सचिवले राज्यमन्त्रीलाई हेपेपछि...
ऊर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा सचिव सुरेश आचार्यलाई लिखित स्पष्टीकरण सोधेका छन् । जलस्रोत तथा सिन्चाइ विभागले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि तामाङसँगै मञ्चमा अतिथिको आसन ग्रहणका लागि गरिएको आमन्त्रण अस्वीकार गरेपछि स्पष्टीकरण सोधिएको बताइन्छ ।
सोमबार आयोजित सिंचाइ दिवस तथा ७२ औं वार्षिक उत्सवको कार्यक्रममा मन्त्री जान नसक्दा राज्यमन्त्री प्रमुख अतिथि थिए । सो क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहमा आसनग्रहणका लागि बोलाउँदा बेवास्ता गरेर सचिव हलबाट बाहिरिएको राज्यमन्त्रीको आरोप छ । ‘विभागका महानिर्देशक सञ्जिव बरालले पटक–पटक आसनग्रहणका लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यकममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको,पदीय आचरण पालना नगरेको र पदीय गरिमा समेत कायम गर्ने नसकेको,’ अस्ति सोधिएको स्पष्टीकरणपत्रमा उल्लेख छ।
राज्यमन्त्री तामाङले नेपाल सरकारको सचिव पदको गरिमा र मर्यादालाई समेत धज्जी उडाउँदै कार्यकम बहिष्कार गरेको उल्लेख गर्दै सचिव आचार्यलाई अनुशासनको कार्वाही किन गर्नुनपर्ने हो ? भनेर सोधेका छन् । त्यस्तै सचिवको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएकाले कारबाही गर्न लागिएको उल्लेख छ । सचिव आचार्यलाई सोधिएको छ, ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ? २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्नुहुन ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालय र मुख्य सचिवलाई बोधार्थ दिइएको पत्रमा सचिवलाई राज्यमन्त्रीले निजामती सेवा ऐन २०४९ को दफा ४२(३) विपरीतको कार्य के कति कारणले गर्नुभएको हो ? आफू मातहतको विभागले गरेको कार्यक्रममा विभागीय राज्यमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भएकोमा पदीय आचरण विपरितको कार्य के कति कारणले गर्नुभएको हो ? भन्दै निजामती सेवा २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्ने ? भनेर सोधिएको छ ।

टिप्पणीहरू