खेलकुदको मिति नतोके सडकमा जाने चेतावनी

खेलकुदको मिति नतोके सडकमा जाने चेतावनी

नेकपा एकीकृत समाजवादीनिकट नेपाल खेलकुद महासंघ समाजवादीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना मिति तत्काल तोक्न माग गरेको छ । 

जेठमा हुने भनिएको प्रतियोगिता नाटकीय ढंगले पुनः स्थगित गरिएको भन्दै महासंघले तत्काल मिति नतोके आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ । 

महासंघका अध्यक्ष अर्जुनभक्त राई र महासचिव अनिलकुमार रिजालद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारबाट विनियोजित बजेटलाई सुनियोजित रुपमा रकमान्तर गरी खेलकुदबाहेकका अन्य क्षेत्रमा खर्च गरी नाटकीय ढंगले प्रतियोगिता स्थगित गरेकोप्रति घोर भत्र्सना गर्दै प्रतियोगिताको मिति तोकी खेलकुद प्रतियोगिता तत्काल आयोजना गर्न सम्बन्धित निकायसँग माग गर्दछौं । हाम्रो जायज माग सरकारले यदि बेवास्ता गरेमा जस्तोसुकै कदम चाल्न पनि बाध्य हुनेछौं ।’ 

जेठमा मिति तोकिसकेको अवस्थामा विभिन्न बहाना पारी प्रतियोगिता नै अनिश्चिततर्फ धकेल्नु निन्दनीय रहेको उल्लेख गर्दै महासंघले प्रतियोगितामा सहभागी हुने सपना बोकेर बसेका खेलाडीमाथि सरकारले कुठाराघातको काम गरेकोसमेत बताएको छ ।

टिप्पणीहरू