पार्टी सदस्यता त्याग्दै शिक्षकहरु

पार्टी सदस्यता त्याग्दै शिक्षकहरु

शिक्षा ऐन जारीको माग गर्दै १२ दिनदेखि आन्दोलनरत शिक्षकहरुको एक समूहले पार्टी सदस्यता जलाउने भएको छ । नयाँ वर्षको अवसर पारेर भोलि दिउँसो १२ बजे राजधानीको माइतीघर मण्डलामा पार्टीको सदस्यता जलाइने आयोजक स्वतन्त्र शिक्षक समूहले जनाएको छ । 

शैक्षिक क्षेत्रमा सुधारका लागि सो कदम चाल्न थालिएको समूहको जिकिर छ । ‘नववर्ष २०८२ को हार्दिक मंगलमय शुभकामनासहित शैक्षिक क्षेत्र सुधारका लागि विशुद्ध शिक्षक बन्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ वर्षदेखि विभिन्न नाम, उपनाममा आफूले लिएका जुनसुकै पार्टीका सदस्यता सडकबाटै त्याग गरेको घोषणासहित पार्टी सदस्यता जलाउने कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं’,सूचनामा उल्लेख छ । 

पार्टीबाट अलग हुने शिक्षकहरुको घोषणा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । शिक्षकहरुको सो निर्णयमा अधिकांशले समर्थन जनाएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता रमा सिंह लेख्छिन्,‘शिक्षक, कर्मचारी, डाक्टर, इञ्जिनियर, पत्रकारलगायत पेशाकर्मीहरु दलबाट अलग्गिनुपर्छ । उनीहरुको राजनीतिक विचार वा दल छनौट चुनावमा भोटमार्फत व्यक्त हुनुपर्छ त्यो पनि गोप्य रुपमा । शिक्षकहरुको एउटा समूहको यो प्रयास सही छ ।’

ओमकुमार सिटौलाले शिक्षकहरुको सो निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले लेखेका छन्,‘एकदम राम्रो, धेरै स्वागतयोग्य निर्णय ।’

टिप्पणीहरू