उर्दी जारी गरेपछि नेताले चुनावमा भनेबमोजिम उम्मेदवारलाई भोट दिनुपर्ने हुन्छ । आश्रमलाई आर्थिक लाभ बढी प्राप्त हुन्छ, उसैको पार्टीको उम्मेदवारलाई भोट दिइन्छ । यो रोग पनि भारतबाट नेपालमा सरेर आएको हो ।
काम ठग्ने, सामाजिक संस्था भन्ने
आध्यात्मिक संस्थाहरुले दुनियाँको आँखामा छारो हाल्नका लागि विद्यालय, क्याम्पस, अस्पताल पनि सञ्चालनमा ल्याएका हुन्छन् । जसले गर्दा संस्थाहरुप्रति अन्धभक्तहरुको भक्ति जोस अझै बढेर आउँछ । यस्ता संस्थामा ‘मुखमा रामराम बगलीमा छुरा’ भन्ने उखान चरितार्थ हुन्छ । एकातिर मीठा–मीठा वचन बक्ने र अर्कोतिर अनुयायीहरुबाट विभिन्न बहानामा घरिघरि तन–मन–धन तान्ने गरेको देखिन्छ ।
भारतका एक बाबाबाट आशिर्वाद लिएर आएपछि एक राजाको बंश नाश भएको थियो भने अर्का राजाको सत्ता नै खोसिएको थियो । त्यस्तै एक प्रधानमन्त्रीको पद पनि चिप्लिएको थियो । यति हुँदाहुँदै पनि कतिपय मानिसहरु त्यस्ता ढोँगी वा पाखण्डीका पछि लाग्न छोडेका छैनन् ।
आफ्ना बाउबाजेलाई नढोग्लान्, तर ती बाबा वा गुरुलाई दिनको कैयनचोटि ढोग्ने अन्धभक्तहरु बग्रेल्ती छन् यहाँ । कोही बाबा त कोही माता बनेर ‘डाक्टरले निको नपारेको रोग हामी पारिदिन्छौँ’ भन्दै कताकतै साइनबोर्ड समेत झुण्ड्याइएको पाइन्छ । भारतका केही बाबा वा गुरुहरु समय–समयमा लफडामा पर्ने गरेका छन्, कसै धरौटी बुझाएर छुटेका छन्, कोही अपराधी ठहर भएका छन्, कोही जेलको हावा खाइरहेका छन् त कोही जेलमै बसेर ग्रन्थहरु लेखिरहेका छन् । एक बाबाको पुस्तक भारतका हिन्दूवादीहरुले जलाइरहेका छन् भने नेपालमा त्यो पुस्तक विशेष छुट भन्दै बिक्री गरेर अपराधी सन्तको महिमालाई उचाइँमा पुर्याउन मरिहत्ते गरिएको छ ।
कुनै आध्यात्मिक संस्थाले ‘सम्भोग नगर’ भन्छ भने कुनै अर्कोले ‘सम्भोगलाई जोड देऊ’ भनेको हुन्छ । यसले यहाँ धर्मको नाममा बेथिति चलिरहेको पुष्टि हुन्छ । कोहीकोही अन्धभक्तहरु गृहस्थ जीवनबाट नै अलग भएझैँ देखाउँछन् । घर व्यवहार नै लथालिङ्ग पारेर कथित बाबाको घण्टौँ पूजा गर्ने अन्धभक्तहरु पनि यहीँ छन् भने तीर्थयात्राको नाममा चारखण्डी रकम असुलेर नाफा कमाउनेहरु पनि । आफ्नै किसिमले समूह बनाएर तीर्थयात्रा गर्दा रकम पनि जोगिने र स्वतन्त्र पनि हुने कुरामा त्यस्ता शिष्यहरुको ध्यान गएको पाइँदैन ।
‘हाम्रो गुरुले भनेको कुरा जे पनि मान्नु हाम्रो धर्म हो’ भन्ने अनुयायीहरुले ती बाबालाई गौरी–महादेव, राधा–कृष्ण, लक्ष्मी–नारायणलाई भन्दापनि माथिको भगवान मान्दै आएका छन् । खरिदबिक्री हुने धर्मको कुरा त एकातिर छ भने आफ्ना पितापुर्खाबाट चल्दै आएको धर्मलाई समेत छायाँमा पारेर त्यस्ता पाखण्डीहरुका पछाडि लागेर तन–मन–धन स्वाहा पार्नेहरुको आँखामा लागेको बाक्लो पट्टी कहिले खुल्ला ?
टिप्पणीहरू