कार्यक्रम एमालेको,कार्यकर्ता माओवादी र काँग्रेसको

कार्यक्रम एमालेको,कार्यकर्ता माओवादी र काँग्रेसको

नेपालीमा एउटा उखान छ,‘बुझ्नु न सुझ्नु,अरुको पछाडि लागेर त्यत्तिकै कुद्नु ।’ यसको अर्थ विषय बुझ्दै नबुझिकन अरुको कुरा सुनेर हावादारीमा दौडिनु हो । हिजो राजधानीमा आयोजित नेकपा एमालेको कार्यक्रममा ठ्याक्कै त्यस्तै भएको छ । सहभागी धेरैलाई कुन पार्टीले आयोजना गरेको कार्यक्रम ? भन्ने नै थाहा थिएन ।

लोकतन्त्र दिवस अर्थात जनताले जितेको दिनको अवसरमा नेकपा एमालेले भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ कार्यक्रमको आयोजना गरेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,महासचिव शंकर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली,पूर्वसांसद कोमल वली,शान्ता चौधरीलगायत कार्यक्रममा उपस्थित थिए । 

तर, त्यहाँ उपस्थितमध्ये केही आफू नेकपा माओवादी केन्द्रको कार्यक्रममा आएको भन्दै थिए भने केही नेपाली काँग्रेसको । एमालेको झण्डा बोकेर माओवादीको कार्यक्रम भनिरहेकाहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् । हातमा राष्ट्रिय झण्डा र एमालेको झण्डा बोकेका एक जनाले आफू माओवादीको कार्यक्रममा आएको बताउँछन् ।

उनले एमाले र माओवादीको झण्डासमेत छुट्याउन सक्दैनन् । एमालेको झण्डालाई उनले माओवादीको झण्डा भन्छन् । यता, उनीसँगै आएका अर्का एकले भने आफू काँग्रेसी भएको बताउँछन् । उनले भन्छन्,‘म त काँग्रेसी हुँ । माओवादीको कार्यक्रम भनेर आएको ।’ सो भिडियोमा लाखौं भ्युज गएको छ । 

सामाजिक सञ्जाल प्रयोगकर्ता गोपाल चन्दले लेखेका छन्,‘हैन के हो यस्तो ?’ त्यसैगरी, अर्का एक जनाले एमालेको कार्यक्रममा एमालेको कार्यकर्ता नै नआएको भन्दै व्यङ्ग्य गरेका छन् । ‘एमालेको कार्यक्रममा एमाले नै उपस्थित छैनन्जस्तो छ’,उनले भनेका छन् ।
 

टिप्पणीहरू