हिरासतमा रहेका धवल शमशेरमाथि षड्यन्त्र भएको दाबी
'राजसंस्था पुर्नस्थापनाको लागि संयुक्त जनआन्दोलन समिति'ले राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणाको उपचारमा सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाएको छ ।
समितिका प्रवक्ता स्वागत नेपालले आज एक विज्ञप्तिमार्फत् क्यान्सर पीडित राणाको उपचारमा सरकारले वेवास्ता गरेको दाबी गरेका हुन् । राणाको अवस्था गम्भीर बन्दै गएको र नियमित स्वास्थ्य परीक्षणको लागि भारतको मुम्बई जानुपर्ने भन्दै उनले मानव अधिकारकर्मी गुहारेका छन् ।
सरकार राणालाई ‘फ्लोअप’को लागि जान नदिने षड्यन्त्रमा लागेको उनको आरोप छ । ‘डा. धवलशमशेर राणा झुठो मुद्धामा फसाइएर क्यान्सरजस्तो गम्भीर रोगको उपचार नपाई पीडादायी अवस्थामा हुनुहुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको अवस्था गम्भीर रहेको कारण नियमित उपचार पूर्ववत् चिकित्सक र अस्पतालमै गराउने व्यवस्थाको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार समुदायसँग आवाज उठाइदिन आह्वान गछौँ ।’
त्यस्तै, तिनकुने गोलीकाण्डमा सरकारले ‘पानीमाथिको ओभानो’ बन्ने दुष्प्रयास गरिरहेको पनि विज्ञप्तमा दावी गरिएको छ ।
चैत १५ गतेको तिनकुने घटनाका नाइके एंव आन्दोलनका जनकमाण्डर भनिएका दुर्गा प्रसाई, राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री राणा लगायतका नेताहरु अहिले हिरासतमा छन् । आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्दमा राखिएको छ ।
टिप्पणीहरू