पार्टी स्थापना दिवसमा युवा जोश देखाउन एमालेको सर्कुलर

पार्टी स्थापना दिवसमा युवा जोश देखाउन एमालेको सर्कुलर

नेकपा एमालेले पर्सि ९ गते कम्युनिष्ट पार्टी स्थापनाको ७६औं दिवस र बैशाख ११ गते बृहत युवा सेलिब्रेशन मनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । बैशाख २ गते महासचिव शंकर पोखरेलको हस्ताक्षरमा पठाइएको अन्तरपार्टी निर्देशनमा सबै प्रदेश/जिल्ला/पालिका वा सोसरहका कमिटीलाई सक्रियताका साथ लाग्न भनिएको छ ।

यसबारे गत चैत २८ गतेको जुम मिटिङमा छलफल गरिएकाले कार्यक्रमलाई व्यवस्थित,व्यापक सहभागितामूलक बनाउँदै आवश्यक तयारीका लागि निर्देशन दिइएको छ । पार्टी स्थापना दिवस राजधानीमा नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिँदै छ । कार्यक्रममा उपत्यकामा रहेका पार्टी केन्द्रीय कमिटी सदस्यहरू,सल्लाहकार परिषदलगायत केन्द्रीय आयोग, विभागहरू,सम्पर्क मञ्च र काठमाडौं, ललितपुर,भक्तपुर जिल्ला कमिटी, मातहत कमिटी र विभिन्न पेशागत संगठनमा आबद्धहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

एमालेले नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु–याएका विशिष्ट व्यक्तिहरूलाई सोही दिन कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्दैछ ।  लालबहादुर विश्वकर्मा (कञ्चनपुर),रत्न शर्मा न्यौपाने (जाजरकोट, मरणोपरान्त),शोभाराम बस्नेत (दाङ),वाचस्पति देवकोटा (गोरखा),शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गरिने बुझिएको छ । पार्टी केन्द्रले प्रकाशन गरेको "सेल्टर’ नामक पुस्तक पनि सार्वजनिक गरिँदै छ । । उपत्यका बाहिर जिल्ला कमिटीहरुले आयोजना गर्ने कार्यक्रममा लोकतन्त्र अघि र पछिको नेपाली समाजको तथ्यगत तुलनात्मक विश्लेषण प्रस्तुत गर्न निर्देशन दिइएको छ ।

वैशाख ११ गतेको युवा सेलिब्रेशनलाई व्यापक युवाहरुको सहभागितामा सम्पन्न गर्नुपर्ने भनिएको छ । त्यसका लागि वडा र पालिकाबाट सहभागी हुनैपर्ने संख्या तोकिएको छ । जसअनुसार जिल्ला र प्रदेश कमिटीमा भएका ४० वर्ष मुनिका सदस्यहरू सबैलाई सहभागी गराईंदै छ ।

त्यस्तै स्थानीय जनप्रतिनिधिमा मेयर, उपमेयर,पालिका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्ष सबै,बाग्मती प्रदेशको हकमा २०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभामा पार्टीका तर्फबाट उम्मेदवार रहेका सबैलाई समेटिँदै छ । जनसंगठनहरूका केन्द्रीय कमिटी सदस्यहरू, महासंघहरूको घटक संगठनमा आबद्ध सदस्यहरू सबै, सम्पर्क मञ्चका सबै तहका कमिटीमा आबद्ध ४० वर्ष मुनिका सबैलाई सेलेब्रेसनमा सहभागी गराउनुपर्ने छ ।

ती युवाहरूलाई काठमाडौंसम्म ल्याउने र लैजाने कार्यको संयोजन पार्टी जिल्ला अध्यक्षहरूले गर्दैछन् । कतिपय वडामा तोकिएको युवा संख्या नपुगे सम्बन्धित पालिकाको अन्य वडाबाट पूर्ति गर्न सकिने तर तोकिएको कूल संख्यामा घटाउन नपाइने भनिएको छ । एमालेले अपानिमा लेखेको छ, ‘मुलुकलाई अस्थिरतामा लग्न खोज्ने, दशकौंको बलिदानी संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई चुनौति दिने, जनताका अधिकार खोस्न खोज्ने तत्वलाई फेरि टाउको उठाउन नसक्नेगरी पराजित गर्नुपर्ने छ ।’


 

टिप्पणीहरू