दुर्गा प्रसाईका बडीगार्ड खोरभित्र पनि साथै !

दुर्गा प्रसाईका बडीगार्ड  खोरभित्र पनि साथै !

न सुरक्षा थ्रेट,न कुनै हैसियत ! तैपनि युट्युबरलाई आफूले चाहेअनुसार प्रश्न सोधाएर अन्तर्वार्ता दिएजस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बडीगार्ड राखेका थिए । दिपक खड्का नामक खाइलाग्दो ज्यानका युवकलाई अघिपछि हिंडाएर शान देखाउने रहर प्रसाईंले पूरा गर्दै आए । तर,उनै खड्का भने 'मालिक' को बदमासीको नराम्रो शिकार बनेका छन् । 

निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई दर्शन भेट गरेलगत्तै राजावादी आन्दोलनको जनकमाण्डर तोकिएका र चैत १५ गते तीनकुनेमा हिँसा मच्चाएर भागेका प्रसाईं १५ दिनपछि समातिए । फिल्डबाटै भागेर भारत पुगेका उनलाई भारतीय प्रहरीले हिजोराति आसामबाट नियन्त्रणमा लिई आज बिहान नेपाललाई बुझाएको हो । भद्रपुरबाट दिउँसो काठमाडौँ ल्याइएका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रसाईं १५ गते तीनकुनेमै पक्राउ परिसकेका थिए । तर,उनलाई प्रहरीबाट छुटाएर भगाउने काम उनै बडीगार्ड भनिएका खड्काले गरे । काठमाडौँबाट भाग्दादेखि भारतमा लुकेर बस्दासम्म एकछिन पनि साथ नछोडेका खड्का आज पक्राउ पर्दा पनि सँगै भए । जे-जस्तो भए पनि नुनको सोझो गर्न उनी नचुकेको यो एउटा उदाहरण हो । 

प्रहरीको आँखा छल्दै काठमाडौँबाट झापा पुगेर पारी छिर्न र सम्भावित खतराबाट जोगिन बडीगार्डको हैसियतमा उनले मोलेको जोखिम सामान्य छैन । प्रहरी स्रोतका अनुसार १४ दिनको यो अवधिमा प्रसाई लुकीलुकी प्रयागराज,राजस्थान र लखनउसम्म पुग्दा खड्का पनि सुरक्षाका लागि सँगै हिँडेका थिए । 

भारतको आसामबाट भद्रपुर हुँदै काठमाडौँ जिल्ला अदालतसम्म पुर्याउँदासम्म दुबै जना छुटेका छैनन् । बिहान बुद्ध एयरको जहाजमा सँगै राखिएको थियो भने काठमाडौँ प्रहरी परिसरमा पनि एकसाथ पुर्याइयो । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै म्याद थपको लागि पनि अदालतमा सँगै उपस्थित गराइयो । प्रहरी नियन्त्रणमा हुँदा पनि मालिकसँगै हिंड्न पाएका खड्कालाई कतिपयले 'बफादार कामदार' को संज्ञा दिएका छन् । 

त्यसो त,अंगरक्षक खड्कालाई प्रसाईले राम्रै तलब दिँदै आएको बताइन्छ । जानकारहरुका अनुसार खड्का पनि राजावादी नै हुन्,तर प्रसाईंजस्तो अराजक छैनन् । राजसंस्था पुनर्स्थापनाको पक्षमा भए पनि उनी तीनकुनेमा बवण्डर मच्याउन हुँदैन भन्नेमा थिए । प्रसाईले कहिलेकाहीँ अनौपचारिक संवादमा ‘मा...मु...’जस्ता अपशब्द प्रयोग गर्दा खड्काले नै सम्झाइबुझाई गर्थे । 

प्रहरीको तीन वटा टोलीले व्यापक खोजी गरिरहँदा पनि लुकाउनका लागि उनले सकेसम्म प्रयास गरे । तर,अहिले उनी प्रसाईसँगै हातमा हत्कडी लगाएर प्रहरी हिरासत पुगेको अवस्था छ । के अब हिरासतभित्र पनि प्रसाईं र बडीगार्ड खड्कालाई सँगै राखिन्छ ? भन्ने प्रश्नमा काठमाडौँ प्रहरी परिसरका प्रमुख (एसएसपी) विश्व अधिकारीको जवाफ छ, ‘त्यस्तो हुँदैन,छुट्टाछुट्टै राखेर अनुसन्धान गर्छौँ ।' 

उनका अनुसार अहिले हिरासतमा प्रसाई र खड्कालाई छुट्टछुट्टै राख्न पर्याप्त ठाउँ छ । ‘दुवै जना सँगै पक्राउ परेको हुनाले संयोग देखिएको हो,तर यहाँ (हिरासत)मा त्यो हुँदैन’, अधिकारीले जनआस्थासँग भने, ‘थुनुवाको स्पेस हामीसँग प्रशस्त छ, छुट्टाछुट्टै राखेका छौँ,बयान पनि छुट्टाछुट्टै हुन्छ ।’

टिप्पणीहरू