शिक्षकको मागमा समाजवादी मोर्चा सहमत
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित चार वामपन्थी दल सम्मिलित समाजवादी मोर्चाले तत्काल संसद्को विशेष अधिवेशन बोलाउन माग गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरु दश दिनदेखि राजधानी केन्द्रित आन्दोलनमा रहेकोप्रति ध्यानकर्षण गराउँदै मोर्चाले सरकारलाई विशेष अधिवेशन बोलाउन भनेको हो । संयोजक विप्लव सीले आज विज्ञप्ति जारी गर्दै सर्वदलीय सहमतिमा संसद्को विशेष अधिवेश तत्काल आह्वान गर्न अपिल गरेका गरेका छन् ।
‘शिक्षाको गुणस्तर विकास गर्न तथा शिक्षकहरुको हकअधिकारको पक्षमा उठाइएको आवाजलाई हाम्रो मोर्चाले सकारात्मक रुपमा लिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षालाई नयाँ दिशा दिने विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गराउन र त्यसका लागि सर्वदलीय सहमतिमा संसद्को विशेष अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग जोडदार अपिल गर्दछौं ।’
अध्यादेशमार्फत भएपनि विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्नेसहित २२ बुँदे माग राखी नेपाल शिक्षक महासंघको अगुवाईमा गत चैत २० गतेदेखि देशभरबाट काठमाडौँ आएका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् । जसका कारण एसईईको उत्तरपुस्तिका परीक्षण, विद्यार्थी भर्ना प्रक्रिया, नतिजा प्रकाशनलगायत काम रोकिएको छ ।
शुरुमा सरकारले पटक-पटक वार्तामा बोलाउँदा उधारो सम्झौता नगर्ने अडानमा बसेका शिक्षकहरु हिजो छलफलमा बसे पनि सहमति जुट्न सकेन ।
टिप्पणीहरू