गुरुहरुको योचाहिँ कामलाई मूर्दावाद

गुरुहरुको योचाहिँ कामलाई मूर्दावाद

यसपालि एउटा पुरानो गीत भाइरल बन्लाजस्तो लागेको थियो तर किन हो कुन्नि भएन, फेसबुकतिर हेर्छु छैन, टिकटकतिर पनि छैन । त्यो गीतसँग मेरो कुनै लेनादेना होइन, तैपनि यो गीत भाइरल बन्नुपथ्र्र्याे भन्ने लागेको हो । गीत हो, ‘माष्टर साहेब सिकाइदेऊ पिरती, आजभोलि मन पोल्छ भत्भती, माष्टर्नीलाई मायाको रहर घुमाइदिउँला काठमाडाँै शहर ।’ 

काठमाडाैँमा तीन हप्तादेखि शिक्षक आन्दोलन चलिरहँदा यो गीतमा भनिएझैँ माष्टर्नीहरूको मन जति पोलेको छ, त्योभन्दा बढी लामो छुट्टीसँगै बरालिएर बेकारी भएका छोराछोरीलाई स्कूल पढाउने अभिभावकको मन भत्भती भएको छ तर नानी–बाबुलाई पढाउने माष्टर/माष्टर्नीको मन विद्यार्थीको पिरले पोलेको छैन, जति आफ्नो स्वार्थका लागि पोलेको छ । चालामाला हेर्दा लाग्छ, माष्टर/माष्टर्नीको काठमाडौँ घुम्ने धोकोचाहिँ पूरा भएको छ ।

मानो रोपेर मुरी उब्जाउने किसानले बाली लगाउन छाडेझैँ बालबच्चाको रिजल्ट र भर्ना अभियान नै रोकेर लाखौं विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै सरकारी गुरुबा/आमाहरू काठमाडाैँ केन्द्रित भएका छन् । यद्यपि उनीहरूका सबै माग नाजायज छैनन् तर त्यही आन्दोलन अहिले सबैजसो मिडियामा मसालेदार खजाना बनेको छ । मिडिया मात्रै होइन, सामाजिक सञ्जालमा पनि राजावादीको उग्र आन्दोलनपछि चर्चामा आएको अर्को विषय यही आन्दोलन हो ।

म जन्मेकै गाउँ धनकुटाको कुरुले तेनुपामा जन्मिएका लक्ष्मी किशोर सुवेदी राष्ट्रिय शिक्षक महासंघको केन्द्रीय अध्यक्ष भएको र त्यही महासंघकै नेतृत्वमा आन्दोलन चलेकोले पनि यसलाई टाढा भए पनि नजिकबाट झैं नियालिरहेको छु । 

भद्र, सौहाद्र्रपूर्ण र बडो रोमाञ्चकतापूर्वक गरिएको सामुदायिक विद्यालयका शिक्षक आन्दोलनको सबैले तारिफ गरिरहेका छन् । यदाकदाबाहेक शिक्षक आन्दोलनको विरोध भएको छैन । पटक–पटक सहमति कार्यान्वयन नभएपछि शिक्षक महासंघको आह्वानमा भएको आन्दोलनको मागमध्ये पञ्चायतकालीन ऐन मिल्काएर विगतमा भएका सहमतिको आधारमा नयाँ शिक्षा ऐन जारी गरियोस् भन्ने मूल माग सम्बोधन गर्न सरकार तत्पर पनि भएको छ तर शिक्षकका सामु घुँडा टेकेको सन्देश नजाओस् भनेर केही दिन पर धकेल्दै संसद अधिवेशन बोलाइएको छ । म जन्मेकै गाउँ धनकुटाको कुरुले तेनुपामा जन्मिएका लक्ष्मी किशोर सुवेदी राष्ट्रिय शिक्षक महासंघको केन्द्रीय अध्यक्ष भएको र त्यही महासंघकै नेतृत्वमा आन्दोलन चलेकोले पनि यसलाई टाढा भए पनि नजिकबाट झैं नियालिरहेको छु । 

हुन पनि शिक्षकहरूको पीडा कम छैन । बीस तीस वर्षदेखि सरकारी स्कूलमा पढाएर जिन्दगीको ऊर्जा रित्याए पनि स्थायी नियुक्ति नपाउँदा र पेन्सनलगायत सुविधा पाउने अवस्थामा पनि नहुँदा राज्यबाट अन्याय सहन बाध्य छन् । त्यसैले पनि प्रत्येक शिक्षकबाट हजार–हजार उठाएर पठाउन ती आन्दोलनको इज्जत धानिरहेकै छन् काठमाडौंमा । सडकमै कहिले हास्यब्यंग्य, कहिले ओली सरकारका उखान टुक्कालाई नै फेल खुवाउने प्रस्तुति, कहिले जादुटुना, कहिले स्लोक अनि कहिले दोहोरी र जुहारीको घम्साघम्सी हेरिरहँदा सामुदायिक विद्यालयका क्षिक्षक/शिक्षिका अब्बल र काबिल छन् भन्ने सन्देश प्रवाह गरिँदै छ ।

तोकिएको शैक्षिक योग्यता पुगेर निश्चित मापदण्ड र प्रक्रिया पूरा गरी आएका शिक्षकहरू आठ–दश कक्षा पनि पार गर्न नसकी अन्यत्र कहीँ–कतै सफल हुन सक्ने ल्याकत पनि नभएका दलका नेताभन्दा सक्षम छन् पनि । पार्टीका कार्यक्रम भए र दलीय बैठक भए स्कूल नगए पनि फरक नपर्नेसम्मको छुट लिन पाएका शिक्षकहरूलाई स्थायी नभएको र अरु सेवा नपाएको पीडा त पक्कै छ तर सरकारी निकम्मापनले मनपरी सार्वजनिक बिदा दिइएका कारण कर्मचारीका रूपमा महिनामा अठार–बीस दिन पढाएर जागिर पकाउँदा बेचैनी पनि छैन ।

तर, शिक्षक आन्दोलन चलिरहँदा उनीहरूले गर्दै आएको पेशा, सामुदायिक स्कूलको अवस्था र शैक्षिक नतिजाको समीक्षा गर्नुपर्ने बेला पनि यही हो । बाहिरी रूपमा आन्दोलनबाट तारिफ पाइरहेका शिक्षकको पेशा भित्री रूपमा खोक्रो र वर्तमान गठबन्धन सरकारजस्तै असफल छ । सामुदायिक स्कूलमा पढाउने अधिकांश शिक्षकले आफ्ना छोराछोरी बोर्डिङ स्कूलमा पढाएका छन् । जागिरे मानसिकताका कारण बाक्लो गाउँ बस्ती भएका ठाउँका सरकारी स्कूलमा शिक्षक/शिक्षिकाभन्दा दुई÷चार विद्यार्थी मात्रै भए पनि दुई/चार गुना बढी विद्यार्थी देखाएर जागिर जोगाइरहेका सीमित शिक्षक/शिक्षिका पनि आन्दोलनरत शिक्षकको हुलमै छन् ।

जागिर खाइरहने र विद्यार्थी पढाउनेभन्दा बढी राजनीतिक दलको गुलाम बनेर उनीहरूको राजनीति धानीदिने पनि तिनै शिक्षक छन् । आफूहरूले पढाउने सामुदायिक स्कूलमा नपढाएर छोराछोरी बोर्डिङ पठाउने मात्रै कहाँ होे र भित्री रूपमा बोर्डिङ स्कूलमा लगानी गर्ने शिक्षक पनि आन्दोलनमा चटक देखाइरहेका छन् । सबैको नाम लिएर त साध्य छैन तर आसपासको परिवेशमा दर्जनौं प्रतिष्ठित मानिएका सरकारी शिक्षकले बोर्डिङमा लगानी हालेको यत्रतत्र देख्न र सुन्न पाइन्छ । एसईई र अन्य परीक्षामा पटक–पटक विद्यालय नै निल हुँदा पनि रत्तिभर लाज–शरम नमान्ने सांसद–मन्त्रीकै शैलीमा माष्टरहरू काठमाडौं गएर आफ्नो ‘अद्भूत प्रतिभा’ प्रदर्शन गरिरहेका छन् । तैपनि, दलहरू र दुनियाँको नजरमा भ्रातृ संगठनका कार्यकर्ता, सहयोगी र मतदाताका रूपमा चिनिने शिक्षकले यसपालि गरेको आन्दोलनको शालिनता र दलीय घेरा तोडेर भएको एकरूपताचाहिँ सिक्नलायकको छ ।

हजारौं मिहिनेती शिक्षक/शिक्षिका अनि बोर्डिङलाई नै संकटग्रस्त अवस्थामा पुर्‍याउन सफल सयौँ उदाहरणीय सामुदायिक विद्यालय ओझेलमा परेका छन् । बोर्डिङ स्कूलभन्दा उत्कृष्ट र सात–आठ हजारसम्म विद्यार्थी पढाउँदै आएका स्कूल र उत्कृष्ट सामुदायिक स्कूल बनाउनकै लागि जिन्दगी सुम्पने शिक्षक र शिक्षासेवी तारिफ गर्न लायक छन् तर उनीहरूको कर्म ओझेलमा परेको छ । कामचोर, राजनीतिक स्वार्थले लिप्त र स्वार्थी शिक्षकहरूको प्रवृत्तिलाई छेडछाड गर्दा लगनशील र इमानदार शिक्षकको भावनामा चोट परेको महसुस भएमा क्षमाप्रार्थी छु । तर, यति त भन्नैपर्छ सरकार र शिक्षकको आपसी लडाइँमा सामुदायिक स्कूलमा पढ्ने खासगरी विपन्न समुदायका लाखौं विद्यार्थीको भविष्यमाथि गरिएको खेलवाड मूर्दावाद !

एकातिर आन्दोलन, अर्कोतिर भर्ना अभियान चलिरहँदा भएको शिक्षकहरूको आन्दोलन बोर्डिङ स्कूलका लागि ‘के खोज्छस् कानो आँखा’ भएको छ । अरु बेला पनि सामुदायिक स्कूलको नतिजा देखाएर विद्यार्थी भड्काउने बोर्डिङवालाहरूका लागि यसपालि गाउँ–गाउँ र टोल–टोल पुगेर विद्यार्थी सोहोर्ने सुनौलो मौका बनेको छ । अधिकांश बोर्डिङमा वैशाख ३ गतेदेखि नै नयाँ पठनपाठन शुरु भइसकेको छ । यस्तो परिस्थितिमा पनि शिक्षकहरू केटाकेटीले बाबुआमालाई घुक्र्याएझैँ गैरजिम्मेवार भइरहेका छन् । त्यो आन्दोलनको झैँ जोश जाँगर यदि स्कूलमा प्रकट हुन्थ्यो भने न सामुदायिक स्कूलमा विद्यार्थीको खडेरी हुन्थ्यो, न बोर्डिङहरूको व्यापार नै मौलाउँथ्यो । 

शिक्षकहरूले स्कूलतिर सबै कामकाज सुचारु गराएर आन्दोलन गरेका भए सर्प मथ्र्यो, लौरो पनि भाँचिदैनथ्यो । सर, मिसहरू, तपाइँहरूजस्तो जिम्मेवार मान्छेले सरकारलाई मात्रै दोष देखाएर भएन क्या !
 

टिप्पणीहरू