झापा र पोखरामा पूर्वराजा र राजावादीहरुको कटाक्ष

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुमाथि जनता भड्काएर आफ्नो दुनो सोझो पार्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले झापाको दमकमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै गत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनलाई लक्षित गर्दै राजा फर्काउन हिँडेकाहरुले तमासा देखाएको बताउनुभयो ।
उहाँले जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्रलाई मौका मिलाएर फर्काउन खोजिएको उल्लेख गर्दै भन्नुभयो, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्यो ।’
ठूला परिवर्तन ल्याउ खोज्नेहरुले रक्सीका बोतल चोरेर भागेको, स्याउ चोरेको र औषधि कारखानामा आगो लगाएको भन्दै प्रधानमन्त्रीले उक्त प्रदर्शनमा सहभागीभन्दा पशुपतिका बाँदर नै राम्रो भएको कटाक्ष गर्नुभयो ।
एमालेले आज पोखरामा पनि त्यस्तै सभाको आयोजना गरेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तीनकुने घटनामा दोषी ठहरिए पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक सरह दण्डित गर्ने उद्घोष गर्नुभएको छ ।
उहाँले तीनकुने घटनाको सम्पूर्ण जवाफेही पूर्वराजा ज्ञानेन्द्र हुनैपर्ने जिकीर गर्नुभयो । भन्नुभयो, ‘तीनकुनेमा भएको सम्पूर्ण कामको जवाफदेही त्यसका योजनाकार पूर्वराजा ज्ञानेन्द्र थिए । उनलाई यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने जानकारी गराउन चाहन्छु ।’ उहाँले एउटा नागरिकले गलत काम गरेवापत दण्डको भागीदार भएझैँ उनले पनि दण्ड पाउनुपर्ने धारणा राख्नुभएको छ ।
टिप्पणीहरू