एमालेले प्रतिपक्षीलाई दोष दिँदा कांग्रेसको अर्कै कुरा
सत्तारुढ दल नेपाली कांग्रेसले संसदमा शिक्षामन्त्रीको खाेजी गरेको छ । सांसद रामहरी खतिवडाले शिक्षक आन्दोलनबारे नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग जवाफ मागेका हुन् ।
'२८ दिनदेखि आन्दोलनरत शिक्षकलाई घर फर्काउन सरकारले के के गरिरहेको छ ?' प्रश्न गर्दै उनले मन्त्रीले संसदमा जानकारी गराउनुपर्ने बताए । लाखौँ विद्यार्थीकाे भविष्यसँग जोडिएको शिक्षा ऐनलाई चाँडै जारी गरेर शिक्षकलाई घर फर्किने वातावरण बनाउन खतिवडाले सरकारको ध्यानाकर्षणसमेत गराए ।
‘बानेश्वरको किनारमा दिनहुँ जुलुस निकाल्ने, पानीको फोहोरा खुवाउनेभन्दा पनि तुरुन्त विद्यालयमा पठाउने व्यवस्था गरियोस्’, उनले भने, ‘शिक्षकहरुको माग सम्बोधन गर्न सरकार गम्भीर भएर लागोस्, र नवनियुक्त शिक्षामन्त्रीले यहाँ आएर त्यसको जानकारी गराउनुपर्छ ।’
राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले आन्दोलनमा एउटै राजनीतिक दल निकटका शिक्षकहरु मात्र सहभागी नभएको कारण परिस्थितिलाई संयमित भएर नियन्त्रणमा लिनुपर्ने पनि बताए । ‘शिक्षक नेपाली काँग्रेस, एमाले र माओवादीका मात्र होइनन्, सम्पूर्ण देशका छन् र सबैलाई पढाउने शिक्षक हुन्, उनीहरुसँग सरकारले संयमित भएर वार्ता गर्नुपर्छ’, उनले थपे ।
नेकपा (एमाले)का सांसद ठाकुर गैरले भने प्रतिपक्षी दलहरुले सरकार ढाल्न शिक्षकहरुलाई उचालेको टिप्पणी गरेका छन् । ‘शिक्षकहरूले गरिरहेको आन्दोलनलाई अस्त्र बनाइएको छ’, उनले भने, ‘आन्दोलनलाई सत्ता ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न बन्द हुनुपर्छ ।’
टिप्पणीहरू