परीक्षा बोर्डले सरकार र शिक्षकलाई तीनदिन पर्खिने

परीक्षा बोर्डले सरकार र शिक्षकलाई तीनदिन पर्खिने

विद्यालय शिक्षा ऐनको मागसहित देशभरका शिक्षकहरु २० चैतदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । १७ औँ दिनसम्म आन्दोलनलाई निरन्तरता दिएका उनीहरु माग पूरा नभएसम्म सडक नछोड्ने अडानमा छन् । 

सरकारलाई थप दबाब दिन शैक्षिक हड्ताल घोषणा गर्नेसम्मको तयारी शिक्षकहरुको छ । एसइईको उत्तरपुस्तिका चेकजाँच नगर्ने, विद्यालय भर्ना अभियान र कक्षा १२ को जाँचमा सहभागी नहुने उनीहरुले चेतावनी दिइसकेका छन् । 

सरकारले शिक्षकहरुको माग सम्बोधनका लागि प्रभवकारी पहल गरेको छैन । जसका कारण आन्दोलन लम्बिँदै जाने र वैशाख ११ गतेदेखि शुरु हुने कक्षा १२ को परीक्षा प्रभावित हुनसक्ने खतरा छ । विद्यार्थी र अभिभावकहरु चिन्तामा परेका छन् । 

तर, राष्ट्रिय परीक्षा बोर्डले वैकल्पिक उपाय अपनाएर भए पनि १२ को जाँच गराउने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा भन्छन्, ‘सोमबारसम्म पर्खिन्छाै, त्यसपछि सिनारियो हेरेर निर्णय गर्छाै ।’

सरकार र आन्दोलनरत् शिक्षकहरु गम्भीर नबने लाखौँ विद्यार्थीको भविष्य जोखिममा पर्ने भएकाले दुवै पक्षलाई लचिलो भएर समाधान निकाल्न उनले आग्रह पनि गरेका छन् । 

‘जटिल परिस्थिति बन्दै गएको छ, सरकारले तत्काल शिक्षकहरुलाई घर फर्किने वातावरण बनाउनैपर्ने भएकाे छ’, शर्माले जनआस्थासँग भने, ‘शिक्षकहरुले पनि वार्षिक क्यालेन्डरको धज्जी उडाउनु भएन ।’

एक, दुई दिनभित्रै आन्दोलन रोक्नेगरी सहमति जुटाउन सरकार र शिक्षकहरुलाई उनले आग्रह पनि गरे । ‘अहिलेसम्म परिक्षाको मिति सारेका छैनौ, सोमबारसम्म पनि कुनै समाधान निस्किएन भने अल्टरनेटिभ सोच्नुपर्ने हुन्छ, त्यसकारण म दुवै पक्षलाई तत्काल वार्ताको माध्यमबाट सहमतिमा जान अपील गर्छु’, उनले भने । 

जारी आन्दोलनका कारण परीक्षा केन्द्र, केन्द्राध्यक्ष, प्रश्न पत्र लगाय पूर्व तयारीका काममा प्रत्यक्ष असर पुगेको शर्माले बताए । ‘परीक्षा एक-दुई हप्ता पछाडि सार्दा केही फरक पर्दैन भन्ने कुराहरु पनि सुनियो, तर यो गैरजिम्मेवारी कुरा हो, दुई दिन पर धकेल्दा पनि सोचेभन्दा बढी क्षति हुन्छ, प्राविधिक रुपमा पनि, शैक्षिक गुणस्तरीयतामा पनि’, उनले सुनाए ।

टिप्पणीहरू