कस्तो होला यो मायाँको संसार विचित्र

कस्तो होला यो मायाँको संसार विचित्र

चन्द्रबहादुर डांगी विश्वकै सबैभन्दा होचा मानिस हुन् । ५४ दशमलव ६ सेमी (१ फुट साढे ९ इञ्च) मात्र अग्ला । उनको निधन सन् २०१५ मा भइसकेको छ । डाँगी सल्यान जिल्लाका र ७५ वर्षको उमेरसम्म बाँचेका थिए । होचाको रेकर्ड यसअघि भारतका गुल मोहम्मदको नाउँमा थियो, ५७ सेमी अग्ला उनको निधन ४० वर्षको अल्पायुमै भएको थियो । होची महिलाको रेकर्ड ज्योति आम्गेले राखेकी छन् । उनको उचाइ ६२ दशमलव ८ सेमी अर्थात पौने २५ इञ्च छ । भारतको महाराष्ट्रको उनी अभिनेत्री हुन् । अहिले ३१ वर्षकी भइन् । नेदरल्याण्डकी राजकुमारी पाउलिन मुस्टर्स पनि ६१ सेमी (२४ इञ्च) मात्र अग्ली थिइन् । सन् १८७८ मा जन्मेर सन् १८९५ मा बितेकी उनी विश्वकै सबैभन्दा होची ज्योतिभन्दा १ दशमलव ८ सेन्टिमिटरकी थिइन् । 

अमेरिकामा जन्मेका चाल्र्स शेरवुड स्ट्राटोन पनि होचामध्येकै हुन् । सर्कसमा काम गरेर नाम र दाम दुबै कमाए । जन्मदा तौल ४ दशमलव १४ केजी थियो, ५ महिनामै ६ दशमलव ८६ केजी पुग्यो भने ६३ दशमलव ५० सेमी अर्थात २ फुट १ इञ्च अग्ला भए । यसपछि उचाइ बढेन । जब उनको पहिलो जन्मदिन आयो बाबुआमालाई हेक्का भयो कि छोरा त बितेको ६ महिनामा अलिकति पनि बढेको रहेनछ । उनीहरू हतास भएर डाक्टरकोमा पुगे । डाक्टरले अब उचाइ बढ्ने सम्भावना नभएको जानकारी दिए । सन् १८४२ मा चाल्र्स ५ वर्षको हुँदासम्म उचाइ मात्र १ इञ्च बढ्यो । तौल भने उत्ति नै । निकै नै होचा भए पनि सुरिलो स्वरले गाउँथे अनि राम्रोसित नाच्थे । उनमा अन्य शारीरिक कमजोरी भने केही थिएन जसको कारण पछि जनरल टम थम्ब (बूढीऔंला जत्रो) को नाउँले प्रख्यात हुन सके ।त्यसबेला अ मेरिकाको जम्माजम्मी जनसंख्या २ करोड थियो । उनी ती सबैलाई मनोरञ्जन दिलाउन सफल भए । त्यति मात्र होइन बेलायती महारानी भिक्टोरिया, फ्रान्सका सम्राट लुइ फिलिप, स्पेनकी महारानी इसाबेल (द्वितिया) र अमेरिकाका लोकपृय राष्ट्रपति अब्राहम लिंकनको मनपर्ने कलाकारसमेत बन्न सफल भए ।

पिटी बर्नम त्यसबेलाको प्रख्यात सर्कस कम्पनी जसको मालिक फिनेस टेलर बर्नमले पहिलोपटक चाल्र्सलाई देखेपछि उनलाई आफ्नो कम्पनीमा लिने निर्णयमा पुगे । उनलाई स्टेजमा खेलाउने सोचका साथ आमाबुबासित भेटे र हप्ताको ३ डलर दिने लोभ देखाए । सिकर्मी पेशा गरेर जेनतेन गुजारा चलाइराखेका चाल्र्सका बाबुले छिनमै ‘हुन्छ’ भनिहाले । यसरी ५ वर्षकै उमेरमा चाल्र्सले कमाउन थाले । पहिलोपटक आमासँग न्युयोर्क पुगे र बर्नम संग्रहालय छिरे, बर्नमकै परिवारसँग बसे । बर्नमले चाल्र्सलाई एकछिन् पनि छाड्दैनथे । उनलाई गीत गाउने तरिका सिकाए, जोक्स सुनाउने र नक्कल गर्ने कला सिकाए । स्टेजमा उतार्नु अगाडि बर्नम सानो चाल्र्सलाई काँधमा बोकेर पत्रपत्रिकाको ढोका चाहारे । पत्रिकाको कार्यलयमा पुगेर उनी चाल्र्सलाई काँधबाट यसरी उतार्थे कि मानौं एउटा सानो झोला हो । काँधबाट उतारेर टेबुलमा उभ्याउँथे । अनि चाल्र्स गीत गाउन थालिहाल्थे । यसैक्रममा एउटा पत्रिकाले उनको बारेमा यसरी लेख्यो– ‘संसारकै नमुना ।’

बर्नमले स्टेजमा उतार्नु अगाडि चाल्र्सको नाउँ राखिदिए– जनरल टम थम्ब । यो अंग्रेजी भाषाको प्रसिद्ध लोककथा टम थम्बको पात्रको नाउँ हो । पहिलोपटक न्युयोर्कको स्टेजमा उत्रँदा उनले भने ‘म हातको बूढीऔंला जत्रो मात्र छु तर तपाईंहरूलाई भरपुर मनोरञ्जन दिलाउन म पुरै हत्केला बराबरको छु । उनको यो भनाई दर्शकले औधी मनपराए र पहिलो शो सफल भयो । अब अमेरिकी जनता उनलाई हेर्न न्युयोर्कमा थुप्रिन थाले ।  मेयर फिलिप होनले भने कि ‘जनरल टम थम्ब साँच्चिकै सबै दर्शकले भन्ने गरेजस्तै एक प्रतिभाशाली, हँसिला र सुन्दर पुड्का हुन् । उनको हात आधा डलरको सिक्का जत्रो मात्र छ, खुट्टा ३ इञ्चभन्दा लामो छैन । हामी दुबैजना संगै बाटोमा हिंड्दा उनको टाउकोको कपाल पनि मेरो घुँडाभन्दा पनि तल थियो ।’ 

ब्यापारी बर्नम टमदेखि निकै खुशी थिए । टममार्फत मालामाल हुँदै थिए । त्यसैले केहीसमयपश्चात पारिश्रमिक हप्ताको ३ बाट बढाएर ७ डलर र फेरि एकैचोटी २५ डलर पु¥याइदिए । टम पनि प्रसन्न थिए । उनी धनी भइसकेका थिए । बर्नम टमलाई देखाएर पैसा सोहोर्न पल्किए । त्यसैले अमेरिकामा मात्र सिमित हुन चाहेनन् र युरोप घुमाउन थाले । सन् १८४५ मा टमले ब्रिटेनकी महारानी भिक्टोरियासमक्ष कला प्रस्तुत गरे । त्यसबेला उनको उमेर ६ मात्र पुगेको थियो । कला प्रस्तुत गर्नु अगाडि तात्कालिन ३ वर्षका युवराज, पछि सम्राट एडवर्ड (सातौं ) को नाउँले गद्दिसीनसित भेटेर फ्रान्स पुगे । त्यहाँ पनि शहरशहर गुमेर कला प्रस्तुत गरे । त्यहींबाट स्पेन पुगे । त्यहाँ पनि महारानी इसाबेलले दरबारमा कला देखाउन निमन्त्रणा दिइन् । उनको कलाबाट प्रसन्न भई टमलाई थुप्रै उपहार पनि दिइन् । ३ वर्षलामो युरोप भ्रमण निकै सफल भयो । स्वदेश फर्कन बन्दरगाह पुग्दा बिदा गर्न १० हजार मानिस जम्मा भएका थिए । उनले अमेरिका भरि घुमेर कला त देखाए नै युरोप पनि पटकपटक पुगे । अकुत सम्पत्ति कमाए ।

सन् १८६३ मा बर्नमले बिहे गराइदिए – लाभिनिया वारेनसंग । लाभिनिया अमेरिकी नै थिइन्, म्यासाचुसेट्समा जन्मेकी । २ फुट ८ इञ्च अग्ली । स्कूलमा पढाउँथिन् १६ वर्ष पुग्दा स्टेजमा कला देखाउन थालिन् । लाभिनिया र टम बिच २ वर्षको मात्र फरक थियो । बर्नमले टम र उनलाई सँगसँगै स्टेजमा उतार्न शुरु गरे । उनीहरूको बिहे भोजमा १० हजार जनालाई रात्रीभोज ख्वाइएको थियो । रात्रीभोजमा अर्का होचा कलाकार जर्ज वासिङटन मोरिसले कला देखाएका थिए । उनी पनि ७४ सेमी मात्र अग्ला थिए । बिहेलगत्तै होचा दम्पतिलाई राष्ट्रपति अब्राहम लिंकनले ह्वाइटहाउसमा स्वागत गरे । टम र लाभिनिया हनिमुन मनाउनेक्रममा घुम्दै भारतसम्म पुगेका थिए । टम पछि बर्नमको ब्यापारिक साझेदारसम्म बन्न पुगे ।

सन् १८८३ मा उनीहरू मिल्वाउकीको न्युहल हाउसमा बसिरहेका थिए । अचानक आगलागी भयो । उक्त दुर्घटनामा ७१ जनाको ज्यान गयो तर होचा भएकैले उनीहरू बचे । दुबैलाई म्यानेजरले काँधमा बोकेर उद्वार गरे । तर उक्त घटनामा बचेका टमको निधन ६ महिनापछि हृदयाघातबाट अचानक भयो । उनी ४५ वर्षका थिए । अन्त्येष्टीमा २० हजारको सहभागिता रह्यो । बर्नमले कम्पनीको परिसरभित्र टमको शालिक बनाइदिए । उनी बितेको ३५ वर्षपछि लाभिनियाको पनि निधन भयो । उनले टमको मृत्युपश्चात काउन्ट पृमो मार्गीसित दोश्रो बिहे गरिन् । टमले मृत्युको केही समयअघि पादरी अल्बानीलाई पत्र लेख्दै भनेका थिए– मैले आजसम्ममा ४० हजार २ सय् २५ किमी लामो यात्रा गरिसकें । यसक्रममा मैले लगभग २० लाख महिलाको चुम्बन लिएँ होला जसमा फ्रान्स, बेलायत, स्पेन र बेल्जियमका रानी, राजकुमारीहरू पनि थिए । टम कहिल्यै सन्तानको बाबु भने बन्न सकेनन् ।
 

टिप्पणीहरू