वडाध्यक्षलाई कार्यवाहक दिने अध्यक्षमाथि अँकुश

वडाध्यक्षलाई कार्यवाहक दिने अध्यक्षमाथि अँकुश

मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णय कार्यान्वयनमा अदालतले रोक लगाइदिएको छ । उपाध्यक्ष गुणावती देवी थारुलाई पन्छाएर वडा नम्बर–३ का वडाध्यक्ष रमेशकुमार भगतलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले आदेश दिएको हो । कायम मुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अध्यक्ष माझीका नाममा आदेश जारी गरिदिएको छ । 

उनी चैत २६ गतेदेखि छिमेकी मुलुक चीन भ्रमणमा छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा (४)(क) मा अध्यक्ष वा प्रमुखको काम,कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ भन्ने प्रावधानको देहाय (१२) मा सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने उल्लेख छ ।

त्यसैगरी, सोही उपदफाको देहाय (ख)(२) मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने भनी उपाध्यक्षको काम,कर्तव्य र अधिकार तोकिएको छ । तर,अध्यक्ष माझीले व्यवस्थाविपरीत वडाध्यक्षलाई कार्यभार दिएपछि उपाध्यक्ष थारु अदालत पुगेकी हुन् । 

अस्ति दायर मुद्दाउपर हिजो भएको आदेशमा भनिएको छ,‘अतः प्रत्यर्थी गाउँपालिकाका अध्यक्ष मिति २०८१–१२–२६ बाट विदेश मुलुक चीन भ्रमणमा गई फर्कि नआउँदासम्म बहालवाला रिट निवेदनले अध्यक्षको कार्यभार सम्हाल्न पाउने नै हुँदा प्रत्यर्थी अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरेको च.नं.१९६९ मिति २०८१–१२–२५ को पत्र र सो सम्बद्ध निर्णयहरु कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

उपाध्यक्ष थारुका अनुसार अध्यक्ष ९ दिनका लागि चीन भ्रमणमा गएका हुन् । उनले ऐनविपरीत वडाध्यक्षलाई कार्यवाहक दिएकाले आफू अदालत गएको उल्लेख गर्दै थारुले जनआस्थासँग भनिन्,‘मैले दुईटा निवेदन दायर गरेकी थिएँ । अदालतले मेरो मागबमोजिम आदेश दिएको छ ।’


 

टिप्पणीहरू