माथिल्लो नियुक्तिमा क कसले खोजे भाग ?

माथिल्लो नियुक्तिमा क कसले खोजे भाग ?

 नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा सर्वोच्च अदालतले भाग खोजेको गम्भीर आरोप लगाएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनी सर्वोच्च न्यायालयप्रति आक्रोशित सुनिएका हुन् । संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तलाई हान्दिउँ’ भन्दै झुलाइरहेको गगनको दाबी छ । 

केपी ओलीको अघिल्लो प्रधानमन्त्रीकालमा भएको संवैधानिक निकायका ५२ भाइको विवादास्पद नियुक्ति र त्यसविरुद्ध परेको मुद्दा टुंग्याउन आलटाल गरेको भन्दै उनले न्यायालयले बार्गेनिङ गरिरहेको बताए । ६ वर्षका लागि नियुक्त पदाधिकारीले ४ वर्ष कार्यकाल व्यतित गरिसक्दा पनि मुद्दा टुंगोमा नपुग्नुले अदालतको विश्वसनीयता गुमेको गगनको ठहर छ । 

‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको विषयहरुलाई दुई-तीन वर्षदेखि तलाई हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न उठाउँछ', सत्तारुढ दलका शक्तिशाली महामन्त्रीले भने, 'एउटा संवैधानिक नियुक्ति भएको विषयमा आयोगका पदाधिकारीले गरेको काम र उनीहरुको अवधि सकिन लागिसक्यो । अब त्यो ठिक थियो कि थिएन भन्ने कुरा नेपालको अदालतको लागि चाहिँ चार वर्ष समय लाग्छ ?'

दालतले डिल गर्यो अब त्यसको विश्वसनीयता के रहन्छ ? गगनले प्रश्न गरे । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत दोषीलाई कारबाही गर्ने कुरामा राजनीतिक डिल गर्ने गरेको उनले टिप्पणी गरे । यसले लोकतन्त्रको कडीका रुपमा रहेका संस्थाहरुप्रति जनताको विश्वास घट्दै गएको गगनको गुनासो छ । 

‘अख्तियारले यी विषयमा मैले अनुसन्धान गरे भन्छ । अनुसन्धान गरिसकेपछि मैले फलानो फलानो व्यक्तिलाई दोषी पाएको छु भनेर उ आफैंले समाचार दिन्छ । अनि आफैं कारबाही गरुँ कि नगरुँ भनेर राजनीतिक डिल गर्न थाल्छ', उनले भने, 'हामी संसदको एउटा अधिवेशनभरी एउटा कानून बनाउन सक्दैनौं । लोकतन्त्र भनेको त यी संस्थाहरुको प्रभावकारीता र विश्वनीयता हो नि । हाम्रो डेमोक्रेसीको समस्या अख्तियार, अदालत, संसद, पार्टीमाथि जनतामा संशय धेरै हुनु हो । अविश्वासहरु धेरै छ । यो नै लोकतन्त्रको अहिले प्रमुख चुनौती हो ।’

मुलुक र लोकतन्त्रमा देखिएका समस्याहरुको समाधान नेपाली काँग्रेसले दिनुपर्ने  बताएका महामन्त्री गगनले आधारभूत कुरामा सम्झौता गरेर सरकारमा बस्न नहुने प्रष्ट पारे । लोकतन्त्रको रक्षा र जनताको अधिकार प्राप्तिका लागि कसैसँग कुनै पनि सम्झौता नगरिने उनको कथन छ । 

संविधानलाई खल्बल्याउने नभई सुदृढ बनाउँदै  लैजानुपर्नेमा जोड दिएका उनले संघीयताले प्रभावकारी ढंगले काम गर्न नसकेको स्वीकार गरे ।

टिप्पणीहरू