डाक्टरहरुको सहकारी दर्ता खारेजीको प्रक्रियामा
डाक्टरहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका–१० मा रहेको उक्त सहकारी संस्था दर्ता खारेजीका लागि निवेदन दिइएको छ ।
वि.सं.२०७७ देखि सञ्चालनमा आएको उक्त सहकारी पाँच वर्ष पूरा नहुँदै बन्द हुन लागेको छ । महानगरको सहकारी विभागले चिकित्सक श्रमिक सहकारी संस्थाले दर्ता खारेजीका लागि निवेदन दिएकाले संस्थासँग कुनै लेनदेन भए सम्पर्कमा आउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
‘नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड ०३/०७७/७८ का.म.पा–१० काठमाडौंले दर्ता खारेजी स्वीकृतिका लागि मिति २०८१–१२–०१ मा निवेदन पेश भएको एवं संस्थाको विनियमबमोजिम हाल संस्था सञ्चालनमा समेत नभएकोले उल्लिखित संस्था दर्ता खारेजी प्रक्रिया अघि बढाउनका निम्ति संस्थाले तिर्नुपर्ने दायित्व र उठाउनुपर्ने ऋणसहित बक्यौता भएमा कर्जा लिने वा बचत गर्ने व्यक्तिलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस विभागमा सम्पर्क राख्नुहुन सूचित गरिन्छ,’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।
टिप्पणीहरू