शिक्षकहरुलाई जिम्मेवारी र दायित्वबाट च्यूत नहुन आग्रह

राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ । उनीहरुलाई कक्षा १० को उत्तरपुस्तिका जाँच्न र कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी हुन भनिएको छ ।
एसईई दिएका विद्यार्थीहरु नतिजा र कक्षा १२ का विद्यार्थीहरु परीक्षाको पर्खाइमा रहेको उल्लेख गर्दै बोर्डले पेशागत हकहितसँगै आफ्ना विद्यार्थीको भविष्यमाथि संवेदनशील र गम्भीर हुन शिक्षकहरुको ध्यानाकर्षण गराएको छ । बोर्डले शिक्षकहरुले पेशागत सुरक्षा र विद्यार्थीको अवसरलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएको छ ।
आज जारी विज्ञप्तिमा विद्यार्थीको गुणस्तरीय सिकाई उपलब्धिका लागि शिक्षकको पेशागत सुरक्षा र प्राज्ञिक उन्नयन तथा विद्यार्थीको अवसर र प्राथमिकता सँगसँगै जानुपर्ने उल्लेख छ । ‘आफ्ना आज्ञापालक विद्यार्थीको भविष्य एवम् प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात् गर्दै पेशागत उत्तरदायित्वकै रुपमा उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सदाझैं सहयोग र सहभागिताका लागि राष्ट्रिय परीक्षा बोर्डको तर्फबाट पुनः नेपाल शिक्षक महासंघ, विद्यालयका प्रधानाध्यापक तथा समग्र शिक्षक वर्गसँग हार्दिक अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, बोर्डले विद्यार्थीहरुलाई परीक्षाको तयारी नरोक्न सूचित गराएको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै मुलुकभरका शिक्षक गत चैत २० गतेदेखि राजधानी केन्द्रित आन्दोलनमा छन् । आन्दोलनको अगुवाई गरिरहेको नेपाल शिक्षक महासंघले माग सम्बोधन नभएसम्म उत्तरपुस्तिका नजाँच्ने र कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने घोषणा गरेको छ ।
टिप्पणीहरू