चियापानको बहानामा अर्कै जोड-घटाउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले हुने हो थाह छैन, तर नेतृत्वका आकांक्षीहरुको दौडधुप शुरु भैसकेको छ । महाधिवेशनको मिति तय नहुँदै गुट बदल्नेदेखि नयाँ समीकरण बनाउनेहरु आन्तरिक भेटघाट र छलफलमा सक्रिय हुन थालेका छन् ।
पार्टीभित्र आफ्नो पक्षमा माहोल बनाउन उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, शेखर कोइरालालगायतका नेताहरुले कार्यकर्ता भेटघाटलाई तीव्रता दिइरहँदा सभापतिका आंकाक्षी शंशाक कोइराला पनि तात्तिएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका वीपीपुत्र उनले सार्वजनिक घोषणा नगरेपनि भावी सभापतिको दौडमा आफूलाई उभ्याईसकेका छन् ।
यसैबीच कोइरालाले आज महाराजगञ्जस्थित निवासमा चियापान कार्यक्रम आयोजना गर्दै पार्टीका पूर्वपदाधिकारीको जमघट गराएका छन् । लोकतन्त्र ‘सेलिब्रेसन’ का नाममा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री एंव शहरी विकासमन्त्री प्रकाशमान सिंह्, नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, प्रकाशशरण महत, एनपी साउद, दिलेन्द्रप्रसाद बढु, नैनसिंह महरलगायत सहभागी भए ।
आगामी महाधिवेशनमा छुट्टै समूह बनाउने उद्देश्यले गराइएको सो जमघटमा पार्टीको आन्तरिक राजनीतिका साथै सरकार र राष्ट्रिय राजनीतिका बिबिध पक्षमा कुराकानी भएको बताइएको छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अन्ध समर्थन' गर्दा पार्टीलाई घाटा भएको भन्दै केही नेताले गम्भीर चिन्ता जनाएको पनि बुझिएको छ ।
चियापानमा सहभागी एक नेताका अनुसार प्रवक्ता महतले प्रधानमन्त्री ओलीको कारण कांग्रेसलाई क्षति पुगेको बताएका थिए । त्यस्तै निर्धारित मितिमै महाधिवेशन गराउन सभापति देउवालाई झक्झकाउनेबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।
शशांक निवास पुग्नेहरु अधिकांश संस्थापन निकटका नेता हुन् । त्यसमध्ये महत, महर, साउदलगायत सभापति देउवाका खास विश्वासपात्रका रुपमा परिचित छन् । तर, एमालेसंग गठबन्धनलाई लिएर यिनीहरु पछिल्लो समय असन्तुष्ट रहँदै आएका छन् ।
टिप्पणीहरू