केही नेता जाने,जथाभावी नगर्ने लिङ्गदेनको वाचा
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज मध्यान्ह आयोजना गर्न लागेको विरोध प्रदर्शनको अघिल्लो दिन गृह मन्त्रालयले चेतावनीपूर्ण सचेत गराएपछि अध्यक्ष राजेन्द्र लिंगदेनले प्रष्टोक्ति दिएका छन् । राप्रपाले राजधानीका निषेधित क्षेत्र तोड्ने तयारी गरेको खबर बाहिरिएसङ्गै गृह मन्त्रालयले हिजो साँझ प्रदर्शनमा अराजकता मच्चाउनेलाई कारबाहीको चेतावनी दिएको थियो ।
मन्त्रालयले राप्रपाको विरोध प्रदर्शनको क्रममा निषेधित क्षेत्र तोडिए कानुनअनुसार कारबाही हुने जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट प्रचलित कानूनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने पनि लेखिएको छ ।
यता लिंगदेनले आजको कार्यक्रममा सीमित नेताहरु मात्रै सहभागी हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा आजको आन्दोलन निरंकुशतन्त्रविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन रहेको उल्लेख गरेका छन् ।
लेखिएको छ, ‘सरकारी निरंकुशतन्त्रविरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरु मात्रै सहभागी हुनेछौं । वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो,हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ ।’
टिप्पणीहरू