अधिकार खोज्दै सडकमा पुगेपछि कर्तव्य स्वाहा
भनिन्छ,‘अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटा हुन् ।’ अधिकार खोज्नेले आफ्नो कर्तव्य निभाउन पनि जान्नुपर्छ । कर्तव्य निर्वाह नगर्नेले अधिकार खोज्नु बेइमानी हुन्छ । यतिखेर मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक राजधानी केन्द्रित सडक आन्दोलनमा छन् । शिक्षा ऐन जारीको माग गर्दै चैत २० गतेदेखि आन्दोलन थालेका शिक्षकहरुले कक्षा १० को उत्तरपुस्तिका नजाच्ने र कक्षा १२ को परीक्षा नलिने घोषणा गरेका छन् ।
शिक्षकहरु विद्यालय फर्किन तयार नभएपछि सरकारले कक्षा १२ को परीक्षा सारेको छ । सारिएको मितिमा पनि परीक्षा हुने हो कि होइन ? भन्ने अन्यौलमा छन्, परीक्षार्थी । यता, अन्य कक्षाको पठनपाठन पनि प्रभावित बनेको छ । तत्काल पठनपाठन शुरु हुने कुनै संकेत देखिँदैन । वैशाख २ गतेदेखि भर्ना अभियान सुचारु हुनुपर्नेमा त्यो पनि रोकिएको छ । नयाँ कक्षामा भर्ना भएर अध्ययन थाल्नुपर्ने बालबालिकाको समय खेर गइरहेको छ ।
शिक्षकहरुले ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान लिएका छन् । आफ्नो हकअधिकारका लागि सडकमा उत्रिएका उनीहरुले विद्यार्थीको अधिकार मात्रै होइन्, आफ्नो कर्तव्य पनि बिर्सिएको विडम्बनापूर्ण अवस्था छ । सरकारी विद्यालयको अवस्थाबारे सबै जानकार नै छन्, त्यहाँ पढाइ कम र राजनीति बढी हुन्छ । त्यसैको असर यसवर्षको वार्षिक परीक्षामा पनि देखिएको छ । अधिकांश सरकारी विद्यालयको वार्षिक परीक्षाको नतिजा शून्य आएको छ । तर, शिक्षकहरु आफूबाट भएको कमजोरी स्वीकार्न भने तयार छैनन् ।
स्थानीय तहले लिने आधारभूत तहको परीक्षा (बिएलई) मा यसवर्ष अधिकांश विद्यालयको नतिजा शून्य छ । चितवनको भरतपुर महानगरपालिकाका तीन वटा र इच्छाकामना गाउँपालिकाको एउटा सामुदायिक विद्यालयका सबै विद्यार्थी कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएका छन् । यता, कपिलवस्तुको पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा पनि एक जना पनि पास भएनन् ।
सबै जना फेल भएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विद्यालयमा तालाबन्दीसमेत गरेका हुन् । अन्य धेरै विद्यालयको नतिजा पनि ‘शून्य’ आएको छ । शिक्षकहरु आन्दोलनमा हुँदा विद्यार्थीहरुले मौका परीक्षा दिन पाएका छैनन् । आफूले पढाएको विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकहरुलाई कुनै हीनताबोध नै छैन । विद्यार्थीको भविष्यप्रति उनीहरु अलिकति पनि गम्भीर देखिएका छैनन् ।
विद्यार्थीहरुको नतिजा शून्य आइरहँदा शिक्षकहरु सडकमा रमिता देखाइरहेका छन् । नाँचेर, गाएर उनीहरुले दिन कटाइरहेका छन् । शिक्षकहरुले गैरजिम्मेवारपूर्ण काम गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । शिक्षकमाथि आक्रोश पोख्नेहरु बढ्दै गएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता दिपेन्द्र कुँवरले आफ्नो छोराछोरी निजीमा पढाएर सरकारी विद्यालयलाई भताभुङ्ग बनाएर सडकमा रमिता देखाउनु राम्रो नभएको बताएका छन् ।
उनले लेखेका छन्,‘शिक्षकहरुको आन्दोलन किन ? निःशुल्क शिक्षा हुनुपर्छ भनेर हो ? हैन ! सरकारी स्कुललाई गुणस्तरीय बनाउनुपर्छ भनेर हो ? हैन ! सरकारी विद्यालयमा विद्यार्थीको संख्या थोरै भयो भनेर हो ? हैन ! सरकारी स्कुलमा राजनीतिकरण गर्नुहुँदैन् भनेर हो ? हैन ! सरकारी शिक्षकले प्राइभेट स्कुल खोल्नुहुन्न भनेर हो ? हैन ! शिक्षकले राजनीति गर्नुहुँदैन् भनेर हो ? हैन ! स्कुलमा राजनीति पार्टीको कार्यक्रम गर्न पाइँदैन् भनेर हो ? हैन ! सरकारी स्कुलमा विद्यार्थीभन्दा शिक्षक धेरै भयो भनेर हो ? हैन् ! ६० वर्ष उमेर पुगेका शिक्षकले अनिवार्य अवकाश हुनुपर्छ भनेर हो ! हैन । दुर्गम र विकट ठाउँमा शिक्षक, किताब र शैक्षिक सामग्री समयमा किन पुगेन भनेर हो ? हैन ! अनि के चैं हो त ?’
त्यसैगरी, सन्देशजंग बस्नेत भन्छन्,‘यहाँ भएकोमध्ये ९० प्रतिशतको छोराछोरीहरु प्राइभेट बोडिङ्ग, अमेरिका–अष्ट्रेलियातिर छन् ।’ त्यस्तै, अर्का एक जनाले गाउँका सरकारी विद्यालयमा विद्यार्थी फेल हुँदै, शिक्षक रमिता देखाउँदै भनेर कटाक्ष गरेका छन् । लेखिएको छ,‘गाउँका सरकारी विद्यालयमा सबै विद्यार्थी फेल हुँदै, शिक्षक बाटोमा जादू देखाउँदै । देशको शैक्षिक अवस्था सूर्य अस्ताउँदैजस्तै तलतिर खस्दै ।’
शिक्षकहरुको पाराले अब माध्यमिक शिक्षा पढ्नका लागि पनि विदेश नै जानुपर्ने अवस्था भएकोसम्म भनिएको छ । सामाजिक सञ्जालमा भेटिएको छ,‘प्लस टु सकेर विदेश जान बाध्य बनाए, अब फेरि १ देखि १२ पढ्न बाहिर नै जान बाध्य बनाउने भए ।’ कतिपयले विद्यार्थीको नभई शिक्षकको परीक्षा लिनुपर्ने माग गरेका छन् । विद्यालय बन्द गरेर सडकमा उत्रिने शिक्षकलाई निकालेर नयाँ भर्ती गर्नुपर्नेसम्मको माग उठेको छ ।
हाजिरी कापी बोकेरै सडकमा
कुनै पनि सरकारी कार्यालयको कागजात इजाजतबेगर परिसरबाहिर लैजान पाइँदैन । तर, कानुनको उल्लंघन गर्दै शिक्षकहरु हाजिरी कापी बोकेरै आन्दोलनमा होमिएका छन् । सामुदायिक विद्यालय सञ्चालनको जिम्मा पाएको स्थानीय सरकार स्कुलको सम्पत्तिको संरक्षण गर्न चुकेको छ । विद्यालय नजाने यद्यपि हाजिरी गरेर तलब भने खाइरहने शिक्षकहरुको नियत भएको प्रष्टै छ ।
आन्दोलनरत एक शिक्षकले भने,‘आन्दोलनमा आएपनि तलब त खानैपर्यो । त्यसैले हाजिरी कापी लिएरै आएका हौं ।’ यता, नेपाल विद्यालय कर्मचारी परिषद्ले चाबी बोकेर काठमाडौं आउन शिक्षकहरुलाई निर्देशन दिएको छ । सरकारी सम्पत्तिलाई व्यक्तिगतजस्तै गरेको भन्दै शिक्षकहरुको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता रबिन राना लेख्छन्,‘सामुदायिक विद्यालयको चाबी लिएर आन्दोलनमा आउन कसैले दिएको घर होइन् । धेरै घुर्की नलगाऊ ।’
त्यसैगरी, युवराज खनालले आन्दोलनको नाममा बेतिथि सिर्जना भएको बताएका छन् । ‘यो त सही कसरी होला र ? स्कुल कसको हो राम्रोसँग हेक्का राख्न सक्नुपर्छ । आन्दोलनका नाममा बेतिथि सिर्जना हुँदैछ’,उनले लेखेका छन् । रोहित लोहनीले कार्यस्थल नजाने शिक्षकलाई बर्खास्ती गर्न भनेका छन् । भन्छन्,‘सरकार एकदुई दिनको समय देऊ, कार्यस्थल नजाने शिक्षकलाई बर्खास्ती गर ।’
शिक्षकविरुद्ध अभिभावक आन्दोलनमा
अभिभावक संघ, नेपालले स्कुल सञ्चालनका लागि सरोकारवालाको ध्यानाकर्षण गराइसकेको छ । यता, कतिपय जिल्लाका अभिभावक आफ्ना सन्तानको भविष्यसँग खेलबाड गर्न नपाइने भन्दै सडकमा उत्रिएका छन् । शिक्षक र अभिभावकबीच राजधानीमै हात हालाहालसम्म भइसकेको छ । विद्यालय खोल्न माग गर्दै पाल्पाका अभिभावकले हिजो आन्दोलन गरेका छन् ।
के भन्छन् सरोकारवाला ?
गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले विद्यालय सञ्चालनका लागि निरन्तर आग्रह गरिरहेको बताएको छ । महासंघका महासचिव खिमबहादुर थापाले शिक्षकहरुले आफ्ना माग सम्बोधनका लागि विद्यालय बन्द गर्न नमिल्ने बताए । हाजिरी कापी लगेको विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिए । विद्यालयको हाजिरी कापी लगेर सडकमा हाजिरी गर्न नमिल्ने उल्लेख गर्दै उनले जनआस्थासँग भने,‘विद्यालयको हाजिरी कापी कहीँकतै लैजान पाइँदैन । कसले लग्नुभएको छ ? हामीले अनुसन्धान गरिरहेका छौं ।’
यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी निलकण्ठ ढकालका अनुसार शिक्षकहरुले आम हड्तालका कारण अध्यापनमा परेको प्रभाव बिदामा पढाएर मिलान गर्ने बताएका छन् । ‘हो, विद्यालय बन्द छ । तर, शिक्षकहरुले बिदाको बेला पढाउने भन्नुभएको छ । ऐन पास नभएसम्म उहाँहरुले नजाने अडान लिनुभएको छ । सोहीअनुरुप काम भइरहेको छ’,उनले भने ।
त्यसैगरी, उनले हाजिरी कापी ल्याएको विषयमा कुनै जानकारी नभएको बताए । नेपाल शिक्षक महासंघ, नेपालको सहअध्यक्ष नानुमाया पराजुलीले विद्यालयको हाजिरी कापी नल्याएको दाबी गरिन् । उपस्थिति जनाउनका लागि छुट्टै हाजिरी कापी ल्याइएको उनको ठोकुवा छ । ‘त्यो हाजिरी कापी यहाँ आएपछि लिएका हौं । कोको आयो भनेर त्यसमा हाजिरी गर्छौं । विद्यालयको हाजिरी स्कुलमै छ । सरकारले हामीलाई बाइपास गर्न खोजेको हुनाले विद्यालय कर्मचारी परिषद्ले साँचो ल्याउन भनेको हो’,उनले भनिन् । बर्खे अधिवेशनबाट ऐन पास हुनेबित्तिकै आफूहरु विद्यालय फर्किएर पठनपाठन शुरु गर्ने उनले बताइन् ।
टिप्पणीहरू