कमरेडहरूमा यता पनि उस्तै किचलो

कमरेडहरूमा यता पनि उस्तै किचलो

सधैँ किचलो भइरहने एमाले सिन्धुपाल्चोकमा आन्तरिक कलह थप चर्किएको छ । अधिवेशन सम्पन्न भएको १ वर्षसम्म नेतृत्वले सचिवालय गठन र कार्यविभाजनसमेत गर्न नसकेको भन्दै व्यापक आक्रोश र असन्तुष्टि बढेको हो । सिन्धु एमालेको गत वर्ष चैतमा अधिवेशन भएको थियो । पद तथा गोपनीयताको शपथग्रहणसमेत हिसाब गर्दा त्यसयता जिल्ला कमिटीको ३ वटा मात्र बैठक बसेको छ । एक त बैठक नै नबस्ने, अर्कोतिर सचिवालय गठनसम्म नभएपछि नेताहरू आरोप÷प्रत्यारोपमा उत्रिन थालेका छन् । 

‘शपथ लिएको दिनलाई पहिलो बैठक भनेपछि ३ वटा नै मान्नुपर्छ’, एक जिल्ला कमिटी सदस्यले भने । उनका अनुसार पहिलो बैठक २०८१ वैशाख २ गते चौतारामा बसेको थियो । त्यसको ३ महिनापछि साउन ११ गते खाडी चौरमा दुईदिने दोस्रो बैठक बस्यो । तेस्रो बैठक चैं चौतारामै पुस ११ र १२ गते बस्यो । तीन वटा बैठक बसेको भए पनि एक वर्षसम्म सदस्यहरूको कार्यविभाजन नभएकोमा उनले अध्यक्षको चर्को आलोचना गरे ।

जिल्ला कमिटीमा अध्यक्षबाहेक ४ जना पदाधिकारी संस्थापनइतर खेमाबाट छन् । अध्यक्षमा पनि १४ मतले मात्र जितेका थिए, होमनारायण श्रेष्ठले । केन्द्रमा केपी–शंकर खेमाको प्रतिनिधित्व गर्ने उनको टिमलाई १० भाइ समूहले हराएको थियो । सिन्धुपाल्चोकमा १० बुँदे सम्झौता गरेर फर्किएकाहरूकै बाहुल्यता छ । पहिलो बैठक शपथपछि सामान्य चिना–परिचय गर्दै सम्पन्न भएको थियो । त्यसपछि नेताहरूले तत्काल अर्को बैठक राखेर कार्य विभाजन गर्न सुझाए । तर, दोश्रो बैठक बस्नै महाभारत भएको नेताहरू अहिले स्मरण गर्छन् । २०८१ साउन (११–१२), खाडीचौरमा बल्ल–बल्ल बसेको सो बैठकमा कार्यविभाजनबारे एकथरी कुरा गरेर अर्कै निर्णय लादिएको १० भाइ खेमाको गुनासो छ । 

बैठक समापनको क्रममा ‘जिल्ला पदाधिकारीमा पराजित भएकाहरूलाई मनोनीत गरेको निर्णय वाचन गरेर सुनाइएको थियो भने उक्त कुरा पछि सर्कुलरमा समेत उल्लेख गरियो । सर्कुलरमा पदाधिकारी हारेका ४ जना विष्णुमणि आचार्य, यज्ञ सापकोटा, विजयकृष्ण श्रेष्ठ र शोभा कार्कीलाई कमिटीमा मनोनीत गरिएको उल्लेख छ । तर, दुर्भाग्य ती सदस्यले अहिलेसम्म शपथसमेत लिएका छैनन् भने तेश्रो बैठकमा भाग लिन पनि पाएनन् । ‘उहाँहरू योग्य नै हुनुहुन्छ तर यसरी चोरबाटोबाट मनोनीत नगरी छलफल गरेकै भए पनि हामी मानिहाल्थ्यौं नि !’, एक नेताले भने । 

पालिकामा झन् अस्तव्यस्त 

हेलम्बू गाउँपालिकाको दोश्रो अधिवेशन उद्घाटन भएको महिनौँ भइसक्यो तर आजका दिनसम्म नेतृत्व चयन भएको छैन । २०८१ फागुन ३ गते शनिबार हेलम्बू–६ नयाँ बस्तीमा पापालिकाको दोस्रो अधिवेशन पूर्वमन्त्री शेरबहादुर तामाङ र सुवास कर्माचार्यले संयुक्त रूपमा उद्घाटन गरेका थिए । बन्दसत्र शुरु भएर स्थगित अधिवेशन अझै सम्पन्न भएको छैन । जिल्ला कमिटी उपाध्यक्ष अर्जुन भण्डारी यही पालिकाका स्थानीय हुन् । ‘आफ्नो पालिकामा अधिवेशन गर्न नसक्नेले कसरी नेतृत्व गर्न सक्छ र !’ भन्दै उनीमाथि प्रश्न तेर्सिन थालेको छ । लामो समय पार्टीमा काम गरेका हेलम्बूको पुराना पुस्ताका नेता भन्छन्, ‘जिल्ला उपाध्यक्ष भैसके, पारा भने अझै आलोकाँचो विद्यार्थी नेताको जस्तै छ । अनि पार्टी कसरी बन्छ !

पार्टीमा भाग खोज्नेले पालिकामा नेतृत्व गर्नेलाई आफ्नो बनाउन खै सकेको ।’ यस्तै रमाइलो चौतारा साँगाचोकगढीमा पनि भयो । त्यहाँ पनि अधिवेशन उद्घाटन भएको १ महिनामा बल्लतल्ल नेतृत्व चयन भएको हो । दीपक नेपाल साझा व्यक्ति भएकै कारण छानिए पनि उपाध्यक्ष र सचिवमा लडाइँ भएकै कारण ढिलाइ भएको हो । सम्पर्क मञ्चको अध्यक्षसमेत भइसकेका दीपक स्थानीय कार्यकर्तामाझ लोकप्रिय नै छन् । संगठनमा मसिनो गरी काम गर्ने र पार्टीलाई माथि उठाउन उनले राम्रै मेहनत गरेको बताइन्छ । तर, केही समय माधव नेपालतिर लागेका कारण उनलाई पछि पारियो ।

जुगल गाउँपालिकामा पनि बन्दसत्र रोकिएको अवस्था छ । चैत २७ गते सञ्चारमन्त्री समेत रहेका उपमहासचिव पिएस गुरुङले अधिवेशन उद्घाटन गरेका थिए । नेतृत्वमा आकांक्षीको लर्को र संस्थापनले बोकेकाले लाइन छोड्ने सूचना पाएपछि जिल्ला अध्यक्षले बन्दसत्र शुरु नै नगराएको बताइन्छ । यो अध्यक्षको आफ्नै पालिका पनि हो । जुगलमा बागमती प्रदेश कमिटीका पूर्वसदस्य जेपी सिलवालले समेत अध्यक्ष हुने चाहना राखेको खबर बाहिरिएपछि अधिवेशन स्थगन गरेको अध्यक्ष होमनारायणनिकट स्रोतले जानकारी दियो । यता, पटक–पटक मिति तय भएर पनि स्थगन हुँदै आएको बाह्रबिसे गाउँपालिकाको अधिवेशन भर्खरै भएको छ । चैत २८ गते स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले अधिवेशन उद्घाटन गरेका थिए ।

टिप्पणीहरू