शिकारीको गोली प्रहारबाट गोठालाको मृत्यु

शिकारीको गोली प्रहारबाट गोठालाको मृत्यु

कपिलवस्तुको गब्दहवा जंगलमा एक स्थानीयको मृत्यु भएको छ । शिकारीको गोली प्रहारबाट बुद्धभूमि नगरपालिका ९ गब्दहवाका २८ वर्षे समुन्द्र गाहा मगरको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणी अधिकारीका अनुसार घटनामा संलग्न रहेको आरोपमा राम बहादुर थारु, कालु भन्ने राम थारु र प्रवेश थारु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर सुनारको टोलीले पक्रेर उनीहरुमाथि थप अनुसन्धान थालेको छ । 

मगरका परिवारले बाख्रा चराउन जाँदा अज्ञात व्यक्तिले गोली हानेको शंकास्पद सूचना दिएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले अनुसन्धान गरेको बताइन्छ । प्रहरी निरीक्षक सुनारको कमान्डमा खटिएको टोलीले हिजो बुद्ध यशोधरा सामुदायिक वनमा सिकार खेल्दा मगरलाई गोली लागेको रहस्य पत्ता लगाएको हो ।

उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा घाइतेको मृत्यु भएको थियो । शिकार खेल्दै गर्दा सवारी साधनको आवाज सुनेपछि सिकार खेल्न गएका चार जना लुक्न खोज्दा रामबहादुर थारुले बोकेको राइफल पड्किएर मगरको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूबाट दुई नाल बन्दुकसमेत बरामद गरेको छ ।

टिप्पणीहरू