पुलमा भ्रष्टाचार, पूर्व प्रमुख प्रशासकीय अधिकृत संलग्न

बाजुराको त्रिवेणी नगरपालिकाका पूर्व दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारमा तानिएका छन् । पुल निर्माणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु तीर्थराज थापामगर र खगेन्द्र साउदसहित आठ जनाउपर मुद्दा दायर भएको छ ।
मुद्दा चलाइएकामा इन्जिनियर नविन साउद, सबइन्जिनियर राजेन्द्रबहादुर विक, असिन्टेन्ट सबइन्जिनियर राजेन्द्रबहादुर साउद, उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्बबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढा पनि छन् ।
आर्थिक वर्ष २०७४–०७५ र ०७५–०७६ मा त्रिवेणी नगरपालिका–५, स्थित किम्नी खोलामा ट्रस पुल निर्माण गर्दा उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ । अख्तियारका अनुसार जानीजानी गुणस्तरहीन काम गर्नुका साथै निर्धारित शर्त तथा मापदण्डविपरीत कार्य गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भेटिएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम चार लाख ३१ हजार ४८६ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना हुन मागदाबीसहित उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।
टिप्पणीहरू