पूर्वबाट शुरु, अन्त पनि जान्छ कि खुरुखुरु ?
नेपालको राजनीतिमा बेलाबेला तरंग ल्याउने पूर्वी नेपालमा आफ्नै पार्टीको नेतृत्वलाई चुनौती दिन थालिएको छ । एमाले अध्यक्ष केपी ओली पक्षधरलाई मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीमा विनोद ढकाल पक्षधरले हराएका छन् ।
कोशी प्रदेशका १४ मध्ये ओलीसँग ९ जिल्ला रहेको मानिन्छ । मोरङ, उदयपुर, पाँचथर, धनकुटा र तेह्रथुमका अध्यक्षहरू ओलीइतर भनी चिनिन्छन् । सुनसरी, ताप्लेजुङ, इलाम, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, झापाका अध्यक्षमध्ये अधिकांशले विद्या भण्डारी एमाले नेतृत्वमा फर्कन लागेको अवस्थामा साथ दिने स्थिति छ ।
ए बा, बिचौलिया काखैमा छ
प्रमुख सत्ता साझेदार दल कांग्रेस महामन्त्री गगन थापाले २ वैशाखको एक कार्यक्रममा बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म रहेको दाबी गर्दै भनेका थिए, ‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो । हाम्रो इकोनोमीमा अहिलेको समस्या बिचौलियाको कारणले भएको हो ।’
१२ वैशाखमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्रीको बेडरुमभित्र बिचौलिया पुगेको अभिव्यक्ति दिएकोमा संसदमा महामन्त्री थापालाई धन्यवाद दिए । रोष्ट्रमबाट भने, ‘सत्तारुढ पार्टीका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन गर्ने संयन्त्रका सदस्यले नै बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै छ भन्नुभयो । ढिलै भए पनि सत्य बोल्नुभएकोमा उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’ १५ वैशाखमा ओलीले थापालाई उत्तर दिए । मदन भण्डारी फाउण्डेशनको चौथो सम्मेलनमा भने, ‘कोही व्यक्ति यसरी धतंगाएर बोल्छन् प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच छ भनेर । त्यस्तो कुरा सुनेर दया लाग्छ, के बोलेको त्यो ? त्यस्ता कुरा प्रमाणित गर्न सक्छन् ?’
मञ्चमा प्रधानमन्त्री ओलीले कांग्रेस महामन्त्री थापालाई यो प्रश्न सोधिरहेका बेला कुनै बेला ओलीको चर्को समर्थक मानिएका दुई नेता कानेखुशी गरिरहेका थिए । ओलीकै मानिएका ती नेता भन्दै थिए, ‘गगन र वर्षमानको भाषा अलि मिलेन, बिचौलिया प्रधानमन्त्रीको बेड होइन काखैमा छ, भन्नुपथ्र्याे ।’
बालुवाटारको आम्रपाली पार्टी प्यालेसमा आयोजित मदन भण्डारी फाउण्डेशनको चौथो सम्मेलन उद्घाटनपछि नजिकैको रेष्टुरेण्टमा चिया पिउँदै गफिएका ओलीनिकट नेताले काखैमा बिचौलियाको सूची बनाउँदै हँसीमजाकसमेत गरे । ‘ए बा, बिचौलिया बेडमा होइन काखैमा छ हो ।’ ती नेताका अनुसार काखैमा रहेका बिचौलिया उनको स्वकीय सचिव दिपेन्द्र दाहाल, आइटी सल्लाहकार अस्गर अली, युवा संघका अध्यक्ष क्षितिज थेवे र याङजोम शेर्पा हुन् । उनीहरूले कुन ठेक्का र काममा सेटिङ गरिरहेका छन् ? त्यसको लामो बेलीबिस्तारसमेत लगाए ।
स्वकीय सचिव दाहालले सानोतिनो ठेक्कादेखि सरुवा–बढुवासम्म बिचौलियाको काम गर्ने गरेको ओलीनिकट एक स्थायी कमिटी सदस्यको दाबी छ । यसैगरी अस्गर अलीले सूचना र प्रविधि क्षेत्रमा करिब १० अर्ब बराबरको काम हात पारेका छन् । पछिल्लो समय ओलीको सबैभन्दा प्रिय पात्र बनेका थेवेले सुरक्षा निकायका बढुवादेखि चौधरी ग्रुप, ‘थर्मल गन ग्याङ’ अर्थात् शंकर ग्रुपका दुई भाइ साहिल र सुलभ अग्रवाल तथा गोल्यान ग्रुपका पवनलगायतसँग सुमधुर सम्बन्ध बनाएका छन् । उनीहरू तिनै हुन् जसले करिब २ अर्ब बक्यौता नतिर्न अर्थात् डेडिकेटेड र ट्रंकलाइन महसुल विवादमा कुलमान घिसिङलाई एक्लो पारेका थिए ।
ओलीको बेडसम्म पहुँच हुने बिचौलिया दीपक भट्टदेखि ‘थर्मल गन ग्याङ’का सदस्यसमेत यिनै हुन् । सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिकर्तादेखि जलस्रोत क्षेत्रमा विदेशी कम्पनी ल्याउने कन्सल्ट्यान्टस भट्ट यति शक्तिशाली बिचौलिया हुन् जसको कारण ओली आफैँले बनाएका मुख्यसचिव एकनारायण अर्यालदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसँग समेत ‘बा’ रिसाएका छन् ।
तिनले स्वार्थअनुसार काम नगरिदिएपछि भट्टले प्रधानमन्त्री ओलीलाई चुक्ली लगाएका थिए । भट्टकै रिपोर्टिङका आधारमा अर्याल र राईसँग ओली बेखुशी रहेको बताइन्छ ।
टिप्पणीहरू