टाउकोमा पाँच टाँका,लगत्तै मुद्दा

टाउकोमा पाँच टाँका,लगत्तै मुद्दा

कबाडी संकलन केन्द्र हटाउने क्रममा हातपात र कुटपिट गरेको भन्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी र जनप्रतिनिधिविरुद्ध प्रहरीमा जाहेरी परेको छ । पीडित होसनारायण रायले जिल्ला प्रहरी परिसर, काठमाडौंमा नगर प्रहरी उपरीक्षक (एसपी) दिनेश अर्यालसहित पाँच जना र वडा नम्बर–३२ की वडा सदस्य हिरादेवी पोखरेलविरुद्ध जाहेरी दिएका हुन् । 

गत वैशाख ४ गते अर्यालको कमाण्डमा खटिएको टोलीले च्यासलस्थित कबाडी संकलन केन्द्र भत्काएको थियो । उनीहरुले अचानक भत्काउन थालेपछि होसनारायणले आफ्नो सामान हटाउने केही समय पर्खिदिन आग्रह गरेका थिए । 

टोलीले आग्रहलाई बेवास्ता गर्दै आफूमाथि लाठी प्रहार गरेको होसनारायण बताउँछन् । टाउकोमा पाँच वटा टाँका लगाएको उनले जनआस्थासँगको कुराकानीमा भने,‘त्यतिबेला घटनास्थलमा थिइन । म पुग्दा उहाँहरु धमाधम भत्काउँदै हुनुहुन्थ्यो । मैले नभत्काइदिन आग्रह गर्दागर्दै उहाँहरुले ममाथि लाठी प्रहार गरेकाले टाउकोमा पाँच वटा टाँका लगाउनुपरेको छ ।’

हामीले गरिखान नपाउने ? उहाँहरु दर्ता पनि गर्न मान्नुहुन्न । हामी भाडा तिरेर बसेका छौं । टोल विकासले केही भनेको छैन । महानगर अचानक आएर भत्काउँछ अनि रोक्न आग्रह गर्दा हात हाल्छ ।’

महानगरले कबाडी संकलन केन्द्रलाई दर्ता पनि नगरेको उनको गुनासो छ । अगाडि थपे,‘हामी पनि यही देशको नागरिक हो । हामीले गरिखान नपाउने ? उहाँहरु दर्ता पनि गर्न मान्नुहुन्न । हामी भाडा तिरेर बसेका छौं । टोल विकासले केही भनेको छैन । महानगर अचानक आएर भत्काउँछ अनि रोक्न आग्रह गर्दा हात हाल्छ ।’ हिजो बल्लतल्ल प्रहरी कार्यालय पुगेर जाहेरी दिएको उनले बताए । उनले आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न र उपचार खर्चको व्यवस्थापन मिलाइदिन माग गरेका छन् । 

जाहेरीमा भनिएको छ,‘निज दिनेश अर्यालको कमाण्डमा रहेका अन्य पाँच जना नगर प्रहरीले म निवेदकको टाउकोलगायत शरीरको विभिन्न भागमा ज्यान मर्नेगरी कुटपिट गरी बेहोस अवस्थामा पारेकोमा संघीय प्रहरी तत्काल आई म निवेदकलाई बेहोसी अवस्थामा उठाई काठमाडौं बानेश्वर सिभिल अस्पतालमा लगी उपचार गराउँदा म निवेदकको टाउकोमा टाँकाहरु लगाई तत्काल उपचार गरेकोमा ज्यान जोगिन गएको हो । अतः निज दिनेश अर्याल र हिरादेवी पोखरेलसमेतउपर हद म्यादभित्र कानुनी कारबाहीको लागि जाहेरी दरखास्त दिने नै हुँदा निजहरुका आक्रमणबाट मेरो जीऊमा लागेको घाउ,खात जाँच गराई पाउन यो निवेदन पेश गरेको छु ।’




 

टिप्पणीहरू