न्यायाधीशलाई ‘पार्टीको झोले’ भन्ने रविकी ‘साइबर कमाण्डर’ लाई तीन दिने बाटोम्याद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी ‘साइबर कमाण्डर’ भनिएकी ज्वाला संग्रौलाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाशीशद्वय हरिप्रसाद फुयाँल र सारंगा सुवेदीको इजलाशले संग्रौलालाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
पार्टी केन्द्रीय सदस्यसमेत रहेकी संग्रौलाले समाजिक सञ्जालमा अदालतमाथि अस्वभाविक टिप्पणी गर्दै आएकी थिइन् । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलाशले लामिछानेलाई पूर्पक्षमा पठाउन आदेश दिएपछि उनले फेसबुकमा न्यायाधीशलाई ‘पार्टीको झोले’ विशेषण लगाएकी हुन् ।
समाजिक सञ्जालमा न्यायालयको छवि बिगार्न खोजेको भन्दै खुला विश्वविद्यालयका विद्यार्थी प्राज्वल केसीले संग्रौलाविरुद्ध अदालत अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए । आज प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले संग्रौलालाई अदालतको अवहेलना हुनेगरी उक्त अभिव्यक्ति दिनुको लिखित जवाफसहित तीन दिनभित्र उपस्थित हुन आदेश दिएको हो ।
संग्रौला लामिछानेकी पत्नी निकिता पौडेलले सञ्चालन गर्दै आएको नारी टिभीमा कार्यरत छिन् ।
टिप्पणीहरू