आशिकाले प्रहरीलाई आदेश दिएपछि...

आफूलाई सामाजिक अभियन्ता दाबी गर्दै आएकी आशिका तामाङले औपचारिक सरसफाई अभियान चलाएकी छैनन्, तर फोहोर गर्नेहरुको भिडिओ बनाएर सचेत गराउँदै आएकी छिन् । 

उनी कहिले पुलमूनि शौच गर्नेको भिडिओ बनाएर सञ्जालबाट सार्वजनिक गर्दिन्छिन् त कहिले सडकमा चुरोटको ठुटा फाल्नेलाई थर्काउँछिन् । सार्वजनिक विदाको दिन सरकारी गाडी चलाउनेलाई पनि उनले हायलकायल बनाउने गरेकी छन् । 

यसैबीच आज नेपाल प्रहरीका एक कर्मचारी आशिकाको ‘भिडिओ फन्दा’ मा परेका छन् । आर चौधरी नाम गरेका प्रहरीले गुट्खा खाएर खोल सडकमा फालेपछि उनले ‘अन द स्पट’ टिप्न लगाएकी हुन् । 

सार्वजनिक भिडिओमा ड्युटीमा खटिएका प्रहरीलाई बोलाउँदै उनी भन्छिन्, ‘तपाईले गुट्खा खाएर कहाँ फाल्नुभयो ? यो गुट्खा खाएर फाल्ने ठाउँ हो त ?’ जवाफमा ती प्रहरी केही बोल्दैनन् । तर, टाउको हल्लाउँदै ‘हैन’ को आशय व्यक्त गर्छन् । 

त्यसपछि आशिकाले सम्झाउँदै भन्छिन्, ‘यस्तो नेपाल प्रहरीमा जागिर खाएको मान्छेले गुट्खा खाएर बाटोमा फाल्छन् त ? आउनुस् टिप्नुस् ।’ ती प्रहरीले सडक बार नाघेर चुपचाप गुट्खाको खोल टिपेको भिडिओमा देख्न सकिन्छ । 

अन्त्यमा, आशिकाले तपाईको ‘चार पाँच वटा पकेट रहेछन् त, पकेटमा राख्नुस्’ भन्दै सुझावसमेत दिएकी छन् । केही महिनाअघि गौशाला क्षेत्रमा प्रहरीलाई ‘दलाल’ भन्दा आशिकाले करिब ११ दिन हिरासतमा बिताउनुपरेको थियो ।

 

टिप्पणीहरू