भक्तपुरमा राजनीतिक नाराबाजीमा रोक

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले राजनीतिक नाराबाजी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ । गत बिहीबारदेखि शुरु भएको प्रसिद्ध बिस्का (बिस्केट) जात्रामा राजनीतिक नाराबाजी वा गालीगलौज गर्नु कानुन र सम्पदाको मर्यादाविपरीत हुने बताइएको छ ।
सिडिओ कार्यालयले सभ्य रुपमा जात्रा सफल बनाउन आग्रह गर्दै जारी सूचनामा कसैले नाराबाजी वा गालीगलौज गरेमा कानुनबमोजिम कारबाही भोग्नुपर्ने चेतावनी दिइएको छ ।
‘विशुद्ध धार्मिक–सांस्कृतिक प्रकृतिको जात्रामा कुनैपनि राजनीतिक उद्देश्यले अभिप्रेरित भई नाराबाजी गर्नु, कसैप्रति लक्षित गरी राजनीतिक प्रकृतिका गालीगलौज गर्नु बिस्का जात्राको वैभवपूर्ण परम्परा र मर्यादाको प्रतिकूल विषय भएकोतर्फ सजग रहँदै कुनै व्यक्तिले कानुनविपरीत र सम्पदाको मर्यादाविपरीतका त्यस्ता कार्य गरेको पाइएमा सम्बन्धित निकायबाट कानुनबमोजिमको प्रक्रिया अगाडि बढाउने...’,सूचनामा उल्लेख छ ।
बिस्का एउटा विशिष्ट पहिचान बोकेको जात्रा हो । नेपाली नयाँ वर्षको अवसरमा मनाइने बिस्काका मुख्य आकर्षण रथयात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोहलाई मानिन्छ । जात्राको अवलोकन गर्न विदेशी पर्यटकहरु समेत पुग्छन् । नौ दिनसम्म मनाइने जात्रा वैशाख ५ गते औपचारिक रुपमा सम्पन्न हुन्छ ।
टिप्पणीहरू