बैंककमा जम्मा भए नेपाली साहित्यप्रेमीहरु

थाइल्याण्डको राजधानी बैंककमा नेपाली साहित्यप्रेमीहरुको भेला भएको छ । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित अन्तरसंवाद कार्यक्रममा विभिन्न मुलुकका नेपाली साहित्यप्रेमीहरुको उपस्थिति रहेको बताइन्छ ।
कार्यक्रममा धारणा राख्दै साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मानगरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए । त्यसैगरी, उनले साहित्यकारहरुलाई निरन्तर सिर्जनामा लागिरहन हौसला प्रदान गरे । ‘म्यान्माली नेपाली साहित्यकारले थाइल्याण्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनु, राम्रो गर्दै जानु यहीँ छ मेरो शुभकामना’,उनले भने ।
यता, थाई नेपाली ‘आदर्श’ पुस्तकालयका अभियन्ता राज पौड्यालले साहित्यिक भेटघाट प्रेरणादायी, भावनात्मक र स्मरणीय वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गरेका छन् । सो कार्यक्रमले सबैको मन जितेको उनको जिकिर छ । उनी भन्छन्,‘हामीहरु अत्यन्तै खुशी छौं । मदन पुरस्कार विजेता, वरिष्ठ साहित्यकार युवराज नयाँघरेज्यू हाम्रो कार्यक्रमको प्रमुख आकर्षण बन्नुभयो । उहाँको आत्मीयता, गहिरो चिन्तनशीलता र सरल व्यक्तित्वहरुको उपस्थितिले सबैले मन जित्यो ।’
कार्यक्रममा ‘मदर पुरस्कार’ विजेतासमेत रहेका नयाँघरेको पछिल्लो कृति ‘तनक्खा’ लाई केन्द्रमा राखेर चर्चा गरिएको थियो । ‘तनक्खा’ दक्षिणपूर्वी एशियाली मुलुक म्यान्मारका विभिन्न गन्तव्यहरुमा आधारित एक उत्कृष्ट नियात्रा संग्रह हो । कृतिमा म्यान्माली नेपाली, समाजको जीवन, सभ्यता, संस्कृति, धर्म, सार्वजनिक सरोकार र ऐतिहासिक पृष्ठभूमिकको सूक्ष्म र गहिरो चित्रण गरिएको छ ।
अशोक घिमिरे, दीपा राना, रीत निरौला गुरागाईँ, लोकेन्द्र ओली, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत भारती अधिकारी, तिलक पोखरेल, बिना ढकाल, करुणा भुजेललगायतको कार्यक्रममा सहभागिता थियो । सहभागीहरुमध्ये केहीले आफ्नो रचना पाठ गरेका थिए ।
टिप्पणीहरू